शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ०४
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • काठमाडौं महानगर र खाद्य विभागको संयुक्त टोलीले ओम अस्पतालको क्यान्टिनलाई सरसफाइमा लापरबाही भेटेपछि ७ दिनका लागि बन्द गरेको छ।
  • हेल्दी बाइट्स सर्भिसेज् प्रा.लि.द्वारा सञ्चालित क्यान्टिनमा म्याद गुज्रिएका वस्तु र लेबल नभएका खाद्य वस्तु फेला परेका थिए।
  • मेडिकेयर र हेल्पिङ ह्याण्ड्स अस्पतालका क्यान्टिनलाई पनि सुधारका लागि निर्देशन दिइएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा गरेको खाद्य स्वच्छता अनुगमनका क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि सात दिनका लागि बन्द गरिएको छ ।

हेल्दी बाइट्स सर्भिसेज् प्रा.लि.द्वारा सञ्चालित उक्त क्यान्टिनमा खाद्य रङ्गको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, असन्तोषजनक पेस्ट कन्ट्रोल  व्यवस्था र लेबल विवरण नभएका खाद्य वस्तुको प्रयोग गरेको  भेटिएका थियो । अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको पाइएकाले सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो ।

यस्तै मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तुको प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनियाको मात्रा मापदण्डभित्र भए पनि थप सुधार आवश्यक रहेको पाइएको थियो। अनुगमन टोलीले उक्त क्यान्टिन सञ्चालकलाई पेस्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको छ।

हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रङ्गको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिएको छ ।

महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा क्यान्टिनहरूको नियमित अनुगमन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप