बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन

बुधबार, १९ कात्तिक २०८२, २२ : ११
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले कतारको दोहामा रहेको सङ्ग्रहालयको अवलोकन गरे।
  • उनी सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार पुगेका थिए।
  • उनले संयुक्त राष्ट्रसङ्घका महासचिवसँग भेटघाट गरे र विभिन्न उच्चस्तरीय सम्मेलनमा सम्बोधन गरे।

काठमाडौँ । कतारको राजधानी दोहामा भइरहेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन गएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

सो क्रममा सङ्ग्रहालयका अधिकारीहरूले राष्ट्रपति पौडेललाई स्वागत गर्दै त्यहाँको बारेमा जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन्।

576986067_821727840622474_5384711935008613948_n

राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका थिए। उनी कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गएका हुन्।

उनले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलवार सम्बोधन गरे।

साथै उनले सम्मेलनअन्तर्गत त्यहाँ आयोजित ‘सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए। राष्ट्रपति पौडेलले मङ्गलवार नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट पनि गरेका थिए।

576986067_821727840622474_5384711935008613948_n

यसअघि उक्त सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। यस पटकको सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभाव लगायत विषयमा छलफल भएको छ।

संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहँदै आएको छ। राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ। कतारको औपचारिक भ्रमण पूरा गरेर राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप