बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल

शुक्रबार, २१ कात्तिक २०८२, १७ : ३२
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र संवादमा बलियो हुने बताएका छन्।
  • उनले युवा पुस्ताको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा गर्नुपर्ने बताए।
  • राष्ट्रपति पौडेलले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी राजनीतिक दलहरूको रहेको बताए।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख, उपसभामुखसँगको भेटमा उनले सो कुरा बताएका हुन् । 

शुक्रबार शीतल निवासमा भएको भेटमा उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति जति बनाउन सकिन्छ त्यति नै लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने कुरा बिर्सन नहुने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व हो भन्ने मर्म बुझेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए ।

राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुत कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताए । उनले भने– ‘संसद् र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिन सक्ने, बुझिन सक्ने र कार्यान्वयन गर्न सक्ने संरचना निर्माण गर्नु हो ।’ 

उनले नेपालको संविधान केवल एउटा कानुनी दस्ताबेज मात्र नभई यो हाम्रो सहयात्रा, सहमति र सामूहिक सङ्कल्पको मार्गचित्र भएको बताउँदै यसको संरक्षणमा हामी सबैको  प्रतिबद्धता भएको बताए । राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर होइन, सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले राष्ट्रपतिलाई कुन अवस्थासम्म हस्तक्षेप गर्ने अधिकार दिएको छ भन्ने सबैलाई जानकारी भएको बताउँदै मुलुक जटिल र गम्भीर अवस्थामा पुगेको अवस्थामा त्यो आपत्तिबाट मुलुक र जनता जोगाउन मात्र कार्यकारी भूमिकामा देखिने जस्तो गरी निर्णय लिएको बताए । उनले भने–  ‘राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म चिन्तित र सचेत छु ।’ 

उनले मुलुकलाई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेका सुरक्षित अवतरण गराउने जिम्मेवारी राजनीति दलहरूको रहेको बताए ।  राष्ट्रपति पौडेलले तर राजनीतिक दलका नेताहरूले मुलुकको यथार्थ अवस्थालाई नजरअन्दाज गरेर अभिव्यक्ति दिँदा त्यसले देश र जनतालाई अन्योलमा पार्ने बताउँदै भने–  ‘राजनीतिक दल र दलका नेताहरूले देश र जनतालाई अन्योलमा राख्ने होइन । मुलुकलाई अन्योल मुक्त गराउने नेताहरूको धर्म हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप