जङ्गली हात्तीको आक्रमणबाट ९ वर्षमा १७ जनाको मृत्यु
सारांश
- कञ्चनपुरमा ९ वर्षमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ।
- २०७३ सालयता निकुञ्ज र सामुदायिक वन वरपर हात्तीको आक्रमणबाट धेरै मानिसले ज्यान गुमाएका छन्।
- मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेको उपचार खर्च दिने व्यवस्था छ।
महेन्द्रनगर । कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ । बितेको ९ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ ।
यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन् ।
डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै ९ वर्षमा ८ जनाले ज्यान गुमाएको बताए । हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।
‘मृत्यु भएका प्रतिव्यक्ति रु १० लाखका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ’, अधिकृत भट्टराईले भने, ‘घाइतेहरूको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ ।’
पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पुरयाउँदै आएका छन् । जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धपाउन खटिन गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेले हात्तीको आक्रमणबाट यहाँ २०७५ सालयता नौ जनाको मृत्यु भइसकेको जानकारी दिए । ‘यो अवधिमा नौ जनाको मृत्यु, सात गम्भीर र चार जना सामान्य घाइते भएका छन्’, उनले भने, ‘तुलनात्मक रूपमा यो वर्ष विगतको भन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवतजावत बढी देखिएको छ ।’
उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण