आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
कथा

सलमा म्याडम

शनिबार, २२ कात्तिक २०८२, १५ : ००
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • अब्दा नाम गरेकी महिलाको शिक्षा प्रतिको संघर्ष र उनले विवाहपछि पनि पढाइलाई निरन्तरता दिन गरेको प्रयासको कथा हो।
  • अब्दाले सासुको विरोधका बाबजुद श्रीमानको सहयोगबाट पढाइलाई अघि बढाउँछिन्, तर गर्भवती भएपछि उनलाई पढाइमा समस्या आउँछ।
  • अन्त्यमा, अब्दाले आफ्नो बच्चाको हेरचाह र पढाइलाई सँगै व्यवस्थापन गर्दै शिक्षालाई निरन्तरता दिने अठोट गर्छिन्।

पूर्वको आकाशमा घाम उदाएर टिलिक्क टल्किए पनि मङ्सिर अन्तिम साताको बिहानी भएर होला, हावामा चिसोपना थियो । न्यानो घाम, शीतल हावा तराईमा यस्तो ठिक्कको मौसम कहिलेकाहीँ मात्र हुन्छ । डुमरियाको स्कुलरोडमा केटाकेटीहरुको बाक्लो चहलपहल थियो । कोही साइकलमा पाइडल मारिरहेका थिए । कोही  हतारहतार  पाइला चालिरहेका थिए । सबै केटाकेटीहरुको सर्ट उस्तै थियो  । आकाशे नीलो रङको  । 

केटाहरु गाढा नीलो रङको प्यान्ट र केटीहरु गाढा नीलो रङको फ्रकमा एकनास र सुन्दर देखिएका थिए । केटीहरुले फ्रकभित्र पनि कालो सुरुवाल लगाएको दृश्यचाहिँ अनौठो देखिन्थ्यो तर नसुहाउँदो भने होइन । तिनै केटाकेटीलाई उछिन्दै अगाडि बढ्यो नीलो रङको १५०  सिसीको बजाज पल्सर बाइक । यो बाइक यही समयमा यसरी नकुदेको धेरै भइसकेको थियो । बाइक देख्नेबित्तिकै कसैले मनमनै, कसैले आफ्नो वरिपरिका साथीहरुका सामु  र कुनै एक किशोरीले भने चिच्च्याएरै भनिन्— अब्दा !  

साइकल हाँकिरहेकी ती किशोरीको चर्को स्वर बाइकको गति र आवाज दुवैलाई जित्दै परपरसम्म फैलियो । कुदिरहेको बाइकको पछाडि गाढा नीलो रङको सुरुवाल नीलो आकाशे रङको कुर्ता लगाएर गाढा नीलो रङको सल ओढेकी किशोरी थिइन् । उनले दुइटै खुट्टा एकातिर पारेर बसेकी थिइन् । देब्रे हात आफ्नै काखमाथि राखेर किताब च्यापेकी उनले दाहिने हातले बाइक हाँक्ने मानिसको काँधमा समाइरहेकी थिइन् । टाउको मात्र छोपिने गरी सल ओढेकी उनी फरक्क पछाडि फर्किन् ।

बाइकको गति बिस्तारै कम हुँदै गयो । विद्यालयको गेटअगाडि पुगेर बाइक बिस्तारै रोकियो । बाइक हाँकिरहेका थिए सागिरले । सागिर !

कालै गाजल पोतिएर बाहिर निस्केका ठूला काला आँखा, हल्का रातो लिपिस्टिक लगाइएका बाक्ला ओठ, लाम्चो अनुहार, चुच्चो नाकमा टिलिक्क टल्किएको सुनौलो नथिया, जोडिन आटेका आँखीभौँबिचका सानो भागमा लगाइएको सानो रातो बिन्दी, ठूलो निधारमाथि कपाल छोइने गरी लगाइएको कलेजी रातो रङको सिँदुर । शारदीय घामका प्रथम किरण धानका सुनौला बालाहरुमा रहेको शीतमा ठोक्ँिकदा  खण्डित भएर देखिने प्रकाशका अनेक रङहरु अब्दाको अनुहारमा टल्किरहेका थिए ।

नीलो पोसाकमा सजिएका केटाकेटीले मात्र हैन, बाटोमा हिँड्नेहरु र अब्दालाई देख्नेहरु सबैले अब्दाको यो स्वरूपलाई एक पटक फर्केर हेरे । अब्दा मुस्कुराइन् । कालीकाली हिस्सी परेकी अब्दाको मुहार शीत ओभाएको दूबो जस्तै निर्मल, लामो झरीपछि खुलेको आकाश जस्तै निश्चल देखिएको थियो । कुदिरहेको बाइकबाट अब्दाले खुसी हुँदै बोलिन्— सुजाता ! 

बाइकको गति बिस्तारै कम हुँदै गयो । विद्यालयको गेटअगाडि पुगेर बाइक बिस्तारै रोकियो । बाइक हाँकिरहेका थिए सागिरले । सागिर ! अब्दाका श्रीमान् । बाइक रोकिएपछि अब्दा होसियारपूर्वक बिस्तारै झरिन् । अब्दा झर्दा उनले शिरमाथि ओढिराखेको गाढा नीलो सल बाइकमा अल्झेर तानियो । शिर सलविहीन भएपछि उनी खुब आत्तिएकी जस्ती देखिइन् । सागिरले सल टिपे । सल दुवै टुप्पातर्फ बराबर हुने गरी सानो बनाएर मिलाए । अनि अब्दाको काँधमा राखिदिए । अब्दाले हातका किताब बाइकमा राखेर सललाई शिरमा मिलाउन खोजिन् । सागिरले नबोली सल शिरबाट हटाइदिए । अब्दाले अनौठो मानेर सागिरलाई हेरिन् । सागिरले मुसुक्क मुस्कुराएर दुवै आँखा झिम्काउँदै टाउको हल्लाएर भने— ‘सिर्फ स्कुलभित्र !’ 

अब्दाको अनुहार पिताम्बरीले माझेको तामाको लोटा जस्तै चम्कियो । नचम्कियोस् पनि कसरी ? विगत तीन वर्षदेखि उनको  आँखाबाहेक सबै छोपिने गरी अनुहारमा लागेको पर्दा एकै दिनमा एक्कासि यसरी जो हटिरहेको थियो । विद्यालयमा टिङटिङ... टिङटिङ... घण्टी त्यति बेला नै बज्यो ।

अब्दालाई वर्षौंदेखि हिँडिरहेको उही बाटो आज फरक लागिरहेको थियो । पहिलो पटक माइती जाँदा आफ्नै शिरको सिँदुरदेखि लजाएकी नवदुलहीझैँ केही लज्जित र केही रोमाञ्चित भएकी थिइन् उनी । 

‘कलासतक पुराइके पढि ?’, सागिरले सोधे ।

‘न’ अब्दाले मुस्कुराउँदै बाइकबाट किताब उठाएर हातमा च्यापिन् । 

सागिरले बाइक फनक्क घुमाए । 

‘निमनसे पढू !’ मुस्कुराउँदै अब्दाको नजरबाट सागिर ओझेल परे । 

अब्दालाई वर्षौंदेखि हिँडिरहेको उही बाटो आज फरक लागिरहेको थियो । पहिलो पटक माइती जाँदा आफ्नै शिरको सिँदुरदेखि लजाएकी नवदुलहीझैँ केही लज्जित र केही रोमाञ्चित भएकी थिइन् उनी । 

‘अब्दा !’

पछाडिबाट आएको परिचित आवाजले झस्किन् । 

पछाडि फर्केर खुसी हुँदै भनिन्, ‘म्याडम, नमस्कार !’

‘नमस्कार !’ अभिभादन फर्काउँदै म्याडमले सोधिन्, ‘आज कति दिन भयो ?’

केही लजाउँदै अब्दाले बताइन्, ‘३५ दिन म्याडम ।’

‘अनि अहिल्यै किन स्कुल आएकी तिमी ? अब तिम्रो पहिलो प्राथमिकता पढाइ होइन । जाऊ, घर जाऊ ।’

सङ्गीता म्याडम यति बोलेर सरासर अफिसतर्फ लागिन् । अब्दा टक्क रोकिइन् । उनलाई पहिलो गाँसमै दाँतमा ढुङ्गा लागेजस्तो मात्र हैन, ढुङ्गाले दाँतै भाँचेको जस्तो अनुभव भयो । अघिसम्मको उत्साह, खुसी सबै क्षणभरमा गायब भयो । उनी थरथर कामिरहेकी थिइन् । 

‘अब्दा !’

सुजाताले च्याप्प समातिन् । साथीको स्नेहले उनलाई ढाडस मिल्यो । सुजाता अब्दाको भर्खरको मनस्थितिबारे अनभिज्ञ थिइन् । 

‘चल कलास में’ अब्दाको किताब आफ्नो हातको किताबमाथि राखेर अर्को हातले अब्दालाई तानिन् । सुजाता अगाडि–अगाडि अब्दा पछाडि–पछाडि कक्षा १० भित्र छिरे । प्रार्थनाका लागि जाँदै गरेका कक्षाका साथीहरु अब्दाको उपस्थिति र अनुहार देखेर आश्चर्य र खुसी भए । सबैले अब्दालाई बधाई दिए ।

‘कङ्ग्राट्स अब्दा, यु आर लुकिङ सो प्रिटी !’

सोनमले अब्दालाई अङ्कमाल गरेर अझै सोधिन्, ‘बबुवा कैसन है ?’

‘निमन है ।’ अब्दाले अलिकति लजाउँदै भनिन् ।

‘यार, तु फिर से पढ्न आउँछेस्, हामीले सोचेकै थिएनौँ ।’ महिमाले भनिन् । 

‘ए रिजवानकी अम्मी ! तुँ कलासमे रेस्ट कर, हामी प्रार्थना गरिहाल्छौँ र आइहाल्छौँ ।’

‘बबुवाके नाम कथि है ?’ रेश्माले सोधिन् ।

‘रिजवान ।’

‘ए रिजवानकी अम्मी ! तुँ कलासमे रेस्ट कर, हामी प्रार्थना गरिहाल्छौँ र आइहाल्छौँ ।’ सोनमको कुराले सबै हाँस्दै बाहिर निस्के । अब्दा पनि एकछिन त हाँसिन् । 

कक्षा खाली भयो । उनी एक्ली भइन् । 

सङ्गीता म्यामका कुरा उनको मस्तिष्कभरि घुम्न थाले । प्रार्थनामा बजेको सरस्वती वन्दना उनले सुनिनन्, न त सुनिन् राष्ट्रिय गान । सुनिन् त केवल सङ्गीता म्याडमको बोली !  म्याडमले बोलेको एक–एक शब्द उनका वरिपरि प्रतिध्वनित भएर गुन्जिरहे । 

असह्य भएपछि अब्दा बेन्चमा घोप्टो परिन् । आँखा बन्द गरिन् । बाहिरको दृश्य भए पो आँखा बन्द गरेर सुकुन मिल्छ । भित्र–भित्र द्वन्द्व चलिरहेको थियो । बन्द आँखाले उनलाई अझ सत्यको नजिक पुरायो । उनी डराइन् । झन् छटपटी बढ्यो । आँखा खोलिन् । अनुहारमा चिटचिट पसिना आएको थियो । शरीर रनक्क तात्यो । जुरुक्क उठेर कक्षाकोठाको झ्यालबाहिर हेरिन् । सडकमा एक गर्भवती महिला हिँडिरहेकी थिइन् । अब्दाको आँखा ती महिलाको पेटमा पुगेर टक्क रोकियो । निकैबेर ती महिलालाई हेरिरहिन् । महिला अदृश्य भएपछि उनका आँखीभौँ एकै ठाउँमा जोडिए । निधारमा तीनवटा मुजा परे । 

उनलाई फेरि पछ्यायो सङ्गीता म्याडमको आवाजले । सधैँ अब्दाको हौसला बनेर आएकी सङ्गीता म्याडमको एक–एक शब्दले अब्दालाई काँडा जस्तै घोचिरहेको थियो । के गरूँ ? के नगरूँ ? के मैले जे गरिरहेकी छु, त्यो ठीक छ या म्याडमले जे भन्नुभएको छ त्यो ठीक छ ? सोच्दासोच्दै उनी बेन्चमा थचक्क बसिन् ।  हातले किताब सुमसुम्याइन् । आँखाहरु टिलपिल भए । केही ढिक्का आँसुहरु किताबमाथि झरे । 

नचाहँदा–नचाहँदै आफ्नो अति प्रियजनसँग छुट्टिँदा जुन पीडा हुन्छ, त्यही पीडा अब्दाको अनुहारमा छचल्किएको थियो । सलले आँसु पुछेर आफ्नै मनलाई भनिन्, ‘सायद यो दुखाइ मेरा लागि ठीक छ । म जुन सपना देखिरहेकी छु यो सपना देख्ने समय गलत भएको छ । सायद सङ्गीता म्याडम सही हुनुहुन्छ ।’

ठप्प रोकिएको अब्दाको जीवनमा पटक–पटक गति भरिदिने व्यक्ति हुन् सङ्गीता म्याडम । 

अब्दाले सबैका अगाडि भनिरहन्थिन्, ‘म्याडम नभएको भए मेरो पढाइ पाँच कक्षासम्म सीमित हुन्थ्यो ।’ अब्दा आफ्नो अतीततिर फर्किइन्  । नारायणटोलको एक्लो मुस्लिम घरकी एक्ली बेटी उनी । प्राथमिक विद्यालयमा पाँच कक्षासम्म पढेपछि उनका दुई वर्ष यत्तिकै खेर गए । कारण गाउँमा माध्यमिक विद्यालय थिएन । घरका पर्खालहरु कोरेर, भाँडाकुटी बटुलेर म्यामबाजी खेलेर अब्दाले दुई वर्ष बिताइन् ।

नारायणटोलका बीचमा बाइस घरजति पहाडिया समुदायको बसोबास थियो । उत्तरतर्फ केही घरहरु माझी समुदायका र दक्षिणतर्फ केही घरहरु राम समुदायका थिए । राम समुदायका घरहरु र पहाडिया समुदायका घरहरुका बीचमा अब्दाको घर थियो । पाँच कक्षा पास गरेपछि अब्दाका साथीहरु इन्द्रजित राम र नरेश सदा आफ्ना बाहरुसँग घर बनाउने काममा लागे । विनीता केसी, रोहित पोख्रेल, राधा चिमोरिया र सीता थापा बोर्डिङमा पढ्न जान थाले । सरकारी विद्यालयबाट पाँच कक्षा पास गरेका उनीहरु बोर्डिङमा गएर फाइभ क्लासमा भर्ना भए । दुई वर्षअगाडि बोर्डिङबाट क्लास वन पास गरेको इन्द्रजित रामले दुई कक्षा नपढी अब्दाहरुसँग तीन कक्षा पढेको थियो । बोर्डिङको वन, सरकारीको दुई, सरकारीको ६, बोर्डिङको फाइभ, अब्दालाई लाग्यो बोर्डिङ र सरकारी विद्यालयको क्लास फरक हुने रहेछ ! ठाउँअनुसार गणित फरक हुँदो रहेछ । सबै ठाउँमा वन माने एक, टु माने दुई नहुँदो रहेछ ।  

राधाका लामा–मोटा रङ्गीचङ्गी किताब देखेर खुब लोभिन्थिन् । किताबभित्रका चित्रहरु हेरेर अनेक कल्पना गर्थिन् । किताबका ती चिल्ला पाना छोऊँछोऊँ लाग्थ्यो ।

अब्दा मिलनसार थिइन् । सबै साथीसँग मिल्थिन् तर सबैभन्दा बढी राधा चिमोरियासँग । राधाको घर अब्दाको घरनजिक थियो । घरले मन नजिक बनाउन सघायो । उनीहरुले इदको सेवई र तीजको खीर बाँडीचुँडी खान्थे । राधाको टीसर्ट र प्यान्टमा अब्दा चिटिक्क देखिन्थिन् । अब्दाका पाउका पाउजुले राधाका खुट्टा छमछम बज्थे । राधाका बुबा अरूको जमिन ठेक्कामा लिएर तरकारी खेती गर्थे ।  राधाकी आमा जङ्गल जान्थिन् । घाँस ल्याउँथिन् । गाईभैँसीको स्याहार र घरको काम गर्थिन् । राधाका बाआमा यत्तिकै एकछिन पनि बस्दैनथे । दुखजिलो गरेर राधा र राधाका  दाजुलाई बोर्डिङ पढाएका थिए । तिनीहरुलाई लिन–पुर्‍याउन स्कुल बस घर–घर आइपुग्थ्यो ।  राधा बोर्डिङबाट आउनेबित्तिकै अब्दा राधाकोमा पुग्थिन् । 

राधाका लामा–मोटा रङ्गीचङ्गी किताब देखेर खुब लोभिन्थिन् । किताबभित्रका चित्रहरु हेरेर अनेक कल्पना गर्थिन् । किताबका ती चिल्ला पाना छोऊँछोऊँ लाग्थ्यो । राधाले स्कुलका, पढाइका कुरा गर्दा खुब ध्यान दिएर सुन्थिन् । अब्दालाई राधा स्कुलबाट आएपछि मात्र दिन रमाइलो लाग्थ्यो । राधाको कुरा सुन्दा अब्दालाई पनि स्कुल बस चढेर पढ्ने रहर जागेको थियो । तर उनको रहर अब्बाको बाध्यता बन्न सकेन । मलेसियामा रहेका उनका अब्बाले भने ‘बोर्डिङ में पढावके लेल कहाँ से मिली ढेवा ? तोरा निकाहके लेल दहेजको जोगाड करेकी पडि कि न ?’ अब्बाले बताएको निकाहको ‘न’ र दहेजको ‘द’ बाहेक अब्दाले केही बुझिनन् । 

बुझिन् त बोर्डिङको बस चढेर पढ्न उनी निदाउनुपर्छ । सपनामा मात्र सम्भव छ । त्यो वर्ष अब्दाले छिमेकका साथीहरु विद्यालय गएको र उनीहरूले घरमा पढेको हेरेर बिताइन् । वर्षभरिमा उनले आफ्ना दादा (हजुरबाको) साइकल चलाउन सिकिन् । 

अर्को वर्ष नयाँ सत्र सुरु हुनेबित्तिकै उनले मलेसियामा रहेका अब्बालाई फोनमा भनिन्, ‘हम सरकारी स्कुलमे पढबइ । साइकल से जाबइ ।’ अब्बाले तत्काल केही जबाफ दिएनन् तर पछि थाहा पाइन् । अम्मीले अब्बाको गाली खाइछिन् । अम्मीले भनिन्, ‘बिटिया माँ–बापके लेल अमानत है । तोरा हिफाजत हि हमर कर्तव्य है ।’ अब्दाले बुझिन्, सरकारी विद्यालय टाढा छ । साइकलमा बीस मिनेट त कम्तीमा लाग्छ । बाटोमा गाउँ छैन । खोला, जङ्गल र खेत छ । कतै उखु रोपेको हुन्छ । यस्तो असुरक्षित बाटो बिटियालाई पढ्न  पठाउन हुँदैन । बेला–बेला एप्mएम्मा सुन्थिन्, ‘बेटी बचाओ, बेटी पढाओ ।’ उनलाई लाग्थ्यो, सायद अब म बचाउनुपर्ने चीज मात्र भएँ । 

रमजान सुरु हुँदै थियो । त्यसअघि उनी एक हप्ता मात्र रोजा राख्थिन् । पहिलो पटक उनले पूरै एक महिना रोजा राखिन् । अल्लाहतालासँग आफ्नो मनभित्रको पढ्ने रहर पूरा गरिदिनुहोस् भनेर दुवा मागिन् । 

दोस्रो वर्ष पनि सकियो । आफूसँग पढेका साथीहरुले बोर्डिङको सिक्स क्लासको परीक्षा दिइसकेका थिए । अब्दालाई पढ्ने चाहा त थियो तर पढ्न पाउँछु भन्ने आस कम हुँदै गएको थियो ।

अब्दाको दोस्रो वर्ष घरका भित्ता र खोरका बाख्रासँग म्यामबाजी खेलेर बित्यो ।

‘२ दुने चार २ तिर्के ६’ भित्ताभरि कोरिन् । 

‘सानो छ खेत, सानो छ बारी ।’ जोडजोडले गाइन् ।

घरका टेबल, कुर्सी, पिर्का र बाख्राका पाठालाई विद्यार्थी बनाएर आफू म्याम बनेर चर्को–चर्को स्वरमा पढाइन् । 

दोस्रो वर्ष पनि सकियो । आफूसँग पढेका साथीहरुले बोर्डिङको सिक्स क्लासको परीक्षा दिइसकेका थिए । अब्दालाई पढ्ने चाहा त थियो तर पढ्न पाउँछु भन्ने आस कम हुँदै गएको थियो ।

वैशाखको एक बिहान, अब्दाको घरको बाटो भएर चारवटा बाइक र दुईवटा स्कुटर कुदे । अलिक पर चौतारीमा पुगेपछि ती बाइक र स्कुटर रोकिए । आठ जना लोग्नेमान्छेहरु, सबैले सेतोमा नीलो धर्को भएको सर्ट लगाएका थिए भने कालोमा सेतो धर्को भएको प्यान्ट लगाएका थिए । दुई जना महिलाहरु थिए । उनीहरुले गुलाबी रङको कुर्ता–सुरुवाल लगाएका थिए । एकछिन ती मानिसहरुलाई हेरेपछि उनले केही सम्झेझैँ गरी मनमनै बोलिन्, ‘कति धेरै सर, म्याडमहरु !’ उनले ती सबै सर, म्याडमको अनुहार हेरिन् तर ती सर, म्याडम उनले पढेको प्राथमिक विद्यालयका थिएनन् । सर, म्याडमहरु चौतारीनजिकैका घरहरुतिर पसे ।

अब्दा आफ्नै धुनमा खेल्दै थिइन् । केही समयपछि उनको घरमा पनि एक जना अग्ला गोरा सर र अर्की म्याडम नमस्कार भन्दै भित्र पसे । नयाँ मानिस आएको देखेर अब्दाकी अम्मीले सलले शिर छोप्दै अब्दाका दादालाई बोलाउन गइन् । अब्दा अम्मीकै पिछा गर्दैगर्दा ती म्याडमले बोलाइन्, ‘यने आऊ बैया ।’

अब्दा म्याडमको नजिक गइन् । 

म्याडमले सोधिन्, ‘बैया, अपनिके नाम बताऊ त ?’ अब्दालाई म्याडमले अप्ठ्यारो गरी बोलेको जस्तो लाग्यो । 

अब्दाले नेपालीमा भनिन्, ‘मेरो नाम अब्दा खातुन हो ।’

‘तिमी त शुद्धसँग नेपाली बोल्ने रहिछ्यौ ।’ म्याडमले खुसी भएर भनिन् ।

‘हाम्रो घरवरिपरि सबै नेपाली छन् नि ।’ अब्दाले बताइन् ।

मुस्कुराइरहेको म्याडमको अनुहारको रङ खुइलियो । पुलुक्क सरको अनुहार हेरेर अब्दालाई सुमसुम्याउँदै भनिन्, ‘लाटी ! तिमी पनि त नेपाली हौ ।’ 

अब्दा मुस्कुराइन् । म्याडम मुस्कुराइन् । सर मुस्कुराए ।

त्यत्तिकैमा अब्दाका दादा आए । अब्दाका दादासँग सर, म्याडमले परिचय गरे । उनीहरु अब्दाको गाउँनजिकैको माध्यमिक विद्यालयबाट आएका रहेछन् । ती सर प्रधानाध्यापक रहेछन् । सर, म्याडमले अब्बाका दादासँग धेरैबेर छलफल गरे । सरसँगै म्याडम पनि अब्दाको दादासँग हात हल्लाईहल्लाई कुरा गर्थिन् । अब्दालाई यो दृश्य अनौठो लागिरहेको थियो । सर, म्याडम गएपछि अब्दाका दादाले अब्दाकी अम्मीसँग भने, ‘गाउँके और लडका लडकी सब सरकारी स्कुल जातइ तो हम भी अपन अब्दाके स्कुल भेजबइ !’

अब्दा खुसीले बुरुक्क उफ्रिन् । आकाशतिर हेरेर भनिन्, ‘या अल्लाह मैं तेरी शुकरगुजार हुँ । तुने मेरी दुवा कबुल करी ।’ साँझमा नमाज  पढेर अल्लाहलाई धन्यवाद दिइन् । 

भोलिपल्ट बिहान छिटो उठेर आफँै भान्सामा छिरिन् । छिटोछिटो तयार भएर गाउँका अन्य नौ जना केटाकेटीसहित माध्यमिक विद्यालय पुगिन् । उनीसँगै पढेका साथीहरु बोर्डिङमा सेभेन क्लासमा पढ्थे । बोर्डिङको सेभेन सरकारीको आठ ! अब्दालाई यस्तै लाग्थ्यो । दुई वर्ष पढाइ छुटेकाले कक्षा आठमा भर्ना नहुने भो । सर, म्याडमले ६ कक्षामा भर्ना हुन्छ भनेपछि अब्दा खिन्न देखिन्थिन् । ‘म सात कक्षामा पढ्न सक्छु ?’ अब्दाको प्रश्नले सङ्गीता म्याडमलाई गम्भीर बनायो । म्याडमले केही प्रश्नहरु ल्याएर उत्तर लेख भनिन् । अब्दा आत्तिएकी थिइन् । उनले म्याडमलाई पुलुक्क हेर्दै जानेजति उत्तर लेखिन् । म्याडमले उत्तर हेरेपछि उत्तरपुस्तिका र अब्दालाई लिएर हेडसरको अफिसमा लगेर हेडसरसँग भनिन्, ‘सर, यी नानीले पढाइ छोडेको दुई वर्ष भएको रहेछ । पाँच कक्षा मात्र पास गरेकी रहिछिन् । अब सात कक्षा पढ्छु भन्छिन् । छ कक्षाका प्रश्नहरु दिएर परीक्षा लिँदा नेपाली अङ्ग्रेजीमा जस्ट पास मात्र भएकी छिन् । गणितका साधारण क्रियाहरुका बारे ज्ञान रहेछ । मेरो विचारमा अलिकति मिहिनेत गरिन् भने सात कक्षा पढ्न सक्छिन् जस्तो लाग्छ । हजुरले पनि हेर्नुस् ।’ म्याडमले उत्तरपुस्तिका सरको टेबलमा राखिदिइन् । सरले उत्तरपुस्तिका निकैबेर फर्काई–फर्काई हेरे ।

अब्दाको मुटु ढुकढुक भयो । उनले मनमनै अल्लाहलाई पुकारिन्, ‘अब्दा ! पहिलो त्रैमासिकसम्म तिमी सात कक्षामा पढ्न पाउँछ्यौ । त्यसपछि कुनै एक विषयमा मात्र फेल भयौ भने कक्षा ६ मा पढ्नुपर्छ । बुझ्यौ ?’

उनले हेडसरको उज्यालो चम्किलो अनुहारमा अल्लाह मुस्कुराइरहेको देखिन् । स्वीकृतिको टाउको हल्लाएर खुसी हुँदै कक्षाकोठामा पसिन् । 

अब्दाको जीवनको खुसीका दिन सुरु भए । नयाँ सर्ट फ्रक लगाएर साइकल हुइँकाउँदै स्कुल पुग्थिन् । उनको कक्षाका अधिकांश साथीहरु  अनौठो भाषा बोल्थे । आफ्नो मातृभाषा, अङ्ग्रेजी र नेपाली मिसाएर बोल्ने साथीहरुका बीचमा अब्दा मात्र थिइन् जो सुस्तरी बोल्थिन् तर शुद्ध नेपाली बोल्थिन् । भाषाको कारण सर–म्याडमले पढाएको कुरा बुझ्न उनलाई सहज भएको थियो । नियमित गृहकार्य गर्थिन् । विद्यालयका अतिरिक्त क्रियाकलाप सबैमा भाग लिन्थिन् । पुरस्कृत पनि हुन्थिन् । उनको मिहिनेत र व्यवहारबाट सर–म्याडम पनि प्रभावित हुनुभयो । कक्षा सातमा तृतीय स्थान हासिल गरी आठमा पुगिन् । 

‘क्लास एट मे तो डिस्ट्रीक लेभलके इक्जाम होइ !’ साथीहरु डर देखाउँथे । उनि पनि भित्रभित्र डराएकी थिइन् । ‘डर के आगे जीत है !’ पेप्सीको विज्ञापनमा सुनेको यो वाक्य दोहोर्‍याइ रहन्थिन् । नयाँ शैक्षिक सत्रको सुरुवातदेखि नै ध्यान दिएर पढाइमा तल्लीन भइन् । ‘म धेरै पढ्छु र शिक्षक बन्छु ।’ मनमा पलाएको रहरलाई लक्ष्य बनाएर मिहिनेत गरिरहेकी थिइन् । पढाइप्रति उनको लगाव र सफलता देखेर सर–म्याडमले पनि हौसला दिनुहुन्थ्यो । दादा र अम्मी पनि खुसी थिए ।

उनका अब्बा मलेसियाबाट घर फर्के । अब्दाको खुसी अझै बढ्यो । उनी त्यही खुसीको सागरभित्र पौडिरहन चाहन्थिन् तर त्यो खुसीको सागर होइन रहेछ । बाढी रहेछ । बाढी सुक्यो । उनको नियति बाढीमा बगेर आएको माछा जस्तै भयो । बग्दाबग्दै बग्ने पानी सुकेपछि छटपटिएको माछाझैँ छटपटिनुबाहेक उनीसँग विकल्प भएन । आफ्नै निकाहका बारेमा सुन्दा अब्दाका हातखुट्टा लुला भए । आँखाबाट बरबर आँसुका धारा झरे । बोली घाँटीमा आएर ठप्प भयो । दिनभर हिक्कहिक्क गरेर रोएर बिताइन् । ‘निकाहका लागि न मेरो उमेर पुगेको छ, न  मैले कहिल्यै सोचेकी छु । म निकाह गर्दिनँ ।’ साँझमा अम्मीसँग भनिन् । अम्मीले आँखाभरि आँसु बनाइन् । केही जबाफ दिइनन् । सन्तानका खुसीमा पनि दुखमा पनि आँसु मात्र बगाइदिन्छन् । आमाहरु यस्तै हुन्छन् ! 

घरको वातावरण बुझ्दै जाँदा अब्दालाई थाहा भयो । अब्बा बिरामी हुनुभएको छ । उहाँले अब विदेश गएर काम गर्न सक्नुहुन्न । अहिले कमाएको पैसाले अब्दाको निकाह भयो भने अब्बाको ठूलो काम सकिन्छ । फेरि पढेलेखेकी केटीसँग बिहे गर्ने केटा पनि त पाइँदैन ! अब्दाका सानासाना दुई जना भाइलाई पढाउन, बढाउन  बाँकी नै  थियो । अब्दाले तीनै भाइको अनुहार हेरिन् । अब्बा अम्मीको दुःख बिटियाले नबुझे कसले बुझ्छ ? मुटु गाँठो पारेर आफ्नो स्कुल जाने साइकल भाइलाई सुम्पिन् । नारायणटोलबाट तीन किलोमिटर पूर्व इस्लामपुरका सागिर मंसुरीसँग निकाह कबुल गरिन् । इस्लामपुरबाट उनको स्कुल अझ नजिक भयो तर स्कुलबाट टाढा भइन् अब्दा । 

सागिर, गहुँगोरा वर्ण, अग्लो कद र हृष्टपुष्ट ज्यानका थिए । उनको अनुहार सधैँ गम्भीर देखिन्थ्यो । वास्तविक उमेर १९ वर्ष भएपनि नागरिकताअनुसार २२ वर्षका भइसकेका थिए । अब्बाको इन्त्कालपश्चात् सुत्केरी अम्मी र साना दुई भाइको जिम्मा उनमा आयो ।  सागिरका मामाले तीन वर्ष बढाएर उनको जन्मदर्ता बनाइदिए । ७ कक्षामा पढ्दै गरेका १५ वर्षे सागिर एकै दिनमा तीनवर्ष बढे । सोहीअनुसार नागरिकता बन्यो । राहदानी बन्यो र उनी दूरदेश पुगे । 

मानिसलाई उमेरले होइन, व्यवहारले परिपक्व बनाउने रहेछ । जीवनमा आइपरेका दुखले परिपक्व  बनेका सागिर शालीन स्वभावका  थिए । ‘हमर कोख से बेटी जनम नले लै त का भेलै अल्लाहके रहमसे तु इ घरमे आइ है । हम पुतोके ही बेटी समान व्यवहार करम ।’  बोलीले मात्र हैन, व्यवहारमा पनि सागिरकी अम्मीले अब्दालाई छोरी जस्तै माया गर्थिन् । सागिरको ठूलो भाइ अब्दाकै उमेरका थिए सानो भाइ तीन वर्षका । तीनवर्षे देवरको हेरचाह र घरको काममा सागिरकी अम्मीलाई सघाएर अब्दाको तीन महिना बितिसकेको थियो ।  

बिहीबारको दिन भित्री वस्त्र किन्न सागिरसँग बजार गएकी अब्दाले नजिकै सङ्गीता म्याडमलाई  देखिन् । सागिरकी अम्मीले पोते र सितारा जडेर सुन्दर बुट्टा भरिदिएको कालो बुर्का लगाएकी उनले आफूलाई रोक्न सकिनन् । म्याडम भएको ठाउँमा गएर नमस्कार गरिन् । अब्दाको बोलीले नै सङ्गीता म्याडमले चिनिहालिन् । म्याडम पनि अब्दाबारे बेखबर थिइनन् । अब्दाको हालचाल बुझेपछि सङ्गीता म्याडमले आफँै सागिरसँग परिचय गरिन् । अब्दाको प्रशंसा गर्दै अलिक जोड दिएर भनिन्, ‘सागिर, अब्दालाई पढाऊ, एक दिन तिमीलाई तिम्री श्रीमतीप्रति गर्व हुनेछ ।’  

अब्दालाई पनि भनिन्, ‘अब्दा, विवाहले पढाइलाई रोक्दैन । तिमी राम्रो पढ्न सक्छ्यौ । मिहिनेती छ्यौ । पढ । अझै केही बिग्रेको छैन ।’ 

अब्दा चुपचाप घर फर्किइन् । पढ्ने रहर त मनभरि छ । तर पूरा नहुने रहर दिलभित्र पाल्यो भने दिल कति दुख्छ त्यो अब्दालाई थाहा छ । हरेक बिहान साथीहरु स्कुल गएको दृश्यले मनभित्र चिमोटिरहन्थ्यो । हरेक दिन अब्दाका आँखाहरु भरिएर आउँथे । नाकले किताबको सुगन्ध खोज्थ्यो । कानले सर म्यामको आवाज सुन्न चाहन्थ्यो । औँलाहरु कलम समाएर कापीका पानाभरि दौडिन चाहन्थे । अब्दाको दिमागले मेरो पढाइ सकियो भनेर भने पनि भित्र हृदयमा रहरको पालुवा पलाउन छाडेको थिएन । एक रात उनले आँट गरेर सागिरलाई  आफ्ना सारा कुरा भनिन् । 

अन्त्यमा सागिरकी अम्मीले सर्त राखिन् अब्दाले बुर्का लगाएर पढ्न जानुपर्छ भनेर । सागिरले बुर्काको सट्टा सलको व्यवस्था गरे । यसरी दोस्रो पटक अब्दाले विद्यालय टेकिन् ।

‘बहु स्कुल ? वो भी हमनिके मोहल्लासे ? न, इ सम्भव नहै ।’ सागिरकी अम्मीले सीधै इन्कार गरिदिइन् । अब्दा आगोका अगाडि परेको प्लास्टिकझैँ खुम्चिइन् । डल्लो परिन् । दिनदिनै गल्दै गइन् । बिरामी जस्ती देखिन थालिन् । सागिरले अब्दालाई बुझ्थे । अम्मी भने पढाउने पक्षमा थिइनन् । सागिरलाई लाग्थ्यो, अब्बाको मृत्युपछि उनको परिवारले पाएको दुःख अम्मीको कारणले पनि हो । यदि अम्मी शिक्षित भएको भए । सक्षम भएको भए अभावको बाढीले उनको घर डुब्दैनथ्यो । बाढीको बहाबले परदेशसम्म हुत्याउँदैनथ्यो । सागिरले अम्मीसँग भने, ‘सिर्फ अब्बाके इन्तकाल से न, तोहोरा कारणसे भि हम्निके इ सब दुख सहेकी परलक । तु पढललिखल रतइ त हम सबके इ दुख न सहेके परित ।’ सागिरका कुराले अम्मीलाई छोयो । 

अन्त्यमा सागिरकी अम्मीले सर्त राखिन् अब्दाले बुर्का लगाएर पढ्न जानुपर्छ भनेर । सागिरले बुर्काको सट्टा सलको व्यवस्था गरे । यसरी दोस्रो पटक अब्दाले विद्यालय टेकिन् । तीन महिना अघिसम्म सर्ट र फ्रकमा चिटिक्क परेर हँसिलो मुहारसहित साइकलमा कुद्ने अब्दा कुर्ता सुरुवालमाथि आँखा मात्र देखिने गरी पूरै अनुहार ढाकेर विद्यालय आउँदा सबै छक्क परे । सङ्गीता म्याडम भने अब्दाभन्दा पनि खुसी थिइन् ।      

‘अनुहारमा पर्दा राखेर भए पनि ज्ञानको उज्यालो ढोका तिम्रो लागि खुलेको छ । यो समयको सदुपयोग गर ।’ सङ्गीता म्याडम सम्झाइरहन्थिन् । अब्दालाई केही दिन असहज महसुस भए पनि बिस्तारै बानी पर्‍यो । सल बाँधेको कारण आँखाका परेलाभित्रको भाग रगत जमेजस्तै रातो हुन्थ्यो । दुख्थ्यो । तर अब्दा दुखाइ सहन बाध्य थिइन् । अब्दाका देवर अब्दासँगै सोही विद्यालयमा सोही कक्षामा पढ्न जान थाले । देवर पढ्न भन्दा पनि अब्दाको चियोचर्चो गर्न गएजस्तो लाग्थ्यो उनलाई ।  

आफूबाट कुनै गल्ती नहोस् भनेर उनी सचेत हुन्थिन् । परीक्षाको फर्म भर्ने बेला अब्दाको जन्मदर्ता चाहिने भो । अब्दा बल्ल सोर वर्ष पुग्दै थिइन् । तर उनको त निकाह भइसकेको थियो । बालविवाहको कानुनबारे जानकार उनलाई अर्को आपत् आइलाग्यो । अब के गर्नु ? घरमा गएर धुरुधुरु रुन थालिन् । सागिरले उपाय लगाए । नयाँ जन्मदर्ताको लागि निवेदन दिए । एकै दिनमा अब्दाको उमेर दुई वर्ष बढ्यो । 

सागिरले बजारको स्टिल कारखानामा काम गर्न थाले । सागिरका माहिला भाइ सबिर काठमाडौँको कुनै ग्यारेजमा काम सिक्न गए ।  सानो देवर हेर्दै, अम्मीलाई घरका काममा सहयोग गर्दै अब्दाले पढ्न थालिन् । पढाइ तीन महिना छुट्दा पनि पढाइप्रतिको लगाव र मिहिनेतकै कारण सबै विषयमा सन्तोषजनक अङ्क आयो । सानो परिवार, घरमा धेरै काम हुँदैनथ्यो । उनी अझै हौसिएर पढिन् । एक दिन सङ्गीता म्याडमसँग भनिन्, ‘म पनि तपाईं जस्तै म्याडम बन्नेछु !’ प्रत्युत्तरमा सङ्गीता म्याडम मुस्कुराइन् मात्र । कक्षा नौको वार्षिक  परीक्षा दिएपछि अब्दाको जीवनमा हलचल आयो । सचेत हुँदाहुँदै पनि कसरी यसो भयो ? आफँै अचम्म परिन् । महिनाबारी रोकिनु अब्दाकी सासूका लागि खुसीको कुरा थियो तर अब्दा र सागिर न खुसी थिए न दुखी हुन सकेका थिए । अब्दा विचलित बनिन् ।  

अब्दाकी सासूले अब स्कुल जानु पर्दैन भनिन् । अब्दा शिखर नजिक पुगेर पनि शिखर आरोहण गर्न नसकेको आरोही जस्तो बेचैन थिइन् । सागिर फेरि हिम्मत बनेर आए । बढ्दै गरेको पेट नदेखियोस् भनेर ठूलो कुर्ता सिलाइदिए । दुइटा सल गाँसेर पेटसम्म छोपिने गरी बुर्का बनाइदिए । सागिर आफँैले अब्दाको हेरविचार गर्न थाले । स्कुल पुराउने, ल्याउने र समयसमयमा जाँच गराएर डाक्टरको परामर्श लिने सबै काम सागिरले गरे । 

दशैँ तिहार र छठको गरेर स्कुल एक महिना बिदा थियो । बिदाकै समयमा अचानक अब्दाको पेट दुख्यो । तुरुन्त वीरगन्ज लगियो ।  आकस्मिक रूपमा अब्दाको अप्रेसन भयो । २६ हप्ताको  अब्दाका छोरा जन्मियो । उनीहरुले छोराको नाम रिजवान राखे । रिजवान कम तौलका भएकाले एनआइसियुमा राख्नुपर्‍यो । उनीहरु तीन हप्ता अस्पताल बसे । अब्दासँगै सागिर सागिरकी अम्मी पालैपालो अस्पतालमा  बस्थे । अब्दालाई आफ्नो जीवनमा खुसीहरु सधैँ आधा मात्र आएको जस्तो लाग्थ्यो । भर्खर जन्मिएको सन्तानलाई आफूभन्दा टाढा सिसाभित्र राखिएको दृश्यले कुन आमाको मन खुसी हुन सक्छ र ?

अस्पतालमा बस्दा अब्दाले डाक्टरले लेखेको रिपोर्ट आफँै पढथिन् । नबुझेका कुरा सोध्थिन् । अस्पतालका भित्तामा अङ्ग्रेजी नेपाली भाषामा लेखिएका कुरा पढेर सागिर र अम्मीलाई बुझाउँथिन् । 

उनी पनि सन्तानको मायाले तड्पिरहन्थिन् । उनलाई आफ्नो सन्तान च्याप्प समात्न मन लाग्थ्यो । छातीमा टाँसिरहन मन लाग्थ्यो । दूध खुवाउने निश्चित समयमा रिजवानलाई काखमा लिँदा असीम आनन्द महसुस गर्थिन् । तर उनको छातीमा रिजवानका कलिला ओठ टाँसिँदा भने उनलाई असह्य पीडा हुन्थ्यो । 

अस्पतालमा बस्दा अब्दाले डाक्टरले लेखेको रिपोर्ट आफँै पढथिन् । नबुझेका कुरा सोध्थिन् । अस्पतालका भित्तामा अङ्ग्रेजी नेपाली भाषामा लेखिएका कुरा पढेर सागिर र अम्मीलाई बुझाउँथिन् ।  नेपाली, बज्जिका राम्रोसँग बोल्ने र सामान्य अङ्ग्रेजी भाषा पनि बोल्न सक्ने अब्दाले वरिपरिका अरू बिरामीलाई पनि सकेको सहयोग गर्थिन् । डाक्टरले नर्सले नेपालीमा भनेका कुरा उनले बिरामीलाई उनीहरुको भाषामा बुझाइदिन्थिन् । १९ दिनको दिन रिजवानलाई काखमा बोकेर घर फर्कंदा अस्पतालका डाक्टर, नर्स, बिरामी सबैले अब्दाको ज्ञानको, परिपक्व बानीको सराहना गरे । 

अब्दा हिँडडुल गर्ने भइसकेकी थिइन् । रिजवान पनि स्वस्थ देखिन्थ्यो । रिजवानको हेरचाह सागिरकी अम्मी आफँैले गर्थिन् । अब्दा सुत्केरी भएको तीसौँ दिनको दिन सागिरकी अम्मीले अब्दाको अगाडि उनका किताब राखेर काखबाट रिजवानलाई लिँदै भनिन्, ‘बिटिया,  बबुवाके कौनो चिन्ता नकर् । अब तु निमनसे पढ् ।’

अब्दाका आँखा रसाए । सागिर पनि अम्मीको परिवर्तित व्यवहारले अचम्म परे । अब्दाले किताब हेरिन् अनि रिजवान हेरिन् । उनलाई किताब प्यारो लाग्यो  । एकछिन किताब सुमसुम्याइन् तर किताबभन्दा धेरै प्यारो रिजवान लाग्यो । रिजवानलाई छाडेर कसरी विद्यालय  जानु ?  चार दिनसम्म दिनरात सोचिन् । सागिरले खाजाको समयमा रिजवानलाई स्कुल ल्याइदिन्छु भनेपछि मात्र अब्दा स्कुल जान सकेकी थिइन् तर सङ्गीता म्याडमको बोलीले उनले निश्चित गरिन्, अब म घर फर्कनुपर्छ । उनी बेन्चबाट जुरुक्क उठेर पाइला चाल्न खोजिन् । अप्रेसन थिएटरबाट बाहिर निकाल्दा एनेस्थेसियाले गलेझैँ उनको शरीर फतक्क गल्यो । पैताला गरुङ्गा भए । पाइला चाल्न त के पैताला उठाउन पनि सकिनन् । 

प्रार्थनामा अघिल्लो हप्ता आयोजना गरिएको वक्तृताको पुरस्कार वितरण भइरहेकाले तालीको गडगडाहट चारैतिर सुनिएको थियो । त्यति नै खेर अब्दाको कक्षामा सङ्गीता म्याडम प्रवेश गरिन् । 

सङ्गीता म्याडमलाई देखेपछि अब्दाले आफूलाई समाल्न सकिनन् । भित्तामा टाउको अड्याएर रुन थालिन् । सङ्गीता म्याडमले अब्दालाई बेन्चमा बस्न लगाएर उनको र रिजवानको स्वास्थ्य अवस्थाबारे सोधिन् । अब्दाले सबै बताइन् । स्कुल आउनुको पछाडि उनको सासूको सहयोग रहेको कुरा पनि बताइन् । अब्दाको सबै कुरा सुनेपछि सङ्गीता म्याडमको अनुहार पनि उज्यालो भयो । केही अलमलमा परेझैँ सङ्गीता म्याडमले अब्दालाई भनिन्, ‘अरू त सबै व्यवस्थापन हुन्छ होला । तर बच्चालाई दूध खुवाउने व्यवस्था कसरी गर्ने होला ? साँघुरो स्कुल छ, एकान्त ठाउँ कहीँ छैन ।’

‘ल नानी हो !  समय पनि सकियो । कथा पनि सकियो । तिमीहरुलाई कथा कस्तो लाग्यो ?’  

 म्याडमको कुरा नसकिँदै अब्दाले अनुहार अन्धकार पारेर भनिन्, ‘म्याडम, म रिजवानको भोक मेटाउन सक्दिनँ । डाक्टरले धेरै प्रयास गरे तर मेरो छातीबाट एक थोपा पनि दूध झरेन । हामी रिजवानलाई ल्याक्टोजिन खुवाउँछौँ  ।’ यसो भनिरहँदा अब्दाका आँखा रसाएका थिए ।   

‘ओह !’ सङ्गीता म्याडम यत्ति भनेर एकछिन मौन रहिन् अनि फेरि बोलिन्, ‘त्यसो भए त पीरै नगर । छोराको भोक मेटाउन नसके के भो त ? तिम्रो आफ्नो भोक त मेटाउन सक्छ्यौ नि । राम्ररी पढ । अब्दा ! आफ्नो अठोट पूरा गर ।’ 

म्याडम मुस्कुराउँदै कक्षाकोठाबाट बाहिर निस्किन् ।  

टिङटिङ दोस्रो घण्टी बज्छ ।

‘ल नानी हो !  समय पनि सकियो । कथा पनि सकियो । तिमीहरुलाई कथा कस्तो लाग्यो ?’  

‘राम्रो म्याम !’ सबै विद्यार्थीले एकै स्वरमा भन्छन् ।

‘ल, मेरो प्रश्न ध्यान दिएर सुन है । यो कथाकी पात्र अब्दाको नामको सट्टा सलमा राख र भन त । यो कथा कसको होला ?’

कक्षा आठका विद्यार्थीहरु मुखामुख गर्न थाल्छन् । सलमा म्याडम मुस्कुराउँदै अर्को कक्षातर्फ लाग्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेणुका जिसी
रेणुका जिसी
लेखकबाट थप