रास्वपा रिफर्मेसनका लागि तोसिमाको चार बुँदे मार्गचित्र
सारांश
- डा. तोसिमा कार्कीले रास्वपाको विस्तारित बैठकमा पार्टी सुधारका लागि चार बुँदे मार्गचित्र पेश गरिन्।
- उनले महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्ने र नेतृत्वलाई स्पष्ट निर्णयका साथ अघि बढ्न सुझाव दिइन्।
- बैठकमा कार्कीसहित पाँच सदस्यले सुझावसहितको प्रतिवेदन पेश गरेका थिए।
काठमाडौँ । चितवनको सौराहामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा डा. तोसिमा कार्कीले पार्टी रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र पेस गरेकी छन् ।
उनले पेस गरेको मार्गचित्रमा पार्टीको महाधिवेशनदेखि वैचारिक पुनर्संरचनासम्मका विषय समेटेर नेतृत्वलाई स्पष्ट निर्णयका साथ अघि बढ्नुपर्ने उल्लेख छ । कार्कीले पहिलो बुँदामा महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ भन्दै २०८२ मङ्सिरमै सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेकी छन् ।
महाधिवेशनले सङ्गठन विस्तार, वैचारिक स्पष्टता र चुनावी तयारीमा नयाँ ऊर्जा थप्ने उनको विश्वास छ । कार्कीले वर्तमान कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भङ्ग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने, समितिमा जेनजी, वैकल्पिक शक्तिहरू र बौद्धिक वर्गको प्रतिनिधित्व हुनुपर्ने पनि बताएकी छन् ।
‘महाधिवेशन आयोजक समिति घोषणापछि पनि केन्द्रीय सचिवालय र पदाधिकारी रहिरहनु र सचिवालय विस्तार समेत गरिनुको आधार स्पष्ट नभएको मेरो बुझाइ छ,’ उनले भनेकी छन्, ‘महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भङ्ग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ ।’
कार्कीले देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता भएको भन्दै यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक रहेकोमा जोड दिएकी छन् । ‘पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो’, कार्कीको मार्गचित्रमा भनिएको छ ।
बैठकमा कार्कीसहित पाँच जना सदस्यले सुझावसहितको प्रतिवेदन पेस गरेका थिए । केन्द्रीय सङ्गठन विभागका सचिव शंकर श्रेष्ठले सबैभन्दा लामो २० पृष्ठको सुझावसहितको प्रतिवेदन दर्ता गराएका छन् । यस्तै, केन्द्रीय सदस्यहरू डा. बुद्धि शर्मा र मधु अर्यालले तीन–तीन पृष्ठको दस्ताबेजसहितको प्रस्ताव दर्ता गराएका छन् ।
अर्का सदस्य प्रमोद न्यौपानेले ‘सङ्गठनात्मक सुझाव’ शीर्षकमा दस्ताबेज पेस गरे पनि उनी विस्तारित बैठकमा प्रतिनिधि नभएकाले उनको सुझावलाई केन्द्रीय समितिले ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण