बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नाका बन्दको असर

डिसेम्बरदेखि बन्द हुँदै कोरला नाका, चीनको निर्णयले अन्योलमा व्यवसायी

आइतबार, २३ कात्तिक २०८२, १८ : ३०
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । रसुवागढी र तातोपानी नाकाको विकल्प कोरला नाका डिसेम्बरदेखि बन्द हुने भएको छ ।

बाढीका कारण दुई मुख्य नाका बन्द भएपछि वैकल्पिक नाकाका रूपमा भदौ ३१ गतेखेखि यो सञ्चालनमा आएको थियो । तर डिसेम्बरदेखि यस नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले दिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रमेश खड्काले बताए ।

'यहाँ चिसो बढ्दै गएको छ । हाम्रो भन्सार कार्यालयमा नै अहिले तापक्रम माइनसमा पुगिसक्यो । हामी ४ हजार मिटरको उचाइमा छौँ, उतापट्टि त ४७ सय मिटर उचाइ छ, अहिले नै डिजेल जम्न थालेको छ,' प्रमुख भन्सार अधिकृत खड्का भन्छन्, 'डिसेम्बरदेखि नाका खुला गर्न सकिँदैन भन्ने जानकारी आएको छ, अवस्था पनि त्यस्तै नै छ ।'

उनका अनुसार चिसो भए पनि भन्सार कार्यालय भने बन्द हुँदैन । आसिकुडा वर्ल्ड प्रणालीमा जडान भइसकेकोले चिसो भए पनि कार्यालय खुला नै रहने उनको भनाइ छ । तर भन्सारबाट सामान नै नआउने भएकोले जाँचपासको कामचाहिँ नहुने उनले बताए । 

चीनको निर्णय अन्योलमा व्यवसायी

निर्बाध रूपमा सञ्चालन भइरहेको नेपाल चीन जोड्ने एकमात्रै कार्यालय पनि बन्द हुने भएपछि यतिबेला व्यवसायीहरू तनावमा छन् । रसुवागढी नाका पूर्णतया बन्द रहेको र तातोपानी नाकामा समेत बाढी र पहिरोका कारण पटक–पटक अवरुद्ध हुने अवस्थाबिच यो नाका खुलेपछि व्यवसायी उत्साही भएका थिए । व्यवसायीको उत्साहको प्रमाण यहाँबाट भएको आयात र राजस्व संकलनको अवस्था हो ।  

भदौ अन्तिमदेखि सञ्चालन सुरु भएको यो नाकाबाट झण्डै एक महिनाको अवधिमा पौने ३ अर्ब राजश्व संकलन भएको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त नाकाबाट असोज महिनासम्म ५ अर्ब २७ करोडको आयात भएको थियो । जबकि भदौ महिनासम्म यस्तो आयात जम्मा १२ करोड मात्रै थियो । अर्थात् एकै महिना ५ अर्ब १५ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको देखिन्छ ।

एक महिनाको अवधिमा ३ अर्ब २ करोड ७३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अविधमा यस नाकाबाट मात्रै १ हजार ४९८ वटा विद्युतीय सवारीसाधनका र ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको कार्यालयको तथ्यांक छ । अर्कोतिर यही अविधमा २८ वटा मालबाहक सवारीसाधनमार्फत ९१ लाख ९२ हजार रुपैयाँ बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

तर भन्सार कार्यालय बन्द हुने भएसँगै व्यवसायीहरू तनावमा परेका छन् । रसुवागढीमा आयात नै अवरुद्ध रहेको र तातोपानीमा समेत लामो लाइन भएका कारण अब निर्बाध ढंगले आयात गर्न समस्या भएको एक व्यवसायीले बताए ।

korala-naka2

उनका अनुसार लाइनका कारण तातोपानीमा एउटा कन्टेनरको भन्सार पास गर्नै एक महिनाभन्दा धेरै कुर्नुपर्ने अवस्था छ । चिनियाँ पक्षले दिनमा पाँच देखि १० वटा भन्दा धेरै ट्रकको पास गर्दैन । त्यसैले त्यहाँ अहिले पनि सयौँ कन्टेनरको लाइन छ । त्यसमा पनि चिनियाँ भन्सारका अधिकारीहरूले एउटा ट्रकसँग १० देखि १२ लाख रुपैयाँसम्म असुलेर पछाडिको ट्रकलाई अगाडि छिराइदिने गरेका ती व्यवसायीको आरोप छ ।

यता रसुवागढीको बेलिब्रिज निर्माण पनि अस्वभाविक रूपमा ढिलाइ भएकोमा पनि उनको आशंका छ । 'चीनले एकै दिनमा कस्ताकस्ता पुल बनाइदिन्छ । तर रसुवागढीमा एउटा बेलिब्रिज बनाइदिन्छ भनेको तीन महिना भइसक्यो, तर अझै बनेको छैन । तातोपानीमा घुस खुवाएर पास गराउनुपर्ने अवस्थामा एउटा भइरहेको कोरला पनि बन्द भएपछि हामी के गर्ने ?' उनी प्रतिप्रश्न गर्छन् ।

नेपालमा आउने अधिकांश वस्तु अहिले ग्वाञ्जाओ सहरबाट आउने गरेको छ । त्यहाँबाट सबैभन्दा छोटो पर्ने भनेको रसुवागढी नै हो । यो नाकाबाट झण्डै १५ दिनमा सामान काठमाडौँ ल्याउन सकिन्छ । त्यो बन्द हुँदा अर्को छोटो बाटो भनेको तातोपानी हो । त्यहाँबाट पनि त्यही हाराहारीमा समय लाग्छ, १–२ दिनसम्म बढी लाग्ने व्यवसायीहरू बताउँछन् ।

उता कोरला नाकाबाट ल्याउँदा भने झण्डै एक महिना समय लाग्छ । तर यो नाकाबाट ल्याउँदा भन्सारमा कुनै समस्या नहुने भएकोले व्यवसायीहरू मुस्ताङ भन्सारबाट सामान आयात गर्न उत्साहित देखिएका थिए । यदि तीनवटै भन्सार बन्द हुने हो भने कोलकत्ता नाका हुँदै जहाजबाट सामान ल्याउनुपर्छ, यसका लागि झण्डै तीन महिना लाग्ने अवस्था छ ।

'तातोपानीबाट ल्याउँदा आउन त छिटो आइपुग्छ तर भन्सार कट्न अर्को एक महिनाभन्दा बढी समय लाग्छ, बरु कोरलाबाट एक महिनामै आइपुग्छ, यहाँ कुनै झन्झट हुँदैन,' ती व्यवसायी भन्छन्, 'कोरला पनि बन्द भएपछि अब धेरै समस्या छ ।'

दुई नाका बन्द भएपछि भन्सार विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले कोरला नाका खुलाएर आयात सुचारु गर्ने पहल गरेका थिए । यसमा चिनियाँ पक्षले सघाएपछि यो उत्साहपूर्ण आयात सम्भव भएको थियो ।

प्रमुख भन्सार अधिकृत खड्का हिउँदका चार महिना भने नाका बन्दै नै गर्नुपर्ने अवस्था रहेको बताउँछन् । 'वर्षा समयमा समस्या हुँदैन, तर धेरै चिसो हुने भएकोले कम्तीमा पनि मंसिरदेखि फागुनसम्म आयात निर्यात गर्न गाह्रो नै हुन्छ,' उनी भन्छन् ।

कस्तो छ सडकको अवस्था ?

अहिले काठमाडौँबाट कोरलासम्म पुग्न झण्डै ५०० किलोमिटरको यात्रा गर्नुपर्छ । काठमाडौँबाट पोखरासम्म २०० किलोमिटर, पोखराबाट बेनीसम्म झण्डै १०० किलोमिटर, बेनीबाट जोमसोमसम्म झण्डै ९० किलोमिटर र जोमसोमबाट कोरलासम्म झण्डै ११० किलोमिटर लम्बाइ छ ।

त्यसमध्ये सबैजसो सडक अहिले स्तरोन्नतिको अवस्थामा छन् । काठमाडौँबाट मुग्लिसम्म र मुग्लिनबाट पोखरासम्म विभिन्न चरणमा आयोजना निर्माणाधीन छन् । पोखराबाट पर्वतको मालढुंगासम्म निर्माणाधीन अवस्था नभए पनि त्यसपछि कालीगण्डकी करिडोर सुरु हुन्छ, जुन बनिरहेको छ । 

यो सडकखण्डमध्ये केही स्थानमा कालोपत्र भएको छ भने केही ठाउँमा ग्राभेल । खासगरी कागबेनीभन्दा केही माथिसम्म अहिले कालोपत्र छ । तर त्यसपछि भने बाटो कच्ची नै छ । त्यहाँबाट कोरला करिब ८० किलोमिटर दूरीमा छ । धुलो उडे पनि पहिरो र हिलोको समस्या हुँदैन । कागबेनीभ्दा १२ किलोमिटर माथि चैले भन्ने ठाउँमा भने पहिरोको समस्या छ । त्यस्तै जोमसोमदेखि कागबेनी खण्डको एकाध स्थानमा अहिले समस्या छ । अन्यत्र भने समस्या नरहेको व्यवसायीहरू बताउँछन् ।

सडक विभागअन्तर्गत कालिगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाका अनुसार यस खण्डको कुल २०२ किलोमिटर सडकमध्ये हालसम्म ८१ किलोमिटर कालोपत्र र ८७ किलोमिटर ग्राभेल छ । २६ वटा पुलमध्ये १५ वटा निर्माणसम्पन्न भइसकेको छ भने ६ वटा निर्माणधीन अवस्थामा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप