बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

झन्डै ५ वर्षमा फेरिएको दृश्य : रामकुमारीको मुखमा त्यो कालो टेप, यो ‘लालफेटा’

सोमबार, २४ कात्तिक २०८२, १६ : ३८
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • राजनीतिमा मित्रता वा शत्रुता स्थायी नहुने भन्दै रामकुमारी झाँक्री एमालेमा प्रवेश गरिन्।
  • ओलीको आलोचना गरेकी झाँक्री ५ वर्षपछि एमालेमै फर्किइन्, उनलाई ओलीले पार्टीमा स्वागत गरे।
  • झाँक्रीले एकीकृत समाजवादी छाडेर एमाले रोज्नुको कारण पार्टीभित्रको असन्तुष्टि र महाधिवेशनमा पराजय थियो।

काठमाडौँ । राजनीतिमा मित्रता वा शत्रुता स्थायी होइन, बरु परिस्थिति, स्वार्थ, नीतिगत एजेन्डा र शक्ति सन्तुलन अनुसार बदलिन्छ । एउटा भनाइ नै छ, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’  आदर्श राजनीतिक दृष्टिले त व्यक्तिगत वा दलगत शत्रुताभन्दा जनताको हित र देशको आवश्यकता ठुलो मानिन्छ । त्यसैले जुनसुकै पक्षसँग पनि यदि आवश्यकताअनुसार मिल्न सकिन्छ भन्ने सोच राजनीतिमा रहन्छ । 

यही ‘मित्रता वा शत्रुता’को सिद्धान्त रामकुमारी झाँक्रीको हकमा पनि देखिएको छ । झन्डै ५ वर्षअघि तत्कालीन नेकपाका अध्यक्ष (हाल एमाले अध्यक्ष) केपी शर्मा ओलीलाई सत्तोसराप गरेकी झाँक्री उनै एमाले र ओलीको जयजकार गर्दै एमालेको झन्डामुनि गोलबद्ध हुन आइपुगेकी छन् । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बिच उनीसहित तत्कालीन नेकपा एकीकृत समाजवादीमा आबद्ध किसान श्रेष्ठलगायतका नेता कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई ओलीले पार्टीको झन्डा हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरे । 

  • रामकुमारीको मुखमा त्यो कालोटेप

२०७७ माघ २८ गते अर्थात् झन्डै पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले राजधानीमा आमसभा गरेको थियो । जतिबेला प्रचण्ड, ओली र माधव एकै पार्टीमा थिए । तर, पार्टीभित्र अन्तर्विरोध बढेपछि ओलीले संसद् नै विघटन गरिदिएका थिए । 

jhakri

सोही कदमको विरोध सभामा बोल्ने वक्ताहरूले ओलीले संसद् विघटन गरेर प्रतिगमन गरेको भन्दै कडा विरोध गरेका थिए । त्यही विरोध कार्यक्रममा बोल्नका लागि तत्कालीन नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने फरक अवस्थामा ड्यासमा पुगेकी थिइन् । 

ड्यासमा पुग्दै गर्दा उनले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन् भने मुखमा कालो टेप टाँसेकी थिइन् । उनले टेप निकालेर भनेकी थिइन्, ‘बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौँ।’ त्यतिबेला झाँक्रीको हातमा समेत कालोपट्टि बाँधिएको थियो । 

त्यसको केही दिनअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध टिप्पणी गर्दा उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो । बोल्दा ओली सरकारले पूर्वाग्रह राखेर आफूलाई पक्राउ गर्ने काम गरेको उनको आक्रोश थियो । 

सम्बोधनका क्रममा झाँक्रीले  ओली कागजका बादशाह भएको समेत बताएकी थिइन् ।  त्यही समय आसपासदेखि रामकुमारीको ओलीसँग दुरी बढेकोमा सर्वोच्च अदालतको आदेशले नेकपा खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र आ–आफ्नो बाटो लागेका थिए । त्यसको केही समयपछि माधव नेपालले एमाले पनि फुटाएर नेकपा एकीकृत समाजवादी बनाएका थिए ।

नेपालले पार्टी फुटाउँदा रामकुमारी नै नेपालको बलियो सहयोगी बनेकी थिइन् । तत्कालीन एमालेका ‘१० भाइ’ भनिएकाहरूले माधव नेपालले पार्टी फुटाउँदा धोका दिँदा झाँक्री बलियो सारथि बन्दै निर्वाचन आयोगमा नेपाललाई डोर्‍याउँदै पुगेको दृश्य त्यतिबेला चर्चित बनेको थियो । 

पछि झाँक्री तत्कालीन एकीकृत समाजवादीबाट मन्त्री पनि बनिन् । तर, हठात् पार्टीले उनलाई सरकारबाट फिर्ता बोलाएपछि उनी चिढिएकी थिइन् । त्यसयता एकीकृत समाजवादीमा असन्तुष्ट बन्दै आएकी उनी महाधिवेशनमा उपाध्यक्षमा पराजित बनिन् । त्यसपछि पार्टीमा थप दुरी बढ्दै गएकामा हालै माओवादी केन्द्रसहितका पार्टीसँग नेकपा एकीकृत समाजवादी समाहित हुँदा उनले फरक बाटो समातिन् । अर्थात् उनी एमाले नै ठिक भन्दै सोही पार्टीमा गोलबन्द हुन पुगेकी हुन् । 

  • राष्ट्रिय सभा गृहमा लालफित्ता

केही दिनअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमै झाँक्रीले आफू एमालेमा प्रवेश गर्ने सङ्केत दिएकी थिइन् । नभन्दै एमाले नेतृत्वसँग विभिन्न चरणमा भएको छलफलपछि अन्ततः उनी सोमबार एमालेमा प्रवेश गरिन् । 

पार्टी प्रवेश कार्यक्रममा ओलीले झाँक्रीलाई टाउकामा लालफित्ता (लालफेटा) पहिर्याइदिए । यस्तै लगत्तै उनलाई एमालेको झन्डा पनि हस्तान्तरण गरे । यससँगै पाँचवर्ष अघि ओलीको कडा आलोचक बनेर नयाँ बाटो हिँडेकी रामकुमारी घुम्दैफिर्दै फेरि ओलीकै लालफेटा स्वीकार गरेर ओलीसँगै सहकार्य गर्ने बिन्दुमा आइपुगेकी छन् ।  पुराना कुरालाई जबरजस्त भुलेर उनी कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नै ‘एमाले हो’ भन्ने बिन्दुमा फर्किएकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप