बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरका मुक्तकमैया व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै, मल्चिङ प्रविधिमा आकर्षण

मङ्गलबार, २५ कात्तिक २०८२, १३ : ११
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • कञ्चनपुरका मुक्तकमैया परिवारले मल्चिङ प्रविधि प्रयोग गरी तरकारी खेती सुरु गरेका छन्।
  • मुक्तकमैया महिला विकास मञ्चले मल्चिङ प्रविधि र आवश्यक सामग्रीको तालिम दिएको छ।
  • मल्चिङ प्रविधिले तरकारी उत्पादन दोब्बर बढाउनुका साथै, रोग र झारपातको समस्या कम गरेको छ।

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया परिवारहरूले मल्चिङ प्रविधि अपनाउन थालेका छन्। परम्परागत खेती गर्दै आएका यी परिवारहरूलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले मल्चिङ प्लाष्टिकको प्रयोग गरी आधुनिक तरिकाले तरकारी खेती गर्न तालिम दिएको हो।

मञ्चका निवर्तमान अध्यक्ष कौशिला चौधरीले २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्लाष्टिकसँगै खेती गर्ने तौरतरिका सिकाउने कार्य गरिएको बताइन्। उनले भनिन्, "मुक्तकमैया परिवारको आयस्तरमा सुधार ल्याउन आधुनिक तरिकाले खेती गर्न सिकाएका छौँ, साथै बीउबिजन, रासायनिक मल, कीटनासक र ढुसीनासक विषादी अनुदानमा उपलब्ध गराएका छौँ।"

स्थानीय किसान स्वस्तिमा चौधरीले मल्चिङ प्रविधि अपनाएपछि पहिलेको जस्तो रोग, कीरा र झारपातको समस्याबाट मुक्ति मिलेको बताइन्। उनका अनुसार यो प्रविधिले माटोमा चिस्यान कायम राख्न सक्षम छ र तीन वर्षदेखि अधिकांश परिवारले खुर्सानी, गोलभेँडा र सिमला मिर्च खेतीका लागि यसको प्रयोग गर्दै आएका छन्।

  • उत्पादनमा दोब्बर वृद्धि

यो प्रविधिबाट गरिएको खेतीबाट परम्परागत विधिभन्दा दोब्बर बढी उत्पादन हुन थालेको किसानहरूको भनाइ छ। स्वस्तिमा चौधरीका अनुसार, पहिले सिजनमा मुस्किलले रु. ५० हजारदेखि ७० हजारसम्मको तरकारी बिक्री गर्ने किसानहरूले अहिले रु. दुई लाखदेखि पाँच लाखसम्मको तरकारी बिक्री गर्न थालेका छन्।

नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले मल्चिङ प्रविधिको प्रयोगले माटोको आद्रता जोगाउने, झारपात नियन्त्रण गर्ने र बालीको उत्पादन वृद्धि गर्ने उद्देश्य राख्ने बताए। प्लाष्टिकले पानीको वाष्पीकरण हुन नदिँदा सिँचाइको आवश्यकता घटाउने र सूर्यको प्रकाश माटोसम्म नपुग्दा झारपात उम्रन नदिने भएकाले श्रम र लागत दुवै घट्ने उनको भनाइ छ। यसले माटोको तापक्रम सन्तुलनमा राखी बिरुवा स्वस्थ राख्ने र रोग/कीराको जोखिम पनि घटाउने उनले बताए।

मञ्चकी अध्यक्ष सीमा चौधरीले विगत पाँच वर्षदेखि मुक्तकमैया समुदायका महिलाको आयआर्जनमा टेवा पुर्‍याउन तरकारीखेती, बङ्गुरपालन र कुखुरापालन जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। वडाध्यक्ष बहादुरसिंह महराले थोरै जग्गामा व्यावसायिक खेती गरेर मुक्तकमैया परिवार आत्मनिर्भर बन्दै गएकामा खुसी व्यक्त गर्दै व्यावसायिक कार्य गर्ने परिवारलाई वडाबाट पनि प्रोत्साहित गरिएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप