दुई तहको विश्व टेस्ट च्याम्पियनसिप गर्ने योजना असफल
सारांश
- अर्को विश्व टेस्ट च्याम्पियनसिपमा सबै १२ सदस्य राष्ट्रहरू एउटै समूहमा रहने सम्भावना बढेको छ।
- एकदिवसीय सुपर लिगलाई पुनर्जीवित गर्नेबारे छलफल भइरहेको छ, जुन २०२८ बाट फर्कन सक्नेछ।
- टी-२० विश्वकपमा टोली संख्या बढाउने र छनोट ढाँचा परिमार्जन गर्ने प्रस्ताव आएको छ।
काठमाडौँ । अर्को विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) चक्रमा सबै १२ पूर्ण सदस्य राष्ट्रहरूलाई एकै समूहमा राखिने सम्भावना बढेको छ। राष्ट्रहरूलाई दुई समूहमा विभाजन गर्ने योजनाले व्यापक समर्थन पाउन नसकेपछि आईसीसी यो निर्णयमा पुगेको हो।
यसका साथै, छोटो समयमै बन्द भएको एकदिवसीय सुपर लिगलाई पनि पुनर्जीवित गर्नेबारे छलफल भइरहेको छ। क्रिकेटका तीनवटै ढाँचामा रहेका महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न न्युजिल्यान्डका पूर्वब्याटर रोजर ट्वोसको नेतृत्वमा गठित कार्यदलले गत हप्ता दुबईमा सम्पन्न आईसीसी बोर्ड र प्रमुख कार्यकारीहरूको समिति (सीईसी) को त्रैमासिक बैठकमा आफ्ना सिफारिसहरू प्रस्तुत गरेको थियो।
अर्को डब्ल्यूटीसी चक्र (२०२७-२९) का लागि राष्ट्रहरूले द्विपक्षीय शृङ्खलाहरूका लागि वार्ता सुरु गरिसकेकाले यस विषयमा तत्काल निर्णय आवश्यक थियो।
एक दशकभन्दा बढी समयदेखि आवधिक रूपमा उठ्दै आएको टू-टियर (दुई तहको) प्रणाली जुलाईमा आईसीसीको वार्षिक सम्मेलनमा कार्यदल गठन हुँदा छलफलका प्रमुख विषयहरू मध्ये एक थियो। तर, यसको कार्यान्वयनका लागि आर्थिक मोडेल स्थापित गर्न सकिन्छ वा सकिँदैन भन्ने आशंकाले दुई तहको मोडेललाई अगाडि बढ्न दिएन।
भारत, इंग्ल्यान्ड र अस्ट्रेलियाले वित्तीय वितरण मार्फत डिभिजन दुईका राष्ट्रहरूलाई समर्थन गर्न सक्ने कुरा उठे पनि ती वार्ताहरू अगाडि बढ्न सकेनन्।

वेस्ट इन्डिज, श्रीलङ्का र पाकिस्तानजस्ता राष्ट्रहरूले डिभिजन दुईमा बस्नुपरे ठुला राष्ट्रहरूसँग खेल्ने मौका घट्ने सम्भावनाका कारण यो विचारको विरोध गरेका थिए। यस्तै, बढुवा र घटुवाको मुद्दा पनि जटिल थियो, जसमा ठुला तीन राष्ट्रहरू घटुवा भएमा हुने वित्तीय असरबारे चिन्तित थिए।
ईसीबीका प्रमुख रिचर्ड थम्पसनले बीबीसीसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामी इंग्ल्यान्डको रूपमा खराब समयबाट गुज्रिन सक्छौँ, र त्यसको अर्थ के हो, हामी डिभिजन दुईमा झर्छौँ र अस्ट्रेलिया तथा भारतसँग खेल्न पाउँदैनौँ? त्यो हुन सक्दैन। यहाँ सामान्य समझदारीले काम गर्नुपर्छ।’
यसको सट्टा, कार्यदलले १२ टोलीको डब्ल्यूटीसी प्रस्ताव गरेको छ। जसअनुसार अफगानिस्तान, जिम्बाब्वे र आयरल्यान्ड पनि अर्को चक्रमा (जुलाई २०२७ बाट सुरु हुने) विस्तारित लिगको हिस्सा बन्ने सम्भावना छ। यी टोलीहरूले चक्रको अवधिमा न्यूनतम सङ्ख्यामा टेस्ट खेलहरू खेल्नुपर्नेछ, यद्यपि सही सङ्ख्या अझै तय भइसकेको छैन। टेस्ट खेलहरूको आयोजनाका लागि थप रकम उपलब्ध हुने सम्भावना भने कम छ।
एक बोर्ड निर्देशकले ईएसपीएन क्रिकइन्फोलाई भने, ‘यसले सुनिश्चित गर्छ कि सबैले टेस्ट क्रिकेट खेल्नेछन्। जो साँच्चै यो ढाँचा खेल्न चाहन्छन्, उनीहरूले अब अवसर पाउँछन् र अन्य टोलीहरूलाई उनीहरूसँग खेल्नका लागि प्रोत्साहन मिल्छ।’

यसैगरी, सीमित ओभरका ढाँचाहरूमा पनि केही विकास भएका छन्। सन् २०२३ को विश्वकपपछि बन्द गरिएको एकदिवसीय सुपर लिगलाई पुनर्जीवित गर्नेबारे विचार भइरहेको छ। जुलाई २०२० मा सुरु भएको १३ टोलीको यो लिग ५० ओभरको ढाँचालाई थप सान्दर्भिकता दिनका लागि बनाइएको थियो, तर बढ्दो व्यस्त तालिकाका कारण यसलाई बन्द गरिएको थियो। अब यो लिग २०२८ बाट मात्र फर्कन सक्छ।
एक प्रशासकले भने, ‘सुपर लिगले ५० ओभरको ढाँचालाई पुनर्जीवित गर्न मद्दत गर्न सक्छ। समस्या यो ढाँचा मरेको छैन, बरु उचित संरचना खोज्नु हो।’
यसअघिका दुई संस्करणमा १० टोलीमा सीमित गरिएको ५० ओभरको विश्वकपमा टोली सङ्ख्या बढाउने कुनै दबाब देखिँदैन, जुन २०२७ मा १४ टोलीको प्रतिस्पर्धा हुनेछ।
टी-२० विश्वकप पनि २० टोलीको नै रहनेछ, यद्यपि केही प्रशासकहरू यसलाई क्रमिक रूपमा चार टोलीले बढाउँदै अन्तिम लक्ष्य ३२ टोली पुर्याउने पक्षमा छन्।
एसोसिएट सदस्यहरूले टी-२० विश्वकप छनोट ढाँचालाई परिमार्जन गर्न पनि प्रस्ताव गरेका छन्। ओलम्पिक छनोट मार्गसँग मिल्दोजुल्दो अवधारणामा, एउटा विश्वव्यापी छनोट प्रतियोगिताले अन्तिम स्थानहरू निर्धारण गर्नेछ। यसमा एसोसिएट मात्र नभई वरीयताका आधारमा स्वतः छनोट हुन नसकेका पूर्ण सदस्यहरू पनि समावेश हुन सक्छन्।
यो विश्वव्यापी छनोट प्रतियोगिताले एसोसिएट सदस्यहरूका लागि आम्दानीको स्रोत उपलब्ध गराउने र हालको क्षेत्रीय छनोट मार्गले आफ्नो मौका सीमित गरेको विश्वास गर्ने केही एसियाली राष्ट्रहरूलाई सन्तुष्ट पार्ने अपेक्षा गरिएको छ। एसोसिएट प्रशासकहरूले यो विश्वव्यापी प्रतियोगिता २०२८ टी-२० विश्वकपको छनोट प्रक्रियाको हिस्सा बन्न सक्ने आशा राखेका छन्।
यसका साथै, विश्वभर टी-१० लिगहरू देखा परिरहे पनि, ९० मिनेटको टी-१० ढाँचालाई भने आधिकारिक ढाँचाका रूपमा मान्यता दिइने छैन।
आईसीसी बोर्डले यी मुद्दाहरूमाथि अर्को वर्षको सुरुमा हुने बैठकमा बहस गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण