चीन वा अमेरिका : यो शताब्दीमा कसको दबदबा चल्नेछ ?
सारांश
- दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भयो, जुन सन् २०१९ यताको पहिलो थियो।
- भेटमा व्यापार युद्ध र प्रविधिमाथिको नियन्त्रणबारे छलफल भयो, जसमा चीनले दुर्लभ खनिज र अमेरिकाले माइक्रोप्रोसेसरमा प्रतिबन्ध लगाए।
- दुवै देशबीचको व्यापारिक सम्बन्धमा सामरिक तनावका बाबजुद, आर्थिक अन्तर्निर्भरता कायमै रहेको देखिन्छ।
गत अक्टोबर ३० बिहीबार दक्षिण कोरियाको बुसान सहरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट भयो । दुवै मुलुकका राष्ट्रपतिबिच यो सन् २०१९ यताको पहिलो भेट थियो । बुसान सहरको विमानस्थलमा भएको छलफलमा चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रभावशाली देखिन्थे ।
उक्त भेटमा शालिन नेता, हल्लाखल्ला गर्ने नेतामाथि तथा खुला व्यापार समर्थक नेता संरक्षणवादीमाथि हाबी भएको देखियो । बैठकमा चिनियाँ राष्ट्रपति आफ्ना अमेरिकी समकक्षीको तुलनामा बढी विकल्पसहित प्रस्तुत भएका देखिन्थे ।
कम्तीमा सांकेतिक रूपमै भए पनि उनीहरूको भेटलाई हामी अमेरिका र चीनबिच चलिरहेको वैश्विक प्रभुत्वको लडाइँको महत्त्वपूर्ण क्षणका रूपमा लिन सक्छौँ । यहिनेर एउटा साह्रै महत्त्वपूर्ण प्रश्न कायमै छ । यो शताब्दीमा यी दुईमध्ये कुन महाशक्ति मुलुकले विश्वमा आर्थिक तथा सामरिक प्रभुत्व कायम राख्नेछन् ?
बुसानमा भेट भएका यी दुई पात्र, जसमा एक जना टेलिभिजनमा आफ्नाबारे बढाइचढाइ गरेर हल्लाखल्ला गर्ने पूर्वप्रस्तोता तथा अर्को ज्यादै कम बोल्न रुचाउने मार्क्सवादी–लेनिनवादी थिए । यो शिखर बैठकले चीन–अमेरिका सम्बन्धको मौलिकता पनि देखाइरहेको थियो । पक्कै पनि चीन–अमेरिका सम्बन्धको स्वरूप प्रतिस्पर्धा र प्रतिद्वन्द्वितामै आधारित छ ।

तर उनीहरूबिच विश्वको नेतृत्व गर्न चलेको संघर्षका केही सीमा पनि छन् । यी दुई महाशक्तिहरू आर्थिक अन्तर्निर्भरताको सबन्धमा छन् । धेरैले यी मुलुक आर्थिक रूपमा आपसमा छुट्टिदै जाने अर्थात् ‘डिकपलिङ’ को बाटोमा गएको भन्ने गरेका छन्, तर अझै यथार्थमा भने त्यस्तो देखिँदैन । सामरिक तनावका बाबजुद सन् २०२४ मामात्रै पनि अमेरिका र चीनबिचमा ६ सय अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको छ ।
ट्रम्प र सीबिचको शिखर बैठक करिब ९० मिनेटमा सकियो । यसमा आपसी संवादका क्रममा हुने अनुवादका लागि लागेको समय पनि समावेश छ । अमेरिका–चीन व्यापार युद्धको थालनी अमेरिकाले गरेको थियो । यस मामिलामा सीको अडान प्रस्ट थियो– अमेरिकाले आफ्नो सबैभन्दा उन्नत ‘माइक्रोप्रोसेसरहरू’ चीनलाई बेच्दैन भने चीनले पनि आफूसँग भएको दुर्लभ खनिज अमेरिकालाई बेच्दैन, साथै अमेरिकी भटमास पनि किन्न रोक्नेछ ।
ट्रम्प यस मामलामा झुके । अमेरिकालाई चीन चाहिन्छ । परिस्थिति अलग छ । सन् १९५० देखि १९८९ सम्म चलेको शीतयुद्धमा अमेरिका र सोभियत संघबिचको व्यापार कहिल्यै पनि वार्षिक रूपमा २ अर्ब डलर पुगेको थिएन, तर आज चीन–अमेरिका हरेक दिन २ अर्ब डलरको व्यापार गर्छन् ।
- मौन शक्ति
गत अप्रिलमा अमेरिकी राष्ट्रपतिले भन्सार महसुलमा व्यापक वृद्धि सुरु गरे । यसक्रममा अमेरिकासँग सम्झौता गर्न अस्वीकार गरेको एउटै मात्र मुलुक चीन हो । होहल्ला नगरी आफ्नो शक्तिमा विश्वस्त रहेको चीनले अमेरिकी कदमलाई उसकै शैलीमा प्रतिवाद गर्यो । त्यसपछि द्वन्द्व र विरामका अवधि पालैपालो देखिन थाले ।
यो सबै तनावको केन्द्रमा भने दुई कारक तत्त्व थिए– ‘एआई’ को विकासमा प्रयोग हुने पछिल्लो समयका विकसित स्तरका माक्रोप्रोसेसरहरू तथा उच्चस्तरको प्रविधि तथा सामान्य इल्केट्रोनिक्स सामानको उत्पादनमा चाहिने दुर्लभ खनिज अर्थात ‘रेयर अर्थ’ ।
पहिलोमा अमेरिकाको कब्जा छ भने दोस्रोमा करिब–करिब चीनको एकाधिकार छ । रेयर अर्थको उत्पादनमा ६० प्रतिशत हिस्सा ओगट्ने चीन एक्लैले प्रशोधनमा करिब ९० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको छ । ट्रम्प आफ्ना पूर्ववर्ती जो बाइडेनकै नीतिलाई निरन्तरता दिँदैछन् । एआई माइक्रोप्रोसेसरहरूको दोहोरो प्रयोग हुन्छ ।

तिनीहरू नागरिक तथा सैन्य दुवै काममा प्रयोग हुने भएकाले तथा भविष्यको शक्तिको एउटा प्रमुख कारण बन्ने क्षमताका कारण अमेरिकी उत्पादकलाई चीनमा निर्यात गर्न कडाइ गरिएको छ । गत सेप्टेम्बरमा ट्रम्पले अमेरिकी चिप्स किन्न नपाउने चिनियाँ कम्पनीहरूको सूची अझ थप्न सक्ने धम्की दिए । जबाफमा सी जिनपिङले रेयर अर्थको निर्यातमा करिब नाकाबन्दी स्तरकै प्रतिबन्ध लगाइदिए । त्यसपछि कसैलाई पनि बेच्न नपाइने भयो ।
डिसेम्बरबाट सुरु गर्ने भनिएको त्यस प्रावधानले अमेरिकाको अर्थतन्त्रमा धेरै ठुलो असर पार्नेवाला थियो । रक्षा उद्योगमा समेत असर पार्ने थियो । बेइजिङले अमेरिकी किसानले उत्पादन गर्ने भटमास नकिन्ने निर्णय गरेर आफ्नो आक्रामकता थप बढायो । विश्वभर उत्पादन हुने भटमासमध्ये आधाभन्दा धेरै चीनले खपत गर्छ ।
ट्रम्पले चीनसँगको व्यापार युद्धमा आफ्नो हात माथि परेको ठानेका थिए । चीनको सबैभन्दा धेरै निर्यात अमेरिकामा हुने गरेको छ । निर्यातको तुलनामा अमेरिकाबाट हुने आयात धेरै कम छ । अमेरिकालाई आफू चीनको बजार भएको कारण आफ्नो नियन्त्रण हुन सक्ने लागेको थियो ।
तर चीनले गर्ने निर्यातमा रेयर अर्थ पनि थियो, जसको अभावमा अमेरिका केही गर्न नसक्ने अवस्थामा पुग्थ्यो, तर चीनले आयात गर्ने भटमासको हकमा चीनले उत्तर अमेरिका बाहेक अन्य मुलुकबाट पनि किन्न सक्थ्यो । यसरी द्विपक्षीय द्वन्द्वमा चीन सहजतामा थियो ।

- स्टिमरोलर
दक्षिण कोरियामा अमेरिका–चीन तत्काल द्वन्द्वविरामका लागि मौखिक रूपमा सहमत भए । गत एक वर्षदेखि आपसमा धम्की र गालीगलौजमा रहेका उनीहरू हाललाई आफ्ना आक्रामक प्रस्तुति रोक्न सहमत भए । अब चीनले अमेरिकी भटमास खरिद सुचारु गर्नेछ ।
ट्रम्पले आफ्नो भन्सार महसुल घटाउने छन् । अझ महत्त्वपूर्ण कुराचाहिँ सी जिनपिङले चीनमा निर्यात गर्न चाहने अमेरिकी उच्च–प्रविधि कम्पनीहरूमाथि लगाइएको प्रतिबन्धहरू खुकुलो गर्नेबारे छलफल गरे । यसअघि अमेरिकी राष्ट्रिय सुरक्षाको विषय मानिने विषयमा यसपटक चीन–अमेरिका व्यापार बहस भएको छ । वासिंगटनमा अहिले रिपब्लिकन र डेमोक्र्याटिक दुवै खेमाका राजनीतिज्ञले यसलाई जोखिमपूर्ण रूपमा हेरेका छन् ।
ट्रम्प र सीको वार्ता करिब यिनै मुद्दाको वरपर भएजस्तो देखिन्छ । चीन–अमेरिका सम्बन्धमा रहेका सामरिक तत्त्वबारे कुनै संस्थागत छलफल भएको छैन । ताइवान वा पश्चिम प्रशान्त क्षेत्र (जहाँ चीन–अमेरिका हरेक दिन आमनेसामने हुन्छन्) जस्ता सन्दर्भमा कुरा भएको छैन ।
चिनियाँहरू आक्रामक देखिन थालेको ‘साइबर स्पेस’ बारे केही चर्चा भएको छैन । साथै बेइजिङले अनवरत र निर्णायक सहयोग गरिरहेको रुसी राष्ट्रपति पुटिन नेतृत्वको युक्रेन युद्धबारे पनि कुनै छलफल भएन ।
ट्रम्पको चीनसँगको सम्बन्ध र गतिविधिमा केही उल्लेख्य कुरा छन् । उनले पश्चिमा जगतसँग ठुलो सरोकार राख्ने मामलामा चीनसँग सोझै संवाद गरेका छन् । के अब पश्चिमाहरू चीनले जानाजान बनाएको भीमकाय निर्यात यन्त्रसँग खुरुखुरु उसैलाई फाइदा हुने व्यापार गरेर बस्ने हो ? साँच्चै चीनले ज्यादै ठुलो ‘स्टिमरोलर’ खडा गरेको छ ।
यसलाई राज्यको अनुदानले थेगेको छ । क्यानडाका युवा अर्थशास्त्री डान वाङले ‘ले ग्रान्ड कन्टिनेन्ट’ नामको जर्नलको वेबसाइटमा यसबारे विस्तारमा व्याख्या गरेका छन् । साँच्चै चीनसँगको कारोबार केवल वैदेशिक व्यापारमात्रै होइन । यसको सम्बन्ध वैश्विक प्रभुत्वको चाहनासँग जोडिन्छ । सवारी साधन, वायु ऊर्जा, औषधि, यान्त्रिक उपकरण तथा अन्य साधनहरूको विस्तार राजनीतिक विस्तारवादमा पुगेर जोडिन्छ ।
यी सबै सम्बन्ध र कारोबारहरू २१औँ शताब्दीमा विश्वमा कसको प्रभुत्व हुनेछ भन्ने प्रश्नमा जोडिन पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण