पहिलो पटक नेपाली वैज्ञानिकले विकसित गरे उच्च आइरनयुक्त ‘खुमल–१८’ धानको बीउ
काठमाडौँ । नेपाल सरकारले हालै 'खुमल–१८’ नामक धानको नयाँ उन्नत जातलाई बीउ बिजन ऐन, २०४५ अन्तर्गत सूचित बीउ बिजनका रूपमा राजपत्रमा समावेश गरेको छ ।
यसलाई नेपालकै प्रथम ऐतिहासिक बायोफोर्टिफाइड धानका रूपमा दाबी गरिएको छ। जसमा फलाम (आइरन) को मात्रा अत्यधिक रहेको छ । राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटारका प्राविधिक अधिकृत तथा वैज्ञानिक डा. उज्ज्वल कुशवाहले १३ वर्षभन्दा लामो अनुसन्धानपछि यो धानको जात विकास गरेका हुन् ।
खुमल–१८ धान के हो ?
कृषि मन्त्रालयका अनुसार खुमल–१८ एक खुला सेचित जात (ओपन पोलिनेटेड भेराइटी) हो । जसलाई वर्षे धानका लागि सिफारिस गरिएको छ ।
यो विशेष गरी समुद्री सतहबाट ७५० मिटरदेखि १५०० मिटर उचाइका मध्य पहाडी क्षेत्रका सिञ्चित भूभागका लागि उपयुक्त मानिएको छ। डा. कुशवाहका अनुसार यसले मध्य पहाडी क्षेत्रमा वर्षाको भरमा गरिने खेती (रेनफेड फार्मिंग) र सिञ्चित दुवै जग्गामा राम्रो उत्पादन दिन्छ ।
खुमल–१८ को मुख्य विशेषता यसको बायोफोर्टिफाइड गुण हो। यो नेपालको पहिलो बायोफोर्टिफाइड धान हो, जसमा फलामको मात्रा धेरै पाइन्छ ।
साथै जिंक लगायतका अन्य पोषक तत्त्व पनि भरपुर हुन्छन्। यसले कुपोषण, विशेष गरी आइरनको कमीबाट हुने समस्या समाधानमा मद्दत पुर्याउने विश्वास गरिएको छ ।
यस जातको उत्पादकत्व प्रतिहेक्टर ५.५ देखि ७.५ मेट्रिक टनसम्म रहेको छ, जबकि सामान्य अवस्थामा यसको उत्पादकत्व प्रतिहेक्टर ५.२० मेट्रिक टन तोकिएको छ ।
खुमल–१८ पाक्न १४५ दिन लाग्छ र यसको चामल मसिनो खालको हुन्छ। यसको बाला लामो हुने र सजिलै नढल्ने यसको अर्को महत्त्वपूर्ण विशेषता हो। यो धान मध्यपहाडी क्षेत्रको हावापानीमा राम्रोसँग फस्टाउँछ ।
अनुसन्धान र विकासको पृष्ठभूमि
डा. उज्ज्वल कुशवाहले खुमल–१८ को विकासमा १३ वर्षभन्दा बढी समय खर्चेका छन्। यो धान अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रबाट ल्याइएको आइ आर६४ जात र स्थानीय जात ‘पातले’ बिच क्रस गराएर विकसित गरिएको हो। यसको परीक्षण देशका विभिन्न भागहरूमा जस्तै दोलखा, दैलेख, पाख्रिबास (धनकुटा), जुम्ला, डोटी लगायतका स्थानहरूमा दश वर्षभन्दा बढी समयसम्म गरिएको थियो ।
डा. कुशवाह स्वयं आनुवंशिकी तथा बाली प्रजनन (जेनेटिक्स एन्ड प्लान्ट ब्रीडिङ) विषयका विशेषज्ञ हुन् र उनले धानको नयाँ जात विकास गर्ने क्षेत्रमा विद्यावारिधि गरेका छन्। डा. कुशवाहले विगतमा खुमल–१२, खुमल–१४, खुमल बासमती–१६ लगायतका धानका जातहरू पनि विकास गरिसकेका छन् ।
नेपालको कृषि र पोषणमा सम्भावित प्रभाव
यो धानको जातको सिफारिसले नेपालको कृषि क्षेत्रमा नयाँ आयाम थपेको छ। बायोफोर्टिफाइड धानले कुपोषण न्यूनीकरणमा ठुलो भूमिका खेल्न सक्छ ।
डा. कुशवाहका अनुसार यो धानले नयाँ व्यापारिक अवसरहरू पनि सिर्जना गर्नेछ, जहाँ एग्रिबिजेनसम्यानहरूले आइरन फोर्टिफाइड धानको रूपमा यसको बजारीकरण गर्न सक्नेछन् ।
यो नेपालमा विकसित पहिलो बायोफोर्टिफाइड धान भएकाले यसलाई एक ऐतिहासिक उपलब्धि मानिएको छ । सरकारको यस निर्णयसँगै अब किसानहरूले आगामी सिजनबाट खुमल–१८ धानको खेती गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण