बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कथा

उसलाई धरान सुन्नै मन छैन

शनिबार, २९ कात्तिक २०८२, १२ : ०६
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • बबीहाङ ब्रिटिश आर्मी बन्ने सपनामा असफल भएपछि धरान छाड्न बाध्य हुन्छन्।
  • स्वरासँगको प्रेम टुट्छ किनभने बबीहाङ लाहुरे बन्न सकेनन्, र परिवारले उनलाई अस्वीकार गर्यो।
  • बबीहाङ काठमाडौं जान्छन् र कोरिया जान भाषा सिक्न थाल्छन्, तर धरानको यादले उनलाई सताउँछ।

ऊ हरेक दिनझैँ भक्तपुरको कौशलटार चोक बसस्टपमा झर्‍यो । त्यो चोकबाट उसले काम गर्ने फ्याक्ट्री हिँडेर केही मिनेटको दूरीमा थियो । हिँड्नु उसका लागि आनन्दको कुरा हो । तर बसबाट ओर्लनसाथ उसले केही क्षण जुन सकसपूर्ण अनुभूतिको सिकार हुनु पथ्र्यो, त्यो पनि हरेक दिन कायमै थियो । 

कौशलटार चोकको आकाशे पुलमुनि बिहान–बिहानै पूर्व जाने हायस गाडीहरू, मारूती भ्यानहरू हरेक दिन आएर रोकिन्छन् । गाडीवालाहरूको कोकोहोलो एक अर्कामा मिसिन पुग्छ । कोही  ‘दिक्तेल... दिक्तेल.. खोटाङ दिक्तेल’ भन्दै चिच्याउँछन् । कोही ‘ओखलढुंगा ! ओखलढुंगा !’ त कोही ‘सोलु ! सोलु !’ भन्दै कराउँछन् । तर जब उसको कानमा ‘ए पूर्व... पूर्व... धरान... धरान !’ आवाज ठोकिन्छ । उसको हृदयको तार सम्पूर्ण रूपले झंकृत हुन जान्छ ।

उसलाई थाहा छ । माइक्रोमा चढ्यो भने ऊ सिधै धरान पुग्नेछ । तर उसलाई उसको प्रिय शहर धरानको नाम सुन्नै मन छैन । मन नभएर के गर्नु ? जबर्जस्ती स्मृतिमा बितेका दिनहरू कौशलटार चोकझैँ चौबाटिन्छन् । 

जस्तो कि एक बाटो कोटेश्वर बत्तिन्छ । अर्को बाटो बालकोट ओरालिन्छ । एक बाटो लोकन्थली उक्लिन्छ त एक बाटो सूर्यविनायक भेट्न दौडन्छ । मन नभएर के गर्नु ? प्रत्येक बिहान शान्तिनगरको कोठाबाट बस चढेर कैशलटार चोकमा ओर्लिएपछि, उसको मन दश चोटी धरान जाने माइक्रो फुत्त चढ्छ र दशै पटक तुरुन्तै फुत्त ओर्लन्छ ।

०००

सुन्दर नगरी धरान सधैझैँ मस्त थियो । तर बबीहाङका लागि आजको दिन झनै मस्तको थियो । आज उसको गोर्खा भर्तीको नतिजा जो आउनेवाला थियो । उसलाई शतप्रतिशत विश्वास थियो कि ऊ ढुक्कै लाहुरे भइसकेको छ । मानौँ उसका लागि भनेर पल्टनमा आर्मी पोशाक सिलिइसकेको छ । 

मानौँ बुट तयार छ । बन्दुकहरू तयार छन् । बाँकी छ त केबल एक औपचारिक नतिजाको । आज उसको खुशी पोलिथिन ब्यागमा भरिएको दूध जस्तो भएको थियो । पोखिन पोखिन खोज्दै थियो । छल्किन छल्किन खोज्दै थियो । यता र उता ब्यग्रतापूर्वक हल्लिँदै थियो ।

हुन पनि बबीले यो पटक गर्नु मेहेनत गरेको हो । तयारीमा कुनै कसुर बाँकी नराखेको हो । कडा तालिम, कडा अनुशासनमा बसेर गरेको हो । बूढासुब्बालाई माग्नु वर मागेको हो । लाहुरे हुन लायकको ऊ हुँदै हो । त्यसै ३–३ पटक छनौट प्रक्रियाको फाइनलमा पुग्न सफल भएको हो ?

पोखरामा फाइनल छनौट भिड्ने क्रममा डोकोमा भार बोकेर दौडिने प्रतिस्पर्धामा उसले गन्तव्यमा पुगेपछि आफ्नै शरीरभित्रबाट काँचो खुनको गन्ध महसुस गरेको थियो । उसलाई आफ्नो काँचो खुनको गन्धमा पूरा भरोसा थियो कि त्यो छानिएको संकेत हो । 

अरू बेला पसिनाको मात्रै गन्ध थाहा पाएको बबीहाङले यसपटक खुनको गन्ध थाहा पायो । सबैलाई पहिलो नम्बरमा उछिन्यो र चिसो भुइँमा भुक्लुक्कै ढल्यो । सन्तुष्टि सहित । होस खुलेपछि आफूले सबैलाई टपेको थाहा पाएर मुसुक्क मुस्कायो र फेरि आनन्दले आँखा चिम्म गर्‍यो । मनमनै खुनको गन्ध महशुस गर्दै लाहुरे भएको मीठो दिवासपना पलभरमै बुन्यो । लाग्थ्यो पोखराको आकाशले उसमाथि आशीर्वाद बर्साइ रहेछ ।

बीए अर्थात ब्रिटिश आर्मी हुने सपना उसले सानैदेखि पालेको हो । शारीरिक कसरतमा ध्यान दिएकै हो । पढाइ तिखारेको हो । उसले राम्रो अंक लिएर ११ र १२ उत्तीर्ण गरेकै हो । तर त्यस उप्रान्त नपढ्ने इच्छा गर्‍यो । ब्रिटिश लाहुरे हुनलाई औपचारिक शिक्षा त्यति भए पुगिहाल्थ्यो । उसले स्नातक भर्ना समेत गरेन । बरू गणित सुधार्‍यो । अंग्रेजी राम्रो बनायो । विश्वको ज्ञान बढायो । पत्रपत्रिका खुब पढ्यो र पक्का लाहुरे हुने जग खन्न थाल्यो ।

अन्ततः प्रतीक्षाको घडी आइपुग्यो । बबीहाङले कम्प्युटर खोलेर हेर्‍यो । अफसोस् आफ्नो सपना टुक्राटुक्रा भएको एकै झड्कामा थाहा पायो । अँह फेरि पनि उसको नाम परेन । ऊ पेट र कम्मरको बीचमा आफ्ना दुबै हातलाई च्यापेर घुँडा टेकी थचक्कै जमीनमा बस्यो र दुबै आँखाबाट आँसुका भल बगाउन थाल्यो । आवाज कम गर्न दुबै ओठलाई मुखभित्रै ट्याप्प कसेर आँखा चिम्म गरी ऊ निकैबेरसम्म एक्लै रोइरह्यो । बस् रोइरह्यो । के ईश्वरलाई यो एक्काईस बर्षे कलिलो केटोको थोरै पनि माया लागेन ? 

प्रश्न अनुत्तरित रह्यो ।

स्वराको फोन आयो । बबीहाङले रुँदारुँदा सुन्निएका राता आँखा हत्केलाले थप्थपायो र डराउँदै–डराउँदै मोबाइलको हरियो बटनलाई दायाँतर्फ घिसार्‍यो ।

‘हेलो ? बबी नाम निस्कियो नि होइन ?’ 

स्वरा अत्ताल्लिएकी सुनिई ।

‘अँह । म फेरि फेल भएँ यार !’ 

बबी हिकहिकाउन थाल्यो ।

‘ह्वाट् ?’ 

स्वराको ‘ह्वाट्’ पछि निकै लामो मौनताको पहिरो गयो । यो मौनताको पहिरो पनि बडो अचम्मको हुन्छ । यसको कुनै आवाज हुँदैन । प्रस्तुति हुँदैन । कुनै भौतिक वजन या आयतन हुँदैन । तर यसले मानिसका स्थितिहरूलाई ज्यादै निर्मम ढंगले सोहोरेर लैजान्छ र विवशताको पुछारमा पुर्‍याइदिन्छ ।

‘आई एम सरी बबी ! तिम्लाई त सबथोक थाहै छ । बाबा आमाले युकेको लाहुरे बाहेक अरूसँग मेरो बिबाह हुन दिनुहुने छैन । अब सबथोक सकियो । हाम्रो पाँच वर्षको सम्बन्ध पनि सकियो । अब सबथोक बिर्सिदेऊ ।’

बबीले स्वरासँगको सम्बन्ध, आफू जसरी पनि बृटिश आर्मी भएरै छाड्ने अघोषित शर्तसहित सुरु भएको सम्झियो । उनीहरूको कुनै त्यस्तो ‘डेट’ हुन्नथ्यो, जहाँ स्वराले उसको गाला तान्दै नभनेकीहोस्– ‘मेरो लाउरे ! जस्सरी नि मलाई लाउरेनी बनाउनु । धरानमा एउटा घर किन्नु । मेरो बौआमाले अनि मात्र मेरो हात दिनुहुन्छ ।’ 

हुन पनि हो, भूतपूर्व ब्रिटिश आर्मी स्वराको बुबाले घोषणै गरेका थिए– ‘मेरी एक मात्र छोरीको सिर्फ और सिर्फ युकेको आर्मीसँग मात्रै बिहे हुन्छ ।’

बबीलाई एक पल लाग्यो स्वरासँग प्रेमको भिख मागूँ । उसको पाउ परूँ । भनिदिऊँ कि ऊ स्वराबिना बाँच्न असमर्थ छ । भनिदिऊँ कि लाहुरे नभएर के भयो त ? उसले आकाश धरती एक गरेर भए पनि स्वराको पिताको भन्दा ठूलो घर धरानमा किन्नेछ । स्वरालाई खुशी राख्नेछ । स्वराको घरको कम्पाउन्डभित्र छिरेर ‘स्वरा ! स्वरा !’ कराउँदै नाडीको नसा काट्नेछ ।

त्यही बेला मलेसियाबाट दाइको फोन आयो । उसले फेरि पनि आफू छनौटमा नपरेको कुरा बतायो । 

‘भाग्यमै थिएन होला दाइ । मैले मेरो बेस्ट दिएकै हो ।’

उताबाट दाजु पुरा कुरा नसुनी बीचैमा बम्किए–

‘जाँठा ! बेकारमा ३–४ लाख खच्र्याइस् हैना ? मैले त पहिले नै मलेसिया आइजासँगै सेक्युरिटी गार्ड गरूँला भनेकै हो । ठूलो भाग ताकिस... ।’

केही पल दाजुभाइबिच सन्नाटा छायो र उताबाट फोन च्वाट्ट काटियो । जिन्दगीमा पहिलो पटक बबीहाङलाई दाजु आफ्नै दाजु नभएर कोही पराया जस्तै लाग्यो । उसका आँखाबाट बरर आँशुका थोपाहरू खसे । ऊ हिक्का छोड्दै बर्बराइरह्यो – 

‘मैले मेरो बेस्ट दिएँ । मैले मेरो बेस्ट दिएँ ।’

यद्यपि दाजुका पनि त दुःखहरू कम थिएनन् ? मलेसियामा सेक्युरिटी गार्ड काम गरेर भाइका लागि त्यत्रो खर्च जुटाउनु कुनै चानचुने कुरो थियो र ?उसले भाइलाई आर्मी ट्रेनिङको कोर्स गरायो । डायटका लागि खर्चहरू पठायो । धेरै थोक गरिदियो ।

दिउँसो बबीले फुपूफुपालाई आफू फेरि पनि असफल भएको कुरा सुनायो । फुपूले मुख बिगार्दै भनिन् ‘खै के गर्छस् त अब ? कोशिस गरेकै होस् । भएन त ! आबो मलेसियातिरै जान्छस् कि ? दाइ भकैतिर... ।’ 

फुपाजुले त पहिलो पटक यति धेरै अनुहार बिगारेको देख्यो उसले । राम्रोसँगले उसँग कुरा पनि गरेनन् । उसलाई हेर्दा पनि हेरेनन् । अरू बेला नाम ननिस्कँदा ‘केही छैन भदा । अर्को पटक कोसिस गर्नु । पक्कै सफल हुन्छ’ भनेर शान्त्वना दिने फुपा आज ऊ अन्तिम पटक भाग्यको खेलमा पछारिँदा भने अप्रीय मौनता साँधेर बसेका छन् ।

बबीहाङले पहिलो पटक फुपूफुपाको घरमा आफूलाई पराई महसुस गर्‍यो । फुपाको यस्तो चिसो प्रतिक्रिया र बिरानो व्यबहारले बबीहाङको मुटुमा तीखो भाला प्रहार गर्‍यो । के यी तिनै फुपाफुपू थिए त जसले लाहुरे छोरो बुहारी लिएर युके सेटल भएपछि बर्षौं पहिलेदेखि बबीहाङलाई छोरो सरहसँगै राखेका थिए ? 

‘संसारमै आफन्तहरू मतलबी र स्वार्थी जात हुन’ बबीले मनमनै भन्यो । उसलाई तुरुन्तै फुपाफुपूको घर छोडेर कतै ‘चल्दिन’ मन लागेर आयो । 

०००   ०००   ०००

झमक्क साँझमा बबीहाङ बगरकोटको एउटा सेकुवा कर्नरमा देखियो । उसको अघिल्तिर डेढ पाउ जति बंगुरको पोलेको कान थियो । हातमा रम भरिएको सिसाकप थियो । पृष्ठभूमिमा कुनै पुरानो हिन्दी गीत बजिरहेको थियो । बिजुली बत्तिको मधुरो प्रकाश वातावरणमा छरिएका थिए । खै किन हो होटलका जम्मै टेबुलहरू खाली थिए । ब्यापार उति राम्रो चलेको थिएन सायद । मदिरा भरिएको पहिलो, दोस्रो ,तेस्रो हुँदै चौथो कपसम्म आइपुग्दा बबीहाङ झ्याप्पै मातिसकेको थियो । ऊ रुने–हाँस्ने स्थितिमा पुगिसकेको थियो । होटलको साहूजी उसको छेउको टेबुलमा बसेर लसुन उक्काउन थाल्यो ।

बबीहाङ बिना प्रसंगै ठूलो स्वरमा बोल्न थाल्यो ।

‘मुटु दह्रो रैछ हौ दाजु । मेरो मुटु बलियो रछ । म मर्न सकिनँ । पाँच वर्ष लभ गरेको केटीले छोड्यो । घरकाहरू रिसाए । आफन्तहरूले हेला गरे । सपना चकनाचुर भयो । तर आम्मा कस्सम् आत्माहत्या गर्ने सोच एक पटक पनि आएन हौ दाजु ! झुन्डिएर ज्यान फ्याँलु जस्तो एक पटक पनि लागेन । दह्रो रछु हगि दाजु म ?’

होटलवालाले बबीहाङलाई एक नजर हेर्‍यो । सुलुत्त मिलेको नाक, सग्लो हलक्क बढेको कलकलाउँदो जिउडाल, गोरो अनुहार, राम्रो उचाइ र सफा चिटिक्क कपडा लुवाइ । उसलाई बबी मन पर्‍यो ।

 

‘म झम्पल लिएर जान्छु र भत्काइदिन्छु हौ दाजु बूढासुब्बा मन्दिर । त्यसले मलाई ३–३ पटक लाहुरे बनाएन । सहेँ । केही भनिनँ । तर आखिर अन्तिम पटक पनि धोकै दियो । बूढासुब्बालाई मैले जीवनमा केवल एक थोक मागेको थे । त्यो पनि दिएन त्यसले । म भत्काइदिने हो, त्यसको मन्दिर सन्दिर ’ 

बबीहाङ बोलेको बोल्यै भयो ।

‘ए भाइ, बङ्गुरको कान खाऊ क्या ! सेलाइसक्यो । मेरो कान नखाऊ । लाहुरेको रिजल्ट आको दिन हरेक साल मेरो होटलमा कोही न कोही आउँछ र यसैगरी मातेर बूढासुब्बा भत्काउँछु भन्छ । बिचरा त्यो बूढासुब्बा छ नै एउटा । तिमीहरू भत्काउन्े पो सालैपिच्छे बढ्दै गकोछौ त हौ ! को–कसले पो भत्काउँछौ, त्यो एउटा मन्दिर ?’ पसलेले मुख खोल्यो ।

त्यसपछि बबी एक्लै एक्लै केके–केके बर्बराइरह्यो । निकै बेरपछि होटलवालालाई सायद माया लागेर आयो उसको । सम्झाउन थाल्यो–

‘मलाई थाछ भाइ । एक पटक लाहुरे बन्ने किराले टोकेको छोरा मान्छे जिन्दगीभर लाहुरे रहर साँचेर बाँच्छ । उसमा लाहुरे हुन नपाएको ट्रमा हुन्छ भाइ ट्रमा । त्यो पीडाको गहिरो खिल बस्छ । तर बुझ भाइ लाहुरे हुनु मात्रै सबथोक होइन । जिन्दगी पाउनु ठूलो कुरा हो । खुशी भएर बाँच्नु मुख्य कुरा हो । मान्छे धरानलाई लाहुरेको शहर भन्छन । यो धरान लाहुरेको मात्रै हो ? सेकुवा पोलेर बेच्नेको होइन ? चोकमा अरूको जुत्ता पालिस गरेर पेट पाल्नेको होइन ?’ 

होटलवालाको चर्को डायलग बबीको दिमागमा आधाआधी मात्रै घुस्यो । अब ऊ सम्पूर्ण रुपले ढल्न तयार थियो ।

०००

भोलि बिहानै टन्टनी दुखेको टाउकोसहित बबीहाङ ब्युँझियो । उसलाई हिज रातभर भमिट गर्न बाथरूम ओहोरदोहोर गरेको धूमिल सम्झना भो । उसको बेडको सिरानीतर्फको भित्तामा गोर्खा रेजिमेन्टको एउटा पुरानो तस्वीर उसले टाँसेको थियो । हिज राती त्यो तस्वीर फनक्कै एकै फेरमा घुमेझै लाग्यो उसलाई । शरीर भतभती पोलिरहेको थियो । जलन सहिनसक्नु थियो । घाँटी सुकेर प्याकप्याकती थियो ।

दुई घुट पानी पिएपछि बबीले काठमाडौ फोन लगायो । रक्सीको मात अझै शरीरको स्नायुप्रणालीमा झम्झमाउँदै घुम्दो थियो ।

‘बिक्रम म तेरो कोठामा १/२ महिना जति बस्न मिल्दैन यार ?’

‘किन ? के भो र बबी ?’

‘यो साल पनि लाहुरे लागिएन यार । नेटमा नामै आएन । अब त उमेर पनि सकियो । यै अन्तिम पटक थियो । धरान पटक्कै बस्नै मन लागेन । गाउँ पनि जान मन छैन ।’ 

‘अनि यति कुरा पनि सोध्ने हो त मुला ? म तेरो साथी होइन ? खुरुक्क आइजा । बरू तुरुन्तै हिँडिहाल् ।’

उनीहरुको कुरा टुंङ्गियो ।

अर्को दिन बिहानै बबीहाङ बसपार्कमा देखा पर्‍यो । नीलो टि–सर्ट र जिन्स पाइन्टमा ऊ कुनै कोरियन ड्रामाको नायक भन्दा कम ह्यन्डसम देखिएन । प्रष्ट थियो । अब ऊ काठमाडौं जाँदै थियो । त्यही बखत मोबाइल बज्यो ।

‘हेलो ! ओइ बबी, तँ हिँडिस ?’

‘अँ, हिँडिसकेँ ।’

‘लु आइज ! मैले तँलाई कौशलटारमा एउटा पाउरोटी कारखानामा काम पनि खोज्देको छु । बिहान र दिउँसो त्यहाँ काम गरी हेर । यसो मन पनि भुल्छ तेरो । अनि बागबजारमा साँझ कोरियन भाषाको क्लास लिनुपर्छ । अब कोरिया जाने हो । म पनि यो फाइनान्सको जागिर विस्तारै छाड्दिन्छु । अब तँ र म मिलेर कोरिया जाने हो । बुझिस्?’

बबीले अनिच्छापूर्वक त्यसै ’हुन्छ’ भन्यो । उता बिक्रमले पनि फोन राख्यो ।

बबीको साथमा एउटा मध्यम आकारको झोला बाहेक अरू केही सामान थिएन । ऊ चढ्ने बित्तिकै बस पनि चालु भयो मानौं उसलाई काठमाडौ पुर्‍याएरै छाड्न त्यो बस उसैलाई पर्खेर बसेको थियो । जसैजसै बस गुड्यो धरान उसका दुई आँखाबाट बिस्तारै बिस्तारै ओझेल पर्दै गयो ।

बबीले अन्तिम पटक त्यो धरान शहरलाई बडो प्रेमपूर्वक आँखाभरी राखेर हेर्‍यो । चिल्ला र सफा सडक । लाहुरेका सुन्दर घरहरू । सबैका घर वरिपरि फूलबारी । त्यहाँको हावै प्यारो । त्यहाँको समस्त वातावरण नै प्यारो । धरानको नाम प्यारो । धरानको सबथोक प्यारो । बस् बबीहाङले अब कहिल्यै धरान फर्केर आउन नपरोस् भनी कामना गर्‍यो । 

०००

धरानको अप्रीतकर सम्झनाबाट बबीहाङ कैशलटारको आकाशेपुलमुनि ब्युँझियो र फटाफट जुनकीरी पाउरोटी कारखानातर्फ लम्कियो । भन्ने नै हो भने उसलाई धरानको नाम सुन्नै मन छैन अर्थात उसलाई धरानै धरान सुनिरहन मन छ ।

भक्तपुरको नसा भएर दौडिरहेको फराकिलो राजमार्ग गठ्ठाघर हुँदै दृश्यबाट उतै बिलायो । चिसो बतासको स्पर्श महशुस गर्दै बबीहाङ कोरियन भाषाका आफूले भर्खरै कण्ठ गरेका केही शब्द–अर्थहरू मनमनै दोहोर्‍याउँदै अघि बढ्यो र बढिरह्यो –

‘यङ्कुक् भनेको युके !’

‘खुनिन् भनेको आर्मी !’

‘कुम् भनेको सपना ! ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश राई
सुरेश राई
लेखकबाट थप