पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु
सारांश
- पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वको तयारी सुरु गरेको छ, जसमा बत्ती, पाल र शतबीज मार्ग व्यवस्थापन गरिँदैछ।
- दिवंगत पितृको सम्झनामा मङ्सिर २ गते राति दीप प्रज्वलन र बुधबार शतबीजारोपणको तयारी भइरहेको छ।
- कोषले भक्तजनलाई निःशुल्क पालको व्यवस्था गर्नेछ र मादक पदार्थ निषेध गरिएको छ, साथै स्वास्थ्य शिविर र खानेपानीको व्यवस्था मिलाइनेछ।
काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुतर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ ।
दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट मङ्सिर २ गते मङ्गलबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट बुधबारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी सुरु गरिएको हो ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुन सक्ने अन्य स्थानसमेत कोषको तर्फबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन दिइएको निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।
मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुङ्गा छापेको, पीच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको उगले बताए । यस अवसरमा मादक पदार्थ एवम् नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ ।
यसको अनुगमनका लागि कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महङ्गा र भड्किला गरगहना एवम् छालाका जुत्ता–चप्पल नलगाउन पनि आग्रह गरिएको छ ।
कोषका अनुसार खोजखबर कक्षको सञ्चालन, सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको छ भने प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।
कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जङ्गलमा पर्ने शतबीज मार्ग एवम् नमोबुद्धमा समेत पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई ‘लोड सेडिङ्ग’ नहुने गरी व्यवस्था मिलाइने निमित्त सदस्य सचिव जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण