इमेज सहकारीका पीडितहरू फेरि आन्दोलनमा, झुटा सम्झौता गरेको आरोप
सारांश
- इमेज सहकारीका बचतकर्ताहरूले रकम फिर्ताको माग गर्दै आन्दोलन गरेका छन्, झुटा सम्झौता गराएको आरोप छ।
- सहकारीका मुख्य व्यक्ति देवकुमार नेपालीको सम्पत्ति बिक्रीमा अनियमितता भएको र पीडितहरूले रकम पाउन सकेका छैनन्।
- उपचार खर्च नपाएर केही बचतकर्ताको मृत्यु भएको र नेपाली बागलुङ कारागारमा पुर्पक्षमा रहेको बताइएको छ।
पोखरा । बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू फेरि आन्दोलित बनेका छन् ।
सहकारीका पीडितलाई झुटा सम्झौता गराएर लामो समयसम्म बचत रकम फिर्ता नदिएपछि पुनः आन्दोलनमा उत्रिएका हुन् । सहकारीका मुख्य पात्र देवकुमार नेपालीको निर्देशनमा करिब ९० प्रतिशतभन्दा बढी पीडितलाई खाली कागजमा हस्ताक्षर गराएर मिलापत्रको दाबी गरिएको पीडितहरूले बताए । पीडितहरूले आइतबार बागलुङमा प्रदर्शन समेत गरे ।
नेपाली ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् । उनी र उनकी श्रीमती छेला नेपालीको सम्पत्ति मिलापत्र गराउने सम्झौता भए पनि सम्झौताबमोजिम बचतकर्तालाई फिर्ता दिने सर्त पालना नभएको पीडितहरूले बताए । इमेज सहकारी बचतकर्ता पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले नेपालीको नाममा रहेका सम्पत्ति बेचेर पीडितको बचत फिर्ता गर्ने भनिए पनि महँगो सम्पत्तिलाई सस्तोमा बेचेर खरिदकर्ता बेपत्ता भएका बताए ।
‘माफियाको मिलेमतोमा अत्यन्त न्यून मूल्यमा सम्पत्ति लिलामी भएको छ । ७० करोड मूल्य पर्ने घरहरू २२–२५ करोडमा बेचिएको भन्ने सुनिन्छ,’ उनले भने, ‘सम्पत्ति सकारेकाबाटै पीडितको रकम फिर्ता हुने आश्वासन थियो । अहिले सकार्नेहरू सबै गायब छन् । हामी झनै अन्यायमा पऱ्यौँ।’ उनले ठगीमा संलग्नहरूले कानुन व्यवसायीलाई समेत लोभमा पारेर न्याय किन्ने काम गरेको आरोप लगाए ।
कार्कीका अनुसार, इमेज सहकारीमा बचत जम्मा गर्नेहरू उपचार खर्च नपाएर निरन्तर मृत्युवरण गर्न बाध्य छन् । औषधि उपचारका लागि रकम नपाएपछि बचतकर्ता टंकबहादुर कार्की, कर्णबहादुर सार्की, मीनाकुमारी रेग्मी र जीतबहादुर सार्कीको निधन भएको संयोजक कार्कीले बताए । ‘हामीले आफ्नो परिश्रमको पैसा फिर्ता पाउन नसक्दा केही साथीहरूले ज्यानै गुमाउनुपरेको छ,’ उनले भने, ‘कोही हर्ट अट्याकले मरेका छन्, कोही उपचार नपाएर मृत्युवरण गरेका छन् ।’
स्रोतका अनुसार नेपालीको सम्पत्ति रामबहादुर केसी र गोमादेवी केसी सहितले खरिद गरेका छन् । तर उनीहरू अहिले अमेरिका भागिसकेका बताइएको छ । पीडितहरूमध्ये १ लाखभन्दा कम बचत भएकाहरूको करिब १ करोडजति फिर्ता भएको बताइएको छ । केसीको टिमले सम्पत्ति सकारे पनि संघर्ष समितिले बिक्री भइसकेका घरमा ताला लगाइदिएका छन् । अमेरिकाबाटै केसीले व्यापार व्यवसायमा समस्या सिर्जना गरेको भन्दै सटर खुला गरिदिन उजुरी दिएका छन् ।
सहकारीको बागलुङ कार्यालयबाट १ अर्ब ३१ करोड र पोखरा कार्यालयबाट ६५ करोड हिनामिना भएको रिपोर्ट निकालिएको छ । २०६९ असारमा नेपालीले नै सहकारी दर्ता गराएका थिए । त्यसअघि उनी पोखराकै सूर्यदर्शन सहकारीको पदाधिकारी थिए । उनी आफू सूर्यदर्शनमा अध्यक्ष हुन नपाउने भएपछि इमेज सहकारी खोलेका हुन् ।
सहकारीकै रकमबाट उनले ठाउँठाउँमा घरजग्गा जोडेको अनुसन्धानबाट खुलेको छ । नेपाली २०७४ र २०७९ मा एमालेबाट ढोरपाटनको मेयर निर्वाचित भएका हुन् । अहिले नेपाली बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा समेत अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण