शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश

काल बन्दै कर्णालीका भिरपाखा र रूख : साढे चार वर्षमा २५२ को मृत्यु

सोमबार, ०१ मङ्सिर २०८२, ०९ : ०३
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • कर्णालीमा साढे चार वर्षमा भिर र रुखबाट लडेर २५२ जनाको मृत्यु भएको छ, जसमा १८५ पुरुष र ५० महिला छन्।
  • प्रहरी तथ्यांकअनुसार, मृत्यु हुनेहरुमा अधिकांश भिरबाट लडेका छन्, विशेषगरी घाँस, दाउरा र वन पैदावर संकलन गर्दा दुर्घटना बढेको पाइन्छ।
  • कालिकोटमा सबैभन्दा बढी ४७ जनाको मृत्यु भएको छ, जहाँ सुरक्षा उपायको कमी र पहाडी जोखिमका कारण नागरिकले ज्यान गुमाउनुपरेको छ।

सुर्खेत । कर्णालीका जोखिमपूर्ण भिरपाखा र रूखबाट लडेर पछिल्लो साढे चार वर्षमा २५२ जनाको मृत्यु भएको छ । 

प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये २१८ जना भिरबाट लडेका हुन् भने ३४ जनाले रूखबाट खसेर ज्यान गुमाएका छन् । यो तथ्यांक आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्ष ०८२/०८३ को असोज मसान्तसम्मको हो ।

तथ्यांकले कर्णालीको भौगोलिक विकटता, अप्ठ्यारा गोरेटो र जीवन निर्वाहका लागि गरिने जोखिमपूर्ण गतिविधिले गर्दा यस्ता दुर्घटनाहरू बढेको देखाउँछ । विशेषगरी घाँस, दाउरा, निगुरो र अन्य वन पैदावार संकलन गर्न जाँदा वा भिरालो जमिनमा काम गर्दा मानिसहरू लड्ने गरेका प्रहरीको भनाइ छ । 

प्रदेश प्रहरी कार्यालयको रातोपाटीलाई उपलब्ध गराएको तथ्यांकअनुसार विगतका वर्षहरूमा यस्ता दुर्घटनाबाट हुने मृत्युको संख्यामा उतारचढाव देखिएको छ । तर समग्रमा यो चुनौती यथावत् छ ।

आर्थिक वर्ष ०७८/०७९ मा ५२ जनाले रूख र भिरबाट लडेर ज्यान गुमाएका थिए । त्यसपछिको वर्ष ०७९/०८० मा यो संख्या सामान्य बढेर ५३ पुग्यो । यस्तै ०८०/०८१ मा भने यो संख्या अझै बढेर ७२ पुगेको थियो । यद्यपि गत ०८१/०८२ मा भने यसरी ज्यान गुमाउनेको संख्यामा केही कमी आयो । अर्थात् ६२ मा झरेको देखिन्छ ।

यस्तै ०८२/०८३ को असोज मसान्तसम्म मात्र ११ जना भिरबाट र दुई जनाको रूखबाट खसेर ज्यान गइसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार खनाल बताउँछन् ।

karnali-police-office.2020-12-18-02-10-34_800x460_50_qTlCz9dqQO

मृत्यु हुनेहरूको लैंगिक तथा उमेरगत विश्लेषण गर्दा यसले कर्णालीको जीवनशैली र जोखिमको वितरणबारे थप प्रकाश पार्छ । कुल मृतक २५२ जनामध्ये सबैभन्दा बढी १८५ जना पुरुष, ५० जना महिला र बाँकी बालबालिका छन् । 

प्रहरीका अनुसार महिला विशेषगरी घाँस काट्न जाँदा रूख तथा भिरपाखामा लडेर ज्यान गुमाउँछन् भने भने पुरुषहरू अन्य वन पैदावार संकलन गर्न जाँदा दुर्घटनामा पर्ने गरेका छन् ।

गत जेठ २८ गते कालिकोटको खाँडाचक्र नगरपालिका–२ की ४४ वर्षीया पाँचा खड्काको पशुचौपायालाई घाँस काट्न घर नजिकैको भिरमा जाँदा लडेर घटनास्थलमै ज्यान गयो । 

यस्तै गत वर्ष साउनमा सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्रा कालिकोटकी ६८ वर्षीया मनपुरा केसीको भिरमा घाँस काट्ने क्रममा चिप्लिएर मृत्यु भयो ।

साथै, सडक तथा बाटाघाटाको सहज सुविधा नभएका कारण भिरका जोखिमपूर्ण गोरेटोमा यात्रा गर्दा पनि कतिपयको लडेर वा चिप्लिएर ज्यान जाने गरेको पाइएको छ ।

जिल्लागत जोखिमः कालिकोट अग्रस्थानमा

कर्णालीका विभिन्न जिल्लाहरूमा भिर र रूखबाट हुने मृत्युको संख्या फरक–फरक छ, जसले भौगोलिक बनावट र स्थानीय जनजीवनको प्रभाव देखाउँछ । यस सूचीमा कालिकोट सबैभन्दा अगाडि छ । पूर्णतः भिरपाखा र विकट भूभागले घेरिएको कालिकोटमा साढे चार वर्षमा ४७ जनाले भिर र रूखबाट लडेर ज्यान गुमाएका छन्, यीमध्ये ४५ जना भिरबाटै लडेका हुन् । 

कालिकोटपछि जाजरकोट, दैलेख, मुगु र रुकुम पश्चिमजस्ता जिल्लामा पनि यस्ता घटनाको संख्या उच्च छ । जाजरकोटमा ३६ जना, दैलेखमा २४ जना, मुगुमा १६ जना र रुकुम पश्चिममा पनि धेरैले रूख र भिरपाखाबाट लडेर ज्यान गुमाएका छन् । 

यसबाट पहाडी भूभाग धेरै भएका जिल्लाहरूमा भिरबाट लडेर ज्यान गुमाउनेहरूको संख्या धेरै देखिन्छ भने तुलनात्मक रूपमा समथर भूभाग भएका जिल्लाहरूमा रूखबाट । 

कर्णालीको सल्यानमा ०७८/७९ मा सबैभन्दा धेरै १७ जनाले भिरबाट लडेर ज्यान गुमाएका थिए, जसले यस जिल्लाका केही भूभागको जोखिम पनि कम नरहेको संकेत गर्दछ । यो तथ्यांकले कर्णालीका स्थानीय बासिन्दाहरूको दैनिक जीवनमा लुकेको जोखिम र त्यसबाट सिर्जित मानवीय क्षतिलाई उजागर गरेको छ ।

कालिकोट नरहरिनाथ गाउँपालिका—९, का वडाध्यक्ष प्रदीप बोहोरा सुरक्षाका उपायहरूको अपर्याप्तता र पहाडी जोखिम ठाउँ भएकै कारण रूख र भिरबाट नागरिकले ज्यान गुमाउन बाध्य भएको बताउँछन् ।

‘ग्रामीण, त्यसमा पनि अग्ला भिरपाखा भएका ठाउँका नागरिकका लागि घाँस काटेर घरपालुवा जनावरलाई पाल्नु दैनिक कार्य हो,’ उनी भन्छन् । उनका अनुसार अर्को समस्या ग्रामीण भेगतिरका नागरिकहरू परम्परागत रूपमै भिरपाखाका घाँस काट्न जान्छन् । तराई तथा सहर बजार आसपास व्यावसायिक रूपमा पशुपालन गर्ने किसानहरूले घाँसकै बारी बनाएर पशु चौपायाको आहारा बनाउँछन् । तर, ग्रामीण भेगमा परम्परागत रूपमै भिरपाखा तथा रूखको घाँस काट्ने चलन हुन्छ । अहिले पनि त्यसैको निरन्तरता छ ।  

यस्ता दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम, सुरक्षित बाटो निर्माण तथा जीवन निर्वाहका वैकल्पिक उपायहरूको खोजीमा सम्बन्धित निकायहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

हेर्नुहोस् तथ्यांक 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप