दुर्गा प्रसाईँ पक्राउकाे विराेध गर्दै राप्रपाले भन्याे– बिना सर्त अविलम्ब रिहा गरियाेस्
सारांश
- राप्रपाले दुर्गा प्रसाईंको पक्राउको विरोध गर्दै सरकारले फरक विचार दबाएको आरोप लगाएको छ।
- प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै पक्राउलाई अमानवीय र निन्दनीय भनेका छन्।
- राप्रपाले प्रसाईंलाई बिना शर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अभिव्यक्ति दिएकै आधारमा पक्राउ गरिएको विषयमा विरोध जनाएको छ ।
मंगलबार राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रसाईँको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको बताए ।
विज्ञप्तिमा भनिएको छ,'अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ।'
प्रसाईँलाई अविलम्ब र बिना सर्त रिहा गर्न राप्रपाले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
प्रसाईँलाई साेमबार प्रहरीले घरबाटै पक्राउ गरेकाे थियाे । उनले मंसिर ७ गते आन्दाेलनकाे घाेषणा समेत गरेका थिए ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण