पौवादुङमाका ५२५ परिवारले पाए जस्तापाताको छानो
सारांश
- भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ।
- गाउँपालिकाले गरिब, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो।
- यो अभियानले आगलागीको जोखिम र मनसुनमा हुने चुहावटको समस्या कम गर्ने लक्ष्य राखेको छ।
भोजपुर। नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।
गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उनले जानकारी दिए।
यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । यस वर्षका लागि रु एक करोड २० लाख बराबरको बोलपत्र आह्वान भइसकेको छ । हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी रु दुई करोड ५० लाख खर्च गरिसकेको उनले बताए । गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भइरहेको उनको भनाइ छ ।
नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरूलाई सहज र सुरक्षित रूपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।
“नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो”, अध्यक्ष राईले भने, “आर्थिक अवस्था कमजोर हुँदा कतिपय परिवार वर्षौँबाट चुहिने घरमा बस्दै आएका थिए । ती नागरिकहरूलाई स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएका हौँ । नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो ।”
आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागिका कारण बर्सेनि हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । यसले नागरिकमा एकरूपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
अभियानअन्तर्गत वडा न १ श्याशिलाका १३१, वडा नं २ तिवारी भञ्याङका ७१, वडा नं ३ च्याङ्ग्रेका १०६, वडा नं ४ बास्तिमका १०४, वडा नं ५ सोनादुम्का १३२ र वडा नं ६ ठूलोदुम्माका १५५ परिवार गरी, ६९९ परिवारले जस्तापाताको छानो पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण