शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिमा जेनजीको हस्तक्षेप अपरिहार्य

बुधबार, ०३ मङ्सिर २०८२, १७ : ००
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • नेपाली राजनीतिमा जेनेरेसन जेड (जेनजी) पुस्ताको भूमिका बढ्दै गएको छ, विशेष गरी भदौ २३-२४ को आन्दोलनमा उनीहरूको सक्रियता महत्त्वपूर्ण थियो।
  • जेनजी पुस्ताले सत्यको खोजी र प्रमाणमा जोड दिँदै राजनीतिक दलहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउनुपर्ने कुरामा जोड दिएको छ।
  • लेखमा जेनजीलाई राजनीतिमा सक्रिय रूपमा संलग्न गराउनुपर्ने, उनीहरूको भूमिकालाई मान्यता दिनुपर्ने र आगामी निर्वाचनमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने कुरालाई जोड दिइएको छ।

नेपाली राजनीतिमा युवा पुस्ता, विशेषगरी जेनेरेसन जेड (जेनजी), को भूमिका पछिल्लो समय झनै महत्वपूर्ण बनेको छ । गत भदौ २३ र २४ गते सामाजिक सञ्जालमा भएको अवरोध विरुद्ध उत्पन्न विद्रोहले मुलुकमा ठूलो राजनीतिक परिवर्तन ल्याउन बाध्य बनाएको तथ्य सर्वविदितै छ । यो आन्दोलनमा जेन–जीको सक्रिय सहभागिता स्मरणीय थियो ।

सन् १९९६ देखि २०१० बीचमा जन्मेका व्यक्तिलाई जेनजी भनिन्छ । सहस्राब्दी र जेनेरेसन अल्फा बीचको यो सबैभन्दा कान्छो पुस्ता हो । पहिले किशोर अवस्थालाई मात्र युवा मानिन्थ्यो, तर समय, संस्कृति, बजार, जनसांख्यिक अवस्था र हुर्काइ बढाइमा आएको परिवर्तनसँगै यान्त्रिक तथा आधुनिक सिद्धान्तहरूको आधारमा नयाँ पुस्तालाई वर्गीकरण गर्ने क्रममा जेन–जी नामाकरण गरियो ।

अमेरिकी समाजशास्त्री विलियम स्ट्रस र निल हाउले सन् १९९१ मा ‘जेनेरेशनस्ः द हिस्ट्री अफ अमेरिकाज् फ्युचर १५८४ टु २०६९’ पुस्तकमा पुस्ताहरूको वर्गीकरण गर्दा जेनजीको अवधारणा विश्वभर चर्चामा आयो । युथ इनिसिएटिभका संस्थापक अध्यक्ष राजेन्द्र मुल्मीका अनुसार, जर्मनबाट ‘युवा’ शब्दको अवधारणालाई अमेरिकाले नयाँ स्वरूप दिँदै ‘जेनजी’ को रूपमा परिभाषित गर्‍यो । 

१६ देखि २५ वर्ष उमेर समूहलाई प्रतिनिधित्व गर्ने यो पुस्ताको राजनीतिक सक्रियता विभिन्न क्षेत्रमा देखिँदै आएको छ । विशेष गरी भदौ २३–२४ को आन्दोलनले यस पुस्ताको शक्तिलाई प्रष्ट पारिसकेको छ । विडम्बना, यही जेनजी पुस्ता अहिले पनि विभिन्न राजनीतिक दलहरूसँग आबद्ध छ ।

नेपाली कांग्रेसमा वीपी कोइरालाको नेतृत्वलाई सुधार्ने अभियान ‘म सच्चिन्छु, हामी सच्चिऔँ“ भन्ने भनाइलाई सबैले गाउँ–गाउँसम्म पुर्‍याउन अपरिहार्य छ । कांग्रेसले पनि यसलाई बिर्सनु हुँदैन ।

नेपाली कांग्रेसलगायत कम्युनिस्ट र अन्य सबै दलले सत्य र विकासका लागि जेनजीलाई सक्रिय रूपमा सम्लग्न गराउनुपर्छ । यसको उद्देश्य केवल विद्रोह वा भिडभाडबाट समाजलाई तर्साउने मात्र नभई, राजनीतिक दलहरूको सामाजिक उत्तरदायित्वलाई स्पष्ट पार्नु पनि हो । 

जब राजनेताहरूले बोलेका कुरा र व्यवहारमा भिन्न देखिन्छ, तब जेनजीहरूले सत्यको खोजी र प्रमाणसहित आवश्यकता माग गर्न आन्दोलन गर्छन् । सामाजिक सञ्जालमा आएको अवरोधविरुद्धको आन्दोलन यसैको ज्वलन्त उदाहरण हो । आफ्नै पार्टीमा जेन–जी समूहलाई पर्याप्त स्थान नदिई पुरानै ढङ्गले काम गरिरहने हो भने, उनीहरू सरकार वा पार्टीकै विरुद्धमा उत्रन सक्छन् । 

पहिले–पहिले राजनीतिमा सत्यको व्याख्या खासै आवश्यक मानिँदैनथ्यो, राजनेताको विवेक र वचनलाई नै सत्य ठानिन्थ्यो । तर समयसँगै परिवर्तन भएको राजनीतिक परिवेशमा, सत्य भनेको जनताको विश्वास जित्नु हो, जसका लागि प्रमाणको आवश्यकता पर्छ । त्यसैले, सबै राजनीतिक दलले जेनजी समूहलाई केवल संख्या देखाउनका लागि मात्र नभई, खोजी, अध्ययन, कार्यान्वयन र वास्तविक स्थानका लागि राजनीतिमा अनिवार्य गराउनुपर्छ । 

यसको अर्थ यो हो– जनता र जेनजीको मनमा जे छ, त्यही कुरा नेताको मुखबाट पनि आउनुपर्छ । पुराना शैलीमा नेताले मात्र बोल्ने र अरूले सुन्ने चलन अब पुरानो भइसक्यो । यसैले राजनीतिमा जेनजी समूहको महत्व र अपरिहार्यता झनै बढेको छ ।

समाजको रूपान्तरणको अवस्था बुझ्न आर्थिक तथ्यांक, विभिन्न समयका आन्दोलनका क्रममा भएका क्षति र विकासका अन्तरविरोधलाई केलाउनुपर्छ । राष्ट्रियताको संवेदनशीलता, वर्ग–पक्षधरता, मानवीय आदर्शको चिन्तन, विकासको दूरदृष्टिसहितको मार्गचित्र र परिवर्तनको वैधानिकीकरण जस्ता खाकाहरू बुझ्न जेन–जीको भूमिका महत्वपूर्ण हुन्छ । 

जेनजीले भोगेका, देखेका र अध्ययन गरेका बेरोजगारी, अविकास, अर्थ–सामाजिक तथा राजनीतिक विषयवस्तुहरूमाथि गहन अनुसन्धान गर्न र यिनको समाधानका लागि पाइला चाल्न सक्छन् । यसैले पनि राजनीतिको नेतृत्वमा जेनजीको आवश्यकता अपरिहार्य छ ।

बेरोजगारी, असमान अवसर, गहिरिँदो भ्रष्टाचार, दलगत स्वार्थ र निष्क्रिय नेतृत्वप्रति सञ्चित आक्रोश गत भदौ २३ र २४ गतेको आन्दोलनमार्फत तीव्र रूपमा विस्फोटित भएको देखियो । यो आन्दोलनको अग्रपंक्तिमा जेनजी रहे तापनि, कहिलेकाहीँ सामाजिक उत्तरदायित्वबाट हटेर स्वार्थवाद उन्मुख भएको आरोप पनि उनीहरूले खेप्नुपर्‍यो । त्यसैले, तल्लो तहबाट सिक्दै र पदभारको वास्तविक महत्व बुझाउनका लागि पनि जेन–जीलाई राजनीतिमा अनिवार्य गराउनुपर्छ ।

विश्वविद्यालयमा राजनीति शास्त्र अध्ययन गरेका जेनजीहरूले सडक र डिजिटल अभियानमार्फत जुनसुकै बेला पनि आफ्नो असन्तुष्टि प्रकट गर्छन् । अध्ययनका क्रममा ‘सिद्धान्तको राजनीति’ र ‘राजनीतिको सिद्धान्त’ बीचको बहस महत्वपूर्ण हुन्छ । कसैले विद्रोह, द्वन्द्व र आन्दोलनलाई राजनीतिसँग जोड्छन् भने, कसैले आर्थिक लाभ, व्यवसाय र पदलाई प्राथमिकता दिन्छन्। राजनीतिको आदर्शीकरण, भ्रष्टीकरण र व्यवसायीकरणले फरक–फरक कित्ता खडा गरेको छ । त्यसैले, उनीहरूलाई केवल नारा लगाउन वा भीड जुटाउन मात्र नभई, वास्तविक स्थान र जिम्मेवारीका साथ राजनीतिमा सम्लग्न गराउनुपर्छ ।

आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले तयारी गरिरहेको छ । सरकार, आयोग र राजनीतिक दलहरू सबैले स्वयंसेवकका रूपमा जेनजीको सहभागिता अनिवार्य गराउन आवश्यक छ । सरकार र निर्वाचन आयोगले सर्वसाधारणले बुझ्ने गरी नामावली दर्ता प्रक्रियाको चेतना दिन सक्नु पर्‍यो । किनभने राजनीतिको क्षेत्रमा जेनजीको अपरिहार्यताको विकल्प छैन ।

इतिहास साक्षी छ, माक्र्सवाद, शक्ति, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता सबै राजनीतिक आन्दोलनहरूमा युवा पुस्ताको सक्रिय संलग्नता रहँदै आएको छ । अब जेनजीलाई सबैले राजनीतिमा अनिवार्य सहभागिता गराउनुका साथै, जेनजीले पनि आफ्नै राजनीतिक दल दर्ता गरी प्रत्यक्ष वा समानुपातिक निर्वाचन प्रणालीमार्फत सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । 

यसो भएमा अर्को जेन–जी आन्दोलन आवश्यक नपर्ने गरी नेपाल विकासको बाटोमा लम्किनेछ । अन्यथा, राम्रो काम र पढाइको खोजीमा युवाहरूले विदेशको बाटो ताक्नु पर्ने कटु यथार्थबाट हामी उम्किन सक्ने छैनौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गीता शर्मा
गीता शर्मा
लेखकबाट थप