रातोपाटी समाचार प्रभाव : एनपीएल हेर्न जाने दर्शकसँग अनधिकृत पार्किङ शुल्क उठाउन बन्द
सारांश
- कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने दर्शकबाट उठाइँदै आएको पार्किङ शुल्क बन्द भएको छ।
- कीर्तिपुर विकास समाजले अनुमति बिना नै पार्किङ शुल्क उठाउँदै आएकोमा रातोपाटीको रिपोर्टपछि बुधबारदेखि शुल्क उठाउन रोकिएको हो।
- कीर्तिपुर नगरपालिका, क्यान र त्रिवि मैदानका अधिकारीहरूले पार्किङ शुल्क उठाउन कसैलाई अनुमति नदिएको बताएका छन्।
काठमाडौँ । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने दर्शकसँग पार्किङ शुल्कको रूपमा उठाउने गरेको रकम बन्द भएको छ । त्रिभुवन विश्वविद्यालय, क्रिकेट एसोसिएसन नेपाल (क्यान), कीर्तिपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग अनुमति नै नलिई कीर्तिपुर विकास समाजले अनधिकृत रूपमा पार्किङ शुल्क उठाउँदै आएको थियो ।
उक्त विषयमा रातोपाटीले भिडियो रिपोर्टिङ गरेपछि बुधबार पार्किङ शुल्क उठाउन बन्द गरिएको हो । कीर्तिपुर विकास समाजले दादागिरी शैलीमा दर्शकहरूसँग अनधिकृत रूपमा मोटरसाइकल पार्किङको १ सय रुपैयाँ, हेलमेटको थप ५० रुपैयाँ र चारपाङ्ग्रे सवारीको १५० रुपैयाँ शुल्क उठाउँदै आएको थियो ।
स्थानीयस्तरमा व्यवस्थापन गर्ने भन्दै सरोकारवाल पक्षलाई जानकारी नै नदिई पैसा उठाउन थालेपछि दर्शकले रातोपाटीसँग गुनासो गरेका थिए । समाजका नाममा केही युवाले पार्किङको रसिद काट्न लगाउने गरेका थिए ।

‘उनीहरूले पार्किङका लागि रसिद काट्ने, हेलमेटको छुट्टै ५० रुपैयाँ माग्ने गरेका थिए । पार्किङको पैसा लिने तर सवारी साधनको जिम्मा लिन नसक्ने भन्दै दर्शकसँग जबरजस्ती पैसा लिने गरेका थिए,’ रातोपाटीसँग कीर्तिपुर मैदानबाट दर्शकले गुनासो गरेका थिए ।
बुधबार साँझ भने पार्किङका लागि तोकिएको स्थानमा पैसा असुल गर्नेहरू देखिन छाडेका छन् । उनीहरूले फ्लेक्स नै टाँगेर पैसा उठाउन थालेका थिए । समाजले स्थानीय व्यवस्थापनको रूपमा काम गर्ने भन्दै पैसा उठाए पनि यसको पारदर्शिता र कानुनी आधारमा प्रश्न उठेको थियो ।
उक्त आधारमा बिहीबार रातोपाटीले रिपोर्टिङ गरेपछि बुधबार पार्किङको नाममा शुल्क उठाउन बन्द भएको थियो । ‘आज अपराह्न ४ बजेदेखि खेल छ, हिजोचाहिँ बेलुका रकम उठाइएको पाइएन । आज पनि नउठाउनु पर्ने हो,’ एक स्थानीयले रातोपाटीसँग भने । यद्यपि कीर्तिपुर विकास समाजले यो विषयमा अहिलेसम्म आधिकारिक धारणा दिएको छैन ।
न अनुमति न जानकारी
यो विषयमा कीर्तिपुर नगरपालिकाले आफूलाई जानकारी नै नभएको जनाएको छ । नगरपालिकाकी उपप्रमुख तथा राजस्व परामर्श समिति संयोजक सुनिता शाक्य (शुभलक्ष्मी)ले नगरपालिकासँग आधिकारिक रूपमा कुनै समन्वय नभएको बताइन् ।
‘स्थानीयले उठाएको भन्ने सुनेको छु, तर नगरपालिकाले निर्णय गरेर उठाउन भनेको छैन । फेरि पार्किङ शुल्क उठाउन हामीले दिन मिल्दैन, प्रदेश सरकारको नियम अनुसार गर्नुपर्छ । कीर्तिपुर नगरपालिकाले अहिलेसम्म पार्किङबाट राजस्व संकलन गर्न कतै पनि अनुमति दिएको छैन,’ रातोपाटीसँग उनले भनिन् ।
यद्यपि नगरपालिकाको राजस्व शाखाले भने नगरपालिकाभित्र हुने विज्ञापनहरूको कर उठाइरहेको छ । यो विषयमा आयोजक क्यानलाई नगरपालिकाले पत्र नै लेखेर कर उठाइरहेको हो ।

यस्तै एनपीएल प्रतियोगिता संयोजक श्रीधर केसीले पार्किङका लागि कसैलाई अनुमति नदिएको बताए । ‘हामीले पार्किङ गर्न कुनै व्यक्ति वा संस्थालाई जिम्मा दिएको छैन,’ रातोपाटीसँग उनले भने, ‘हाम्रो जानकारी बाहिर कसैले पैसा उठाइरहेको छ भने त हामीले केही भन्ने कुरा भएन तर क्यानले एनपीएल प्रतियोगिता हेर्न आउने दर्शकका लागि पार्किङ शुल्क भनेर लिएको छैन ।’
यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्यालले एनपीएलमा पार्किङ शुल्क उठाउन कुनै पनि व्यक्ति वा संस्थाले अनुमति नलिएको रातोपाटीलाई बताए । ‘हामीले पार्किङ शुल्क उठाउन भनेर कसैलाई अनुमति दिएका छैनौँ । उठाइरहेको छ भने त्यसबारे क्यानलाई थाहा होला, तर विश्वविद्यालय आफैँले उठाउन भनेको छैन,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले यो विषयमा जानकारी नभएको बताए । ‘पार्किङको व्यवस्थापनको विषय आयोजक र स्थानीय सरकारले हेर्ने होला । हामीलाई अहिलेसम्म केही जानकारी आएको छैन । यदि अनधिकृत हो भने स्थानीय सरकारले हामीलाई रोक्न भनेको खण्डमा तुरुन्तै रोक्छौँ, तर अहिलेसम्म त्यस्तो केही जानकारी आएको छैन,’ रातोपाटीसँग उनले भने ।
ट्राफिकले कहाँ तोकेको थियो पार्किङ ?
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हेर्न आउने दर्शकका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक व्यवस्थापन योजना भन्दै स्थान तोकेको थियो । जस अनुसार भीभीआईपी र भीआईपीका सवारी साधनलाई त्रिवि क्रिकेट रंगशालाको मुख्य गेटभित्र राखिने व्यवस्था छ ।
यस्तै सामान्य दर्शकका सवारी साधन भने तीनकुने नजिकको ग्राउण्ड, घडी आइल्याण्ड नजिकको ग्राउण्ड, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि उपकुलपति कार्यालयसम्मको सडक किनार र सुन्दरीघाट–सानेपा खोला करिडोरमा पार्किङको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । यद्यपि यसमा शुल्कको बारेमा भने प्रहरी बोलेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण