बीपी राजमार्गको स्थायी पुनर्निर्माण सुरु, क्षतिग्रस्त खण्ड दुई लेनको बनाइने
काठमाडौँ । नेपालको पूर्वी भेगलाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको बीपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी पुनर्निर्माण कार्य सुरु भएको छ । २०८१ सालको असोज दोस्रो साता आएको विनाशकारी बाढीले सडकका विभिन्न खण्ड बगाएपछि अस्थायी रूपमा सञ्चालनमा रहेको यो राजमार्गलाई अब दीर्घकालीन र स्थायी रूपमा पुनर्निर्माण गर्न थालिएको हो ।
बाढीले राजमार्गको कुल २९.५ किलोमिटर सडकखण्डमा क्षति पुर्याएको थियो । सोही क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भई काम अघि बढाइएको छ । सडक विभागका अनुसार ठेक्का लागेका तीनवटा मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसपटकको पुनर्निर्माण केवल सडक मर्मतमा मात्र सीमित नभई राजमार्गको स्तरोन्नतिमा समेत केन्द्रित हुनेछ ।
अब दुई लेनको सडक र पुल
क्षतिग्रस्त सडकखण्डको पुनर्निर्माण गर्दा पहिलेको भन्दा फराकिलो र सुरक्षित बनाउने योजना सरकारले अघि सारेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार क्षतिग्रस्त खण्डमा स्थायी संरचना निर्माण गर्दा सडक र पुल दुवैलाई ‘दुई लेन’ को मापदण्डमा बनाइने तयारी छ ।
प्रमुख न्यौपानेले भने, ‘अहिले राजमार्गमा रहेका पुलहरू सिंगल लेनका छन् । जसका कारण थोरै सवारी चाप बढ्दा पनि घण्टौँ जाम हुने समस्या थियो । अब क्षति भएको स्थानमा स्थायी पुनर्निर्माण गर्दा दुई लेनकै सडक र पुल बनाउने गरी अध्ययन गरिरहेका छौँ ।’
हाल राजमार्गको धेरैजसो खण्ड सिंगल लेनको भएकाले सवारी आवागमनमा कठिनाइ हुँदै आएको थियो । विशेषगरी, भकुण्डेबेसीको दाप्चा खोला, रोशी खोला र नार्केमा नयाँ बन्ने पुल दुई लेनका हुनेछन् । यी चारवटा पुल निर्माणका लागि विस्तृत अध्ययन भइरहेको छ । उता माम्ती र कालढुंगामा पुल निर्माणको ठेक्का सम्झौता भइसकेको र काम अन्तिम चरणमा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । यद्यपि, बर्खे खोलामा ठेक्का लागेपनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन ।
जाइकाको प्राविधिक सहयोग र अनुदान
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण भएको यो राजमार्गको पुनर्निर्माणमा पनि उसैले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । क्षतिग्रस्त २९.५ किलोमिटरमध्ये ३.२ किलोमिटर (बर्खेखोलादेखि पिप्लेसम्म) सडक खण्डको निर्माण जिम्मा जाइकाले लिएको छ ।
_p5AMLT5iw1.jpg)
यो खण्डको पुनर्निर्माणका लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । यस खण्डको डिजाइन फाइनल गरी सडक विभागमा स्वीकृतिका लागि पठाइएको छ । छिट्टै ठेक्का सम्झौता हुने चरणमा छ । जाइकाले निर्माण गर्ने खण्डबाहेकका अन्य क्षेत्रमा सरकारले दसैँअघि नै ठेक्का लगाइसकेको थियो ।
एउटा खण्ड जापानले निर्माण गर्ने
क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि करिब २९.५ किलोमिटर सडकमध्ये तीन खण्डको ठेक्का लागिसकेको छ भने एक खण्ड जाइकाले निर्माण गर्नेछ । साढे २ किलोमिटर सडक ठेक्का लाग्न बाँकी रहेको ठेक्का सम्झौता हुने तयारी भइरहेको छ ।
नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण गर्ने गरी सडक डिभिजन खाल्टेले खरिढुंगा/घिसिङ/क्षितिज जेभीसँग ठेक्का सम्झौता गरेको छ ।
यस्तै बर्खेखोलादेखि पिप्लेसम्म ३.२ किलोमिटर सडक जाइकाले पुनर्निर्माणको जिम्मा लिइएको छ । यसखण्डको पुनर्निर्माणका लागि २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान दिने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । पिप्लेदेखि डालाबेँसीसम्म २.३० किलोमिटर सडक ठेक्का लगाउने सम्झौता हुने तयारी भएको छ । यो खण्डको लागत करिब १ अर्ब २१ करोड लाग्ने अनुमान गरिएको छ ।
-(11)_qTQcWMpFUK.jpg)
यसैगरी डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड निर्माण गर्न खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का पाएको छ । साथै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीले ठेक्का पाएको छ । यो सडक खण्ड पुनर्निर्माणका लागि १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
क्षतिग्रस्त खण्डको स्थायी पुनर्निर्माणका दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का प्रक्रिया अघि बढाइएको छ । साथै यस खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड (साढे आठ अर्ब) रुपैयाँ स्रोत सहमति दिइएको छ । जसमध्ये बीपी राजमार्गको काभ्रे खण्डलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुली खण्डलाई १ अर्ब रुपैयाँ बराबरको स्रोत सहमति दिइएको हो ।
१६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास बीपी राजमार्ग जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा नै निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग सन् २०१५ मा सम्पन्न भएको थियो । जसको लागत २६ अर्ब येन बराबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण