शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : मुख्यसचिवसँग सोधपुछदेखि माओवादी घटकमा त्रिपक्षीय भिडन्तसम्म

बिहीबार, ०४ मङ्सिर २०८२, २२ : ००
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । आज मिति २०८२ साल मंसिर महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. एमाले बैठक

नेकपा एमालेको सचिवालय बैठकले ११ औ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ । त्यसबाहेक एमालेले यसअघि तय गरेको प्रतिनिधि चयनको मापदण्डमा केही फेरबदल गरेको छ ।

२. मुख्यसचिवसँग सोधपुछ

मुख्यसचिव एकनारायण अर्यालसँग उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछ गरेको छ । बिहीबार सिंहदरबार स्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।

३. माओवादी घटकमा त्रिपक्षीय भिडन्त

जेनजी विद्रोहपछि राजनीतिक दल अदलबदल, गठन र विघटनको प्रक्रिया तीव्र गतिमा बढेको छ । दल गठन र विघटनको प्रभाव जनयुद्धको विरासत बोकेको माओवादी घटकमा पनि देखियो ।

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबिच बिहीबार भेटवार्ता भएको छ।

४. बारा अपडेट

बाराको सिमरामा जेनजी प्रदर्शनकारीले कफ्र्यु अवज्ञा गर्दै बिहीबार दिउँसो सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ, जहाँ एक राउन्ड हवाई फायर गरिएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई जानकारी दिए ।

५. अदालत

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति आफैँमा असंवैधानिक भएकाले कार्कीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस पनि स्वतः अमान्य हुने सर्वोच्च अदालतलाई जवाफ दिएका छन् ।

‘नेपालको संविधानले असंवैधानिक रूपमा पदमा पुगेको व्यक्तिद्वारा गरिने कुनै पनि कार्यलाई वैधानिक मान्यता दिन सक्दैन’, सभामुखले विघटनसम्बन्धी रिटमा सर्वोच्चलाई दिएको लिखित जवाफमा भनिएको छ ।

६. एकता प्रक्रिया

नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकीकरण अन्तिम चरणमा पुगेको छ । बिहीबार पेरिसडाँडामा भएको पार्टीहरूको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

७. क्रिकेट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो दुई अंक जोडेको छ ।

८. फोहोर विवाद

सरकार र बञ्चरे डाँडाका स्थानीयहरूबिच ११ बुँदे सहमति भएको छ । बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबिचको छलफल ११ बुँदे सहमतिसहित टुङ्गिएको हो ।

९. परिषद् बैठक

सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 

१०. सेयर बजार

साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य घटेको छ । बजार परिसूचक ०.९३ अङ्क घटेर नेप्से २५६०.१५ अङ्कमा झरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप