बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

चुनावमा हुनेछ माओवादी घटकबिच त्रिपक्षीय भिडन्त

बिहीबार, ०४ मङ्सिर २०८२, २० : ००
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । जेनजी विद्रोहपछि राजनीतिक दल अदलबदल, गठन र विघटनको प्रक्रिया तीव्र गतिमा बढेको छ । दल गठन र विघटनको प्रभाव जनयुद्धको विरासत बोकेको माओवादी घटकमा पनि देखियो ।

शान्ति प्रक्रियामा आएपछि २०६४ देखि २०७९ सम्म लगातार निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी लगायत १२ वाम घटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनायो । नेकपाको संयोजक अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । तर रुकुम–पश्चिममा माओवादीबाट अपराजित रहेका जनार्दन शर्मा नेकपा गठनप्रति असहमति जनाउँदै पार्टीबाट अलग भए । 

युद्धदेखि शान्ति मोर्चासम्म प्रचण्डलाई बलियो साथ दिएका शर्माले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विद्रोह गरेका सन्तोष परियार लगायतका समूहसँग मिलेर मंसिर ७ गते नयाँ पार्टी घोषणा गर्दैछन् । प्रगतिशील राष्ट्रिय अभियान चलाएका शर्मालाई पूर्वमाओवादीका सचिवालय सदस्य राम कार्की, पूर्वमन्त्री सुदन किराती लगायतका नेताले साथ दिएका छन् ।

२०७० सालयता हरेक निर्वाचन बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलो पटक निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । कम्युनिस्ट पार्टी नेपालको नामबाट आयोगमा निवेदन दिएका उनले अन्ततः जनयुद्धकालीन पार्टी नेकपा (माओवादी) नामको दलबाट चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

२०५२ देखि २०६२ सालसम्म प्रचण्ड नेतृत्वको नेकपा (माओवादी)ले तत्कालीन शाही राज्यसत्ता विरुद्ध सशस्त्र विद्रोह गरेको थियो । सोही पार्टीले २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट गरी कुल २२० सिट जित्यो । २०६५ सालमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकताकेन्द्र मशालसँग एकता भएपछि एकीकृत नेकपा माओवादी बन्यो । त्यसयता नेकपा (माओवादी) ‘फ्रिज’ अवस्थामा थियो । प्रचण्डले २०७४ सालमा नेकपा संयुक्त र मोहन वैद्य ‘किरण’बाट अलग भएका समूहलाई मिलाएर नेकपा माओवादी केन्द्र बनाएका थिए ।

संसद्मा माओवादीको तीन भुल्का

नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्ध थालनी गर्दा १९ जना केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु भएको ३० वर्ष पूरा भएको छ । सरकार र विद्रोही माओवादीबिच शान्ति सम्झौतामा हस्ताक्षर भएको पनि १९ वर्ष पूरा भएको छ । यस बिचमा माओवादी १२ भन्दा बढी गुट–उपगुट र समूहमा विभाजन भइसकेको छ । आगामी फागुन २१ मा हुने संसदीय निर्वाचनमा माओवादीबाट प्रचण्ड, विप्लव र बाबुराम नेतृत्वको तीन घटकले प्रतिस्पर्धा गर्ने देखिन्छ ।

२०६४ देखि लगातार माओवादीको मूल नेतृत्व हाल नेकपामा सक्रिय छ । शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गरेको साबिक माओवादी केन्द्रले २०७९ सालको आवधिक निर्वाचनमा जम्मा ३२ सिट जितेर संसदमा तेस्रो स्थान कायमै राखेको थियो । जेनजी विद्रोहपछि नेपालको राजनीति नै उथलपुथल भएपछि प्रचण्डले वामपन्थी एकता र ध्रुवीकरणलाई जारी राखेका छन् ।

यसअघि १२ वटा वाम दलसँग एकता गरेका उनले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग पनि एकता गर्ने तयारी गरेका छन् । एकताका लागि बिहीबार निर्णायक वार्ता हुने नेताहरूले बताएका छन् । संसदीय राजनीतिमा एकपछि अर्को धक्का खाँदै आएका प्रचण्डले वामपन्थी एकता र ध्रुवीकरणबाट फेरि शक्ति आर्जन गर्ने दाउमा देखिन्छन् । 

एकता प्रक्रियाबाट अलग भएका जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियानमार्फत् देशव्यापी संगठन निर्माणमा सक्रिय छन् । मंसिर ७ गते नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेका उनले कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेसपा(नयाँ शक्ति) र सन्तोष परियार समूहसँग सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

शर्माले एकीकृत समाजवादीबाट अलग भएका घनश्याम भुसाल र विप्लवसँग पनि एकताको प्रयास गरेका थिए । तर विप्लवले नेकपा माओवादी ब्युँताइसकेकाले एकताको सम्भावना टरेको छ ।

२०७४ सालमा भएको निर्वाचनमा नयाँ शक्तिबाट निर्वाचित भएका भट्टराईले २०७९ सालको निर्वाचनमा आफूले जित्दै आएको गोरखा–२ निर्वाचन क्षेत्र प्रचण्डलाई छोडेका थिए । चुनावी सहकार्यदेखि पार्टी एकतासम्म सहमति गरेका भट्टराई अन्ततः एकता प्रक्रियाबाट अलग भए । जेनजी विद्रोहपछि नेसपा नयाँ शक्तिको अध्यक्षबाट राजीनामा दिएका भट्टराई वैकल्पिक शक्तिसँग अलाइन्स बनाउन सक्रिय छन् । पार्टीको कार्यकारी भूमिकामा नरहने घोषणा गरेका उनले आगामी निर्वाचनमा भाग लिने बताएका छन् । भट्टराई र शर्मा संरक्षकको भूमिकामा रहने गरी युवाको नेतृत्वमा पार्टी निर्माण प्रक्रिया अघि बढाइएको छ ।

यता २०७० सालदेखि संसदीय निर्वाचन बहिष्कार गरेका विप्लव आगामी निर्वाचनमा भाग लिने गरी देशव्यापी अभियान सञ्चालन गर्ने तयारीमा छन् । मंगलबार आयोग पुगेर दल दर्ता प्रमाणपत्र लिएका उनले प्रचण्ड नेतृत्वको नेकपासँग सहकार्य नहुने बताएका छन् । अबको निर्वाचनमा नेकपा एमालेसँग चुनावी सहकार्य हुनसक्ने उनले संकेत गरेका छन् ।

माओवादीसँग एकता प्रयास सफल नभएपछि विप्लव निर्वाचनको मैदानबाट प्रचण्डलाई जवाफ दिने रणनीतिमा छन् । उनी २०६९ सालमा माओवादी विभाजन हुँदा किरण समूहमा लागेका थिए । उनले २०७१ सालमा किरण समूहबाट विद्रोह गरी एकीकृत जनक्रान्ति सञ्चालन गरे, तर २०७४ सालमा ओली नेतृत्वको सरकारले दलमाथि प्रतिबन्ध लगाएपछि उनी भूमिगत भए ।

भूमिगत युद्धमा पार्टीलाई ठुलो धक्का लागेपछि २०७७ साल फागुनमा सरकारसँग तीनबुँदे सहमति गरी विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किए । त्यसयता उत्पादन र जनक्रान्तिलाई सँगसँगै अगाडि बढाएका उनले पहिलोपटक संसदीय राजनीतिमा भाग लिन लागेका हुन् ।

यीबाहेक २०७९ सालको निर्वाचनमा एमालेबाट विद्रोह गरेका प्रभु साहले रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । उनले आफ्नो नेतृत्वमा आम जनता पार्टी गठन गरिसकेका छन् ।

यस्तै, माओवादीबाट अलग भएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायत नेताहरू एमालेमै विलय भएका छन् । २०७९ को निर्वाचनमा एमालेबाट रायमाझीले मात्र जितेका थिए ।

जनयुद्धका सुरुवाती केन्द्रीय नेता तितरबितर

जनयुद्धका सुरुवाती नेतामध्ये अहिले नेकपामा प्रचण्डसहित हरिबोल गजुरेल, मातृका यादव, अग्निप्रसाद सापकोटा, देव गुरुङ र पम्फा भुसाल मात्र छन् ।

२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरिसकेपछि माओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले नयाँ शक्ति अभियान चलाइराखेका छन् । उनीसँग जनयुद्धका सुरुवातकालीन अन्य नेता छैनन् ।

२०६९ साल असारमा माओवादीबाट अलग भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीमा मोहन वैद्य ‘किरण’ सहित सीपी गजुरेल, हरिभक्त कँडेल, दिनेश शर्मा छन् । रामबहादुर थापा ‘बादल’ एमालेमा विलय भएका छन् । एमालेमै रहेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन् ।

२०७८ सालसम्म माओवादी केन्द्रमै सक्रिय रहेका चितवनका फणीन्द्र आचार्य अहिले निष्क्रिय छन् । लोकेन्द्र विष्ट पार्टी छोडेर खेती किसानीमा व्यस्त छन् भने नारायण शर्माले छुट्टै समूह बनाएका छन् । यानप्रसाद गौतम ‘आलोक’ युद्धकालमै मारिए । युद्धकै दौरानमा दण्डपाणि न्यौपाने बेपत्ता छन् । पोष्टबहादुर बोगटीको निधन भइसकेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले केपी ओली नेतृत्वको गठबन्धन सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता आह्वान गरेको छ । 

युद्धको बेला एकजना मात्र जीवित रहे पनि वर्गीय मुक्तिको झण्डा उठाउने प्रण गरेका माओवादी उच्च नेताहरू अन्ततोगत्वा संसदीय राजनीतिमा आमनेसामने भिड्ने तयारीमा जुटेका छन् । यद्यपि माओवादी सहिद, बेपत्ता, घाइते तथा अपाङ्गता परिवारहरूले पार्टी विघटन भएकोमा असन्तुष्टि पोखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप