शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
दोस्रो दिन पनि सिमरा क्षेत्र अशान्त : अहिलेसम्म के–के भयो ?
LIVE UPDATES

LIVE UPDATES : दोस्रो दिन पनि सिमरा क्षेत्र अशान्त : अहिलेसम्म के–के भयो ?

बिहीबार, ०४ मङ्सिर २०८२, १८ : ०२
Live

काठमाडौँ । जेनजी समूहले एमालेका नेता महेश बस्नेतलगायतलाई अवरोध गर्न खोज्दा भएको विवादका कारण बिहीबारदेखि सुरु भएको बारोको सिमरा क्षेत्रमा उत्पन्न तनाव अझै शान्त हुन सकेको छैन । 

यससम्बन्धी सबै अपडेट यहाँबाट हेर्नुहोस्: 

सिमरा झडपमा किटानी जाहेरी परेका साह पक्राउ

बारा । गत बुधबार जितपुरसिमरा उपमहानगरपालिका–२ को सिमराचोकमा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच भएको झडपमा संलग्न रहेको आरोपमा बारा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साह रहेका बाराका एसपी सन्तोष तामाङले जानकारी दिए । साहलाई बिहीबार राति ८ बजे पक्राउ गरिएको हो ।

यी तिनै व्यक्ति हुन् । जसलाई पक्राउ गर्नुपर्ने भन्दै देशभरका जेनजी युवाहरूले सामाजिक सञ्जालमा फोटो राखेर भाइरल बनाएका थिए । उनी एमालेका कार्यकर्ता रहेको खुलेको छ । साह यसअघि नेकपा एसमा आबद्ध थिए । उनीमाथि पटक–पटक पक्राउ पुर्जी जारी हुने गरेको थियो भने आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका थिए । 

बारा घटना : वार्ताका लागि खेलकुदमन्त्रीसहित जेनजी अगुवा सिमरा जाँदै

काठमाडौँ । बुधबारदेखि बाराको सिमरामा उत्पन्न विवाद समाधान गर्नका लागि खेलकुद मन्त्री बब्लु गुप्तासहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादव  सिमरा जाँदैछन् ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो ।  एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए । 

सिमरा जेनजी प्रदर्शन : मालवाहक र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर अलपत्र

बारा । सिमरामा जेनजी आन्दोलनका कारण यातायात क्षेत्र ठप्प भएपछि मालवाहक सवारीसाधन र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू घण्टौंदेखि बाटोमा अलपत्र परेका छन् ।

वीरगञ्ज भन्सारबाट छुटेका मालवाहक सवारी साधन र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू पथलैया–परवानीपुर सडकखण्डमा बिहानदेखि अलपत्र परेका हुन् । भन्सारबाट दैनिक ५ सयभन्दा धेरै ट्रक र ट्यांकरहरू छुट्ने गर्दछन् । 

हेटौँडा उपमहानगर–१९ का दिपक थापाले जेनजी आन्दोलनका कारण बाटो अवरुद्ध हुँदा ३ घण्टादेखि जाममा परेको बताएका छन् । ‘हिजो २ घण्टा जाममा परेँ, आज ३ घण्टादेखि जाममा छु, कतिबजे खुल्ने हो थाहा छैन,’ थापाले भने, ‘हामी दुःख गरेर खाने जनताहरूलाई पीडा भएको छ, देश लुटेर खाने नेताहरूलाई आनन्द छ, हामी बाटो कति बेला खुल्छ र जाउँ भनेर बसेका छौँ ।’

सिमरामा कर्फ्यु अवज्ञाः तीन सेल अश्रुग्यास प्रहार, एक राउन्ड हवाई फायर

काठमाडौँ । बाराको सिमरामा जेनजी प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै सड्कमा प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ, जहाँ एक राउन्ड हवाई फायर गरिएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई जानकारी दिए । 

प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । जेनजी प्रदर्शनकारीले आफ्ना युवालाई कुटपिट गर्नेहरूलाई नियन्त्रणमा लिन माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

उनीहरूले ९ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । यस क्रममा प्रहरीले भने दुई वडाध्यक्षलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन् । 

जेनजी बलिदानको उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थाले : जनार्दन शर्मा

काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले पुराना दलहरू जेनजी बलिदानको उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा केन्द्रीकृत हुन थालेको बताएका छन् । 

२०७९ साल मंसिर ४ गते पाँच वर्षको निम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेको तीन वर्ष पूरा भएको अवसरमा बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । 

शर्माले दलहरूमा पहिले देखिनै सुशासन र विकासको पक्षमा एवं भ्रष्टाचारको विरुद्धमा सङ्घर्ष गर्दै आएका नेताहरूले दलभित्र विद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरूसँग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न गरिरहेको बताए । 

बारा घटनाबारे प्रचण्डले भने– उच्च संयमता अपनाऔँ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बिहीबार संयोजक प्रचण्डले स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन अनुरोध गरेका छन् ।

‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन’, प्रचण्डले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै  राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिँड्डुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

निराशावादी राजनीति अब स्विकार्दैनौँ : रिमा विश्वकर्मा

काठमाडौँ । कलाकार रिमा विश्वकर्माले निराशावादी राजनीति नस्विकार्ने बताएकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कलाकार विश्वकर्माले पुराना राजनीतिक दलहरूप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् ।  

देशमा देश प्रेमी युवा अझै बाँकी नै रहेको बताउँदै उनले भनिन्,'जेनजी आन्दोलन भ्रष्ट नेतृत्वविरुद्ध उठेको चेतनाको बिगुल थियो। तिमीहरूले गर्ने निराशावादी राजनीति अब हामी स्विकार्दैनौँ । नो नट अगेन' 

सिमरा विमानस्थल शान्तिपूर्ण रूपमा सञ्चालन

बारा । जेनजी आन्दोलनका क्रममा बुधवार दिनभर बन्द रहेको सिमरा विमानस्थलमा आज शान्तिपूर्ण ढंगले सञ्चालन आएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले आज बिहानदेखि नै सबै उडान भइरहेको बताएका हुन् ।

बुधवार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो ।  एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए । 

‘आज हामीले सबै सुरक्षा निकायसँग समन्वय गर्दा विमानस्थलमा खासै त्यस्तो गतिविधि नहुने सङ्केत पाएपछि थप सुरक्षा बल प्रयोग  गरेर हवाई उडान अवतरण गरेका हौँ’ सिमरा विमानस्थल प्रमुख अधिकारीले भने– ‘दिउँसो २ः ३० बजेसम्म तेस्रो उडान भइसकेको छ ।’

शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन, अधिकारको सम्मान गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाबारे ध्यानाकर्षण भएको भन्दै सरकार र सरोकारवालाहरूलाई निर्देशन दिएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता, सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ :‘सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन तथा जनधनको क्षति हुन नदिन साथै परिस्थिति थप बिग्रन नदिन आज मिति २०८२ मङ्सिर ४ गते दिउँसो १ः०० बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।’

बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ ।  नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ ।

युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।

1-Bara_Simara_2025

जेनजी आन्दोलनका कारण सिमराका विद्यालय बन्द

बारा । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबिच बुधबार भएको झडपका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार बन्द भएको छ ।

शान्तिसुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गरिएको हो । सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालले सिमरा विमानस्थलमा बुधबार भएको आन्दोलनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसले आसपासका विद्यालयका विद्यार्थीलाई असर परेको बताए ।

‘आन्दोलनको क्रममा प्रहरीले विचार नपुर्‍याइ अश्रुग्याँस प्रहार गर्दा हाम्रा विद्यार्थीलाई धेरै गाह्रो भयो,’ उनले भने, केही विद्यार्थी बेहोस पनि भए ।’

सिमरा घटनाले देखाएको जोखिमपूर्ण राजनीतिक वातावरण

बुधबार बाराको सिमरामा एकाएक तनाव, झडप र कर्फ्युको अवस्था निम्तियो । नेकपा एमालेका नेता महेश बस्नेत लगायतको पूर्वनिर्धारित राजनीतिक कार्यक्रमलाई लक्षित गरी ‘जेनजी’ प्रदर्शनकारीहरूले गरेको विरोधले उग्र रूप लिँदा उक्त क्षेत्र नै अस्तव्यस्त मात्रै बन्न पुगेको केन्द्रीय राजनीतिमा समेत हलचलको स्थिति बनेको छ । 

 विमानस्थल क्षेत्रमा प्रहरीसँग झडप, अश्रुग्यास प्रहार र अन्ततः कर्फ्युको घोषणा जस्तो घटनाक्रम केवल एक ठाउँको शान्ति सुरक्षाको मामिला मात्र होइनन्, यो देशको वर्तमान तरल राजनीतिको एउटा प्रतिबिम्ब पनि हो। 

लोकतन्त्रमा हरेक राजनीतिक दललाई देशको कुनै पनि भूभागमा आफ्ना शान्तिपूर्ण कार्यक्रम गर्न पाउने नैसर्गिक अधिकार हुन्छ। त्यसैगरी, कुनै पनि विचार वा व्यक्तिप्रति असहमति राख्ने र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार पनि नागरिकमा सुरक्षित हुन्छ। तर, सिमरामा यी दुवै अधिकारको अभ्यासमा गम्भीरता देखिएन, बरु एकअर्कालाई निषेध गर्ने अराजक प्रवृत्ति हाबी भयो। तर यहाँनेर बुझ्नपर्ने के विषय के हाे भने अहिलेको तरल स्थितिमा सबैपक्ष संयम बन्नुपर्नेमा त्यसतर्फ ध्यान पुगेको देखिएन। 

सिमरा विमानस्थलको गेट तोडफोड, अश्रुग्यास प्रहार

काठमाडौँ । बारास्थित सिमरा विमानस्थलको गेट तोडफोड गरिएको छ । बाराको परवानीपुरमा आयोजना गरिएको एमाले प्रदेश जागरण कार्यक्रममा एमाले नेताहरू सहभागी हुने जानकारी पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न बुधबार सिमरा विमानस्थल बाहिर प्रदर्शन गरेका थिए । सो क्रममा विमानस्थलको बाहिरको गेट समेत तोडफोड गरिएको छ ।

प्रदर्शनकारी रोक्न प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सुरक्षा जोखिम रोक्न कर्फ्यु आदेश समेत जारी गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको केहि क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजी युवा र एमाले कार्यकर्ताबिच झडप भएपछि सिमरा विमानस्थल आसपास क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरिएको बारा प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया