जैविक तटबन्धले जमिन कटान रोकियो
सारांश
- बाँके, बर्दिया र कञ्चनपुरका किसानहरू जैविक तटबन्ध निर्माण भएपछि बाढी र कटानबाट लाभान्वित भएका छन्।
- बर्दियाको बंगालीपुर र कञ्चनपुरको तिल्कीमा जैविक तटबन्ध निर्माणले गाउँलाई डुबानबाट जोगाएको छ र खेतीयोग्य जमिनको संरक्षण गरेको छ।
- स्थानीय सरकारहरूले पनि जैविक तटबन्ध निर्माणमा बजेट विनियोजन गर्न थालेका छन्, जसले तटीय क्षेत्रमा बसोबास गर्नेहरूको जीवनमा सुधार ल्याएको छ।
बाँके । नदी छेउमा बनाइएका जैविक तटबन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रमा बसोबास गर्ने किसान लाभान्वित भएका छन् । पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरूका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्छन् । त्यस्तै बाढीको अत्यधिक जोखिममा पर्ने स्थान मध्य एक हो बर्दियाको मधुवन नगरपालिका वडा नं. २ को बंगालीपुर गाउँ ।
बंगालीपुरस्थित समुदायस्तरिय विपद् व्यवस्थापन समितिको सक्रियतामा औराही नदीको तटीय क्षेत्रमा २ सय २० मिटर लामो जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणपछि स्थानीयवासीले सुरक्षित महसुस गरेका छन् । खोज तथा उद्धार समिति बंगालीपुरका संयोजक गीता थारुकाअनुसार त्यस्ता तटबन्धले कटान रोक्ने मात्रै नभई धेरै कृषि उत्पादनहरू सुरक्षित भएको र केही स्थानमा बाढी आउन समेत रोकिएको बताइन् । उनले भनिन् ‘पहिले हाम्रो गाउँसम्म बाढी पस्थ्यो, धान पनि डुबाउँथ्यो, बगाउँथ्यो । धेरै खेतीयोग्य जमिनहरू नदीले काटेर लग्यो । अहिले तटबन्ध बनाएपछि भने बाढी आउन रोकिएको छ, गाउँ पनि सुरक्षित भएको छ ।’
बंगालीपुर हुँदै बग्ने औराही खोलामा आउने बाढीले गाउँ नै डुबानमा पर्थ्यो । खेतको अन्न तथा तरकारीबालीको साथै सञ्चित खाद्यान्नमा पनि नोक्शान गर्थ्यो । बस्तीमा पानी पसेपछि स्थानीयहरू घर छोड्न बाध्य हुन्थे । पशु चौपाया र बालबच्चा लिएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता अहिले छैन । बंगालीपुरका चौकीदार लक्ष्मीराम थारु जैविक तटबन्ध बनेपछि बाढीको त्रास हटेकोमा खुसी छन् ।
विक्रम संवत २०७२ मा बाढी उत्थानशील कार्यक्रममार्फत प्राक्टिकल एक्शनको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट जैविक तटबन्ध निर्माण भएपछि २ सय १५ घरधुरी डुबानबाट जोगिएका छन् । स्थानीयतहमा उपलब्ध साधन स्रोत बाँस, बालुवा भरिएको बोरा, डोरी, तार जस्ता सामग्रीबाट २ सय २० मिटर जैविक तटबन्ध निर्माण गरिएको थियो । तटवन्धपछि अहिले खोलाको बाढी गाउँ पस्न रोकिएको छ । किन कि अब बाढी आयो भनेर बालबच्चा च्यापेर भाग्नुपर्ने अवस्था छैन ।
बाँस र रुख रोपिएकाले रुखका जराले तटबन्ध बलियो बनाएको छ । तटबन्ध निर्माण भएको १० वर्ष बितिसक्दा तटबन्धले प्राकृतिक स्वरुप लिएकाले बलियो र मजबुत छ । खोलाले कटान गर्न पाएको छैन । मधुवन नगरपालिका वडा नं. २ का अध्यक्ष आशाराम थारु अन्य जोखिम पूर्ण स्थानमा पनि जैविक तटबन्ध बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।
खोलामा पनि जैविक तटबन्ध निर्माण गरिएको छ । यस्तै कञ्चनपुरको शूल्काफाँटा नगरपालिका तिल्कीको दोदा नदीमा पनि जैविक तटबन्ध बनाइएको छ । तटबन्धले बाढी र कटान रोकेपछि वर्षौंदेखि बाँझो खेतमा तरकारी र अन्नखेती गर्न थालिएको छ ।
विक्रम संवत २०६५ मा दोदा नदीमा आएको बाढीबाट शुक्लाफाँटा नगरपालिका १२ तिल्कीका १२ परिवार र लालझाडीको सिंगो गाउँ नै विस्थापित भएको थियो । दोदा नदीमा हरेक वर्ष आउने बाढीले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी र पुनर्वासमा ठूलो क्षति पुर्याउँथ्यो । नदीले खेत कटान गर्दै गाउँसम्म पुगिसकेको थियो भने वरपरका जमिन पनि बाँझो थिए । प्राक्टिकल एक्शन र पेसवानको सहकार्यमा संचालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत तिल्की आसपास दोदा नदीमा चार सय मिटर जैविक तटबन्ध निर्माणपछि बाढी मात्रै रोकिएको छैन, वर्षौंदेखि बाँझो जमिन हराभरा देखिन थालेका छन् । यसले स्थानीय ८५ घर परिवारमा खुसी ल्याएको छ ।
शुक्लाफाँटा नगरपालिका १२, तिल्की कञ्चनपुरकी कलावतीदेवि डगौरा तटबन्ध बनेपछि खेती गर्न सहज भएको र बाढीले बगाइदिने डर पनि नभएको बताउँछिन् । उनले भनिन् ‘पहिला भन्दा सजिलो भएको छ । खोलाबाट पानी माथि फर्किन्थ्यो । बाढीले सबै बगाउँथ्यो । तटबन्ध पछि घाँस रोप्यौँ, बाँस रोप्यौ, चरिचरन पनि बन्द गर्यौँ । अहिले सरखण्ड, उखु, मास रोपेका छौँ । ’
नदी कटान रोकी क्षति न्यूनीकरण गर्न बाँस, बोरा, स्याउला, बालुवाको प्रयोग गरी जैविक तटवन्धन निर्माण गरिन्छ । समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका प्राविधिक सुपरीवेक्षक जनक लेखकले वातावरणमैत्री र स्थानीय स्रोतसाधन प्रयोगबाट निर्माण गरिने जैविक तटबन्ध कम खर्चिलो र धेरै प्रभावकारी रहेको बताए ।
पहिलो चरणमा परियोजनाबाट १० लाख ६८ हजार ४ सय र दोस्रो चरणमा १० लाख ५० हजार ३ सय गरी लगभग २१ लाख रुपैयाँ रकम खर्च गरिएको छ । ४ सय मिटर लामो जैविक तटबन्ध निर्माणमा स्थानीयवासीले १ लाख १० हजार बराबरको जनश्रमदान गरेका छन् । जैविक तटबन्धले ३० हेक्टर क्षेत्रफल जमिन कटान हुन बाट जोगिएको छ ।
तटबन्ध पछि तटीय क्षेत्रका स्थानीयले बगर छेउमा उखु, सखरखण्ड, बदाम लगायत कृषि तथा तरकारी लगाएर आयआर्जन गर्न थालेका छन् । तिल्कीको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव मंगलप्रसाद चौधरीले जोखिमपूर्ण स्थानमा जैविक तटबन्ध नै निर्माण गर्नुपर्ने सुझाव दिन्छन् ।
सानो लगानीमा प्रभावकारी नतिजा प्राप्त भएपछि स्थानीय सरकारले जैविक तटबन्ध निर्माणमा बजेट छुट्टाउन थालेका छन् । आफू मातहतका प्राविधिकको सुझावमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० ले पनि जोखिमपूर्ण स्थानमा जैविक तटबन्ध निर्माणको काम अघि बढाउने तयारी गरेको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवल सिंह राना भन्छन्—‘नगरपालिकाका प्राविधिकहरूले पनि यो प्रविधिलाइ राम्रो भन्नुभएको छ । हामीले आवश्यकताअनुसार शुक्लाफाँटा नगरपालिका भित्रका अन्य वडामा पनि जैविक तटबन्ध बनाउने तयारी गरेका छौँ । ’
बर्दियाको गुलरिया नगरपालिकास्थित बालापुरमा सबैभन्दा पहिले जैविक तटबन्ध निर्माण गरिएको थियो । यो तटबन्ध सफल अनि प्रभावकारी देखिएपछि जलवायु उत्थानशिलमा काम गर्दै आएका संघ संस्था र स्थानीय सरकारले चासो देखाइ बजेट छुट्टाउन थालेका छन् । अहिले राजापुर नगरपालिकाको राजापुरुवा मुक्तकमैया टोल, जानकी गाउँपालिकाको सातबिघा, बक्लहवा, फरेला, गेरुवा गाउँपालिकाको दक्षिणपुरमा पनि जैविक तटबन्ध बनाइएको छ । अहिले यी स्थानमा मनसुन तथा अन्य समयमा पानी पर्ने बित्तिकै नदी तटीय गाउँबस्ती डुबानमा पर्ने तथा स्थानीयको घर, कृषिबाली तथा भण्डारण गरिएको खाद्यान्नमा हुने क्षति रोकिएको छ ।
तटीय क्षेत्रका बासिन्दाले नदी किनार तथा बगरमा तरकारी तथा अन्नबाली लगाएर आयआर्जन पनि गर्न थालेका छन् । अहिले यस्ता जैविक तटबन्ध कञ्चनपुरको दोदा, राजापुर नगरपालिकाको बुढीखोला, बालापुर गुलरियााको बबई लगायत १२ भन्दा बढी समुदायमा निर्माण भइसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण