पुष्पराज श्रेष्ठ : गुण्डागर्दीबाट उदय, वाईसीएल हुँदै एमालेको भोलेन्टियर फोर्स कमाण्डर
सारांश
- एमालेको 'नेसनल भोलेन्टियर फोर्स'को कमाण्डरमा पुष्पराज श्रेष्ठ नियुक्त भएका छन्, जो गुण्डागर्दीबाट उदाएका व्यक्ति हुन्।
- श्रेष्ठमाथि ज्यान मार्ने उद्योग, अपहरण र सार्वजनिक मुद्दा लगायतका फौजदारी अभियोगहरू छन्।
- उनी गृहमन्त्री रामबहादुर थापासँग नजिक थिए, र हालै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट भएका छन्।
काठमाडौँ । नेकपा (एमाले)ले घोषणा गरेको ‘नेसनल भोलेन्टियर फोर्स’का कमाण्डर पुष्पराज श्रेष्ठ गुण्डागर्दीबाट उदाएका व्यक्ति हुन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भएका श्रेष्ठ एक समय सिन्धुलीमा चलेका गुण्डा थिए । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि गुण्डागर्दीमा संरक्षण खोज्दै श्रेष्ठ तत्कालीन नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।
२०७५ भदौमा प्रहरीले उनलाई काठमाडौँको रातोपुलबाट पक्राउ गरेको थियो । त्यसबेला उनको परिचय थियो,‘वाईसीएलको केन्द्रीय सदस्य ।’
ठेकेदारलाई धम्क्याएको आरोपमा उनलाई तत्कालीन अपराध महाशाखाको टोलीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । राजधानीमा घर निर्माणको काम गर्ने ठेकेदारलाई उनले पेस्तोल देखाएर ‘धम्क्याएको’ त्यसबेला उनीमाथि अनुसन्धान गरेका प्रहरी अधिकृतहरू बताउँछन् ।
२०७५ मा नेकपा (माओवादी) केन्द्र र नेकपा (एमाले) मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो । त्यसबेला पनि युवा सङ्घमा अटाएका श्रेष्ठ सिन्धुली जिल्लाको सह–इन्चार्ज भए ।
नेकपा फुटेपछि नेकपा (एमाले) तिर लागे । २०७५ सम्ममा नै उनले ४ वटा ज्यानमार्ने उद्योग, एउटा अपहरण र दुई वटा सार्वजनिक मुद्दामा सजाय भुक्तान गरिसकेका थिए ।
२०७७ मा श्रेष्ठ तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नजिक भए । ठेक्कापट्टा, असुली र गुण्डागर्दीमा संलग्न श्रेष्ठ त्यसबेला ‘बादल’को सचिवालयमा कार्यरत युवा सङ्घका तत्कालीन अगुवा कार्यकर्ता बिरु तामाङ मार्फत थापासँग नजिकिएको एमालेका कार्यकर्ताहरू बताउँछन् ।
पछिल्लो समय उनी नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट भएका हुन् ।
ओलीको उपस्थितिमा उनलाई आज बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजित समारोहमा नेता भानुभक्त ढकालले नेशनल भोलेन्टियर फोर्सको संयोजक घोषणा गरे । यसअघि श्रेष्ठ एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए ।
प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा उनीविरुद्ध ७ वटा फौजदारी मुद्दा चलेको देखिन्छ । श्रेष्ठले काठमाडौँमा बर्षैपिच्छे दसैँतिहारमा जुवाखाल चलाउने गरेको एमालेकै कार्यकर्ताहरू बताउँछन् ।
गत वर्ष उपत्यका प्रहरी कार्यालयको प्रमुख हुँदा नयाँ बानेश्वरमा उनले जुवाखाल सञ्चालन गरेको सुराक पाएपछि तत्कालीन उपत्यका प्रहरी प्रमुख दिपक थापाले छापा मार्न प्रहरी परिचालन गरेका थिए । तर, प्रहरी भित्रैबाट सूचना चुहिएपछि श्रेष्ठले जुवाखाल सारेको प्रहरी अधिकृतहरू बताउँछन् ।
उनको जुवा खेलाउने धन्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरीका एक जना नायव निरीक्षक र सिन्धुली घर भएका एक जना जवानले सघाउँदै आएका छन् ।
यस वर्षको दसैँ तिहारमा पनि उनले जुवाखाल सञ्चालन गरेको प्रहरीका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण