बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कर्णाली प्रदेश

शर्माको उपस्थिति बिनै बस्यो संसदीय दलको बैठक, के–के भयो निर्णय ?

शनिबार, ०६ मङ्सिर २०८२, २० : २६
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • कर्णाली प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठक प्रमुख सचेतकको अध्यक्षतामा बस्यो, नेताको अनुपस्थितिमा।
  • बैठकले पार्टी एकीकरण प्रक्रिया अगाडि बढाउने र संसदीय दललाई एउटै बनाउने निर्णय गर्यो।
  • दलका नेता राजकुमार शर्माको अवस्थाबारे बुझ्ने र उपयुक्त निर्णय लिने जिम्मेवारी तोकियो, सम्पर्क हुन सकेन।

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक शनिबार बसेको छ । संसदीय दलका नेता राजकुमार शर्मा भए पनि उनको उपस्थितिबिनै प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बैठक बसेको हो । 

राजकुमार नेता जनार्दन शर्मानिकट मानिन्छन् । शर्माले नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीसँगको एकता अस्वीकार गर्दै प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन् । यद्यपि राजकुमारले अहिलेसम्म अभियानमा भने लागेको घोषणा गरिसकेका छैनन् । 

बैठकको अध्यक्षता गरेका प्रमुख सचेतक जिसीले संसदीय दलका नेता शर्मा सम्पर्कमा नरहेकाले आफ्नो अध्यक्षतामा बैठक बसेको बताए । उनले पार्टी केन्द्र (नेपाली कम्युनिस्ट पार्टी) को निर्देशन अनुसार नै बैठक बसेको जानकारी दिए ।

उनका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल तथा निर्णयहरू गरिएका छन् । सबैभन्दा पहिला, संसदीय दल एकीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले रातोपाटीलाई बताए ।

कर्णालीमा एकीकृत समाजवादीका एक सांसद छन् । केन्द्रमा समाजवादी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएसँगै प्रदेशमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका संसदीय दललाई एकीकरण गरी एउटै ‘नेपाली कम्युनिस्ट पार्टी’ को संसदीय दल बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जिसीले बताए । यो प्रक्रिया पूरा भएपछि मात्रै प्रदेश सभा सचिवालयलाई जानकारी गराइने पनि उनको भनाइ छ ।

उनका अनुसार बैठकमा संसदीय दलका नेता राजकुमार शर्माको विषयमा छलफल भएको थियो । ‘उहाँले हालसम्म पार्टी परित्याग गरेको वा अन्य कुनै समूहमा आबद्ध भएको औपचारिक पुष्टि छैन,’ उनले भने, ‘यस्तो अवस्थामा उहाँको अवस्थाबारे समन्वय गरी बुझ्ने र आगामी दिनमा उपयुक्त निर्णय लिने जिम्मेवारी मलाई तोकिएको छ ।’

दलका नेता शर्मासँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि टेलिफोन नउठेको र सम्पर्क स्थापित हुन नसकेको जिसीको भनाइ छ । दल नेता शर्मा यतिबेला काठमाडौँमा छन् । बैठकमा सहभागी अर्का एक नेताले भने, ‘दल नेता कि एकताको पक्षमा आउनुप-यो होइन भने मार्ग प्रशस्त गर्नुपर्छ । बाटो यही हो । उहाँ एकताका बेलाका कार्यक्रमहरूमा पनि देखिनु भएन ।’

शर्मा निकट स्रोतले भने शर्मा सुर्खेत फर्किएपछि त्यो विषयमा छलफल हुने बताएको छ । प्रमुख सचेतक जिसीका अनुसार अब नेपाली कम्युनिस्ट पार्टीकै नाममा गतिविधि गर्नुपर्ने भएकाले माओवादीको नाममा शनिबार कै अन्तिम बैठक हुनसक्ने बताए । 

साथै, शनिवारको बैठकमा प्रदेश सरकारलाई हिउँदे अधिवेशन आह्वान गर्न ध्यानाकर्षण गराउने निर्णय भएको पनि सचेतक जिसीले बताए । 

‘अघिल्लो अधिवेशनयता प्रदेशको राजनीतिक परिस्थितिमा ठुलो फेरबदल आएको छ,’ उनले भने, ‘प्रदेश सरकारका कामकारबाहीबारे संसदको निगरानी आवश्यक देखिन्छ । त्यसैले तत्काल अधिवेशन बोलाउनुपर्नेमा बैठकमा जोड दिइएको छ ।’

बैठकमा तत्कालीन माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र तत्कालीन अध्यक्ष विमला केसी सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप