बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हर्ष’ मा सन्तान नहुँदाको पिडा मेरो पात्रले बोल्छ: वर्षा

सोमबार, ०८ मङ्सिर २०८२, ०४ : ५०
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • अभिनेत्री वर्षा राउतले फिल्म 'हर्ष' मा केन्द्रीय भूमिका निर्वाह गर्दैछिन्, जुन पारिवारिक कथामा आधारित छ।
  • वर्षाले फिल्ममा आफूले निर्वाह गरेको पात्रलाई दर्शकले तहगत रूपमा मूल्याङ्कन गर्ने अपेक्षा राखेकी छिन्।
  • 'हर्ष' मा वर्षा र खगेन्द्र लामिछानेको जोडी रहेको छ र यो फिल्म मंसिर १२ गते रिलिज हुँदैछ।

काठमाडौँ । ‘नाइँ नभन्नू ल ४’ बाट आफ्नो करियर सुरु गरेकी वर्षा राउत अहिले करियरको दस वर्षमा छिन् । यो अवधिमा उनी ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् ।

एकता पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’ मा उनले वंश परम्परा धान्नुपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार फिल्ममा देखिएकी वर्षा यो फिल्ममा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै फिल्मको केन्द्रीय पात्रका रूपमा देखा पाउन लागेकोमा उनी उत्साहित छिन् ।

यस्तो अवस्थामा दर्शकले आफूलाई तहगत रूपमा मूल्याङ्कन गर्ने उनी बताउँछिन् । ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ। दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला फिल्म भन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु,’ उनले भनिन् ।

उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ फिल्मबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्।  वर्षाले वास्तविक जीवनभन्दा अलग, आफूले निर्देशकले खोजेको चरित्रलाई पर्दामा उतारेको बताइन् ।

‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ। त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन। सन्तान हुँदा–नहुँदा त्यो पात्रले के–कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’ उनले भनिन्, ‘निर्देशकले दिएको इसेन्सअनुसार आफूलाई पात्रमा ढाल्ने कोसिस गरेकी छु ।’

कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि फिल्ममा जोडिएकी वर्षाले ‘हर्ष’ले दर्शकलाई खुसीको आँसु दिने बताइन् । उनका अनुसार यसलाई केवल रुवाउने फिल्म भनेर बुझ्न नहुने बताइन् ।

‘यसले पारिवारिक कथा पेस गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ । त्यसैले ‘रुवाउने मात्र हो कि’ भन्ने लागेको हुन सक्छ । तर त्यो होइन । यसले आँसु त झारिदिन्छ, तर हर्षका,’ उनले भनिन् ।

फिल्मका पात्रहरूसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी फिल्मप्रति आशावादी छिन् । पछिल्लो समय पारिवारिक फिल्ममा हेर्न दर्शक ठुलो सङ्ख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति ढुक्क छिन् ।

‘अहिले नेपाली फिल्मले एकदमै राम्रो गरिरहेका छन् । धेरैजसो सफल फिल्मले दर्शकलाई रुवाएको छ, मन छोएको छ । हाम्रो फिल्मले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’ उनले भनिन् ।

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्ममा वर्षालाई अभिनेता खगेन्द्र लामिछानेसँग जोडीको रूपमा देख्न सकिन्छ । वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । फिल्म मङ्सिर १२ गते नेपालभर रिलिज हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप