बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद्‍को निर्णय

सुमनराज अर्यालले ८ महिना हाँक्नेछन् कर्मचारीको नेतृत्व

सोमबार, ०८ मङ्सिर २०८२, १९ : ५३
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
  • वरियतामा दोस्रो नम्बरमा रहेका अर्याललाई ज्येष्ठताको आधारमा मुख्य सचिव नियुक्त गरिएको हो।
  • अर्यालले ८ महिना मात्रै कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन्, उनी २०८३ असार २६ गते अवकाशमा जानेछन्।

काठमाडौँ । सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको वरियताक्रममा दोस्रो नम्बरमा रहेका अर्याललाई २९औँ मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी पनि मुख्यसचिव एकनारायण अर्यालसँगै मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने भएकाले दोस्रो नम्बरका सचिव अर्याललाई वरियताका आधारमा मुख्यसचिव नियुक्त गरिएको हो ।  

मुख्यसचिव बढुवाबारे निजामती सेवा ऐन २०४९ को दफा ७५ को उपदफा २ (क) मा उल्लेख छ । जसमा लेखिएको छ, ‘राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गरी बढुवा गर्नेछ ।’ सरकारले ज्येष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा बढुवा गरेको हो । 

तर, अर्यालले ८ महिनामात्रै कर्मचारी प्रशासनको नेतृत्व लिनेछन् । प्रशासन सेवाको तथ्यांक समूहका अर्याल ५८ वर्षे उमेरहदका कारण २०८३ साल असार २६ गतेसम्म मात्रै मुख्यसचिव रहने भएका हुन् । 

उनले खुला प्रतिस्पर्धाबाट २०५३ मा शाखा अधिकृतमा नाम निकालेका थिए । यस्तै आन्तरिक प्रतिस्पर्धाबाट २०६६ मा उपसचिवमा बढुवा भएका उनले उपसचिव भएको एक वर्षमै २०६८ सालमा खुला प्रतिस्पर्धाबाटै सहसचिवमा नाम निकालेका थिए ।

यस्तै अर्याल २०७७ माघ १९ मा सचिवमा बढुवा भएका थिए । अर्यालले सचिवमा बढुवा भइसकेपछि कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिव भएर काम गरेका थिए । 

सुमनराज अर्याल २०८३ असार २६ गते अवकाशमा जाँदा तेस्रो नम्बरमा रहेकी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, चौथो नम्बरमा रहेका मधुसुदन बुर्लाकोटी र पाँचौ नम्बरमा रहेका कृष्णहरि पुष्कर कर्ण घर गइसकेका हुनेछन् ।

अर्यालपछि मुख्यसचिवको पालोमा ६ सचिवहरू दाबेदार रहन्छन् । त्यस्तो दौडमा गृहसचिव रामेश्वर दंगाल, लोक सेवा आयोगका सचिव किरणराज शर्मा तथा सचिवहरू हरि मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ र रविलाल पन्थ रहनेछन् । यी सबै एकैदिन सचिवमा बढुवा भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप