निर्वाचन आयोगमा देउवाको हस्ताक्षरले कांग्रेसभित्र विवाद
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शनिबार राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्यो ।
‘संवत् २०८२ साल माघ ११ (एघार) गते आइतबारको दिन हुने राष्ट्रियसभा सदस्य निर्वाचन र संवत् २०८२ साल फागुन २१ (एक्काइस) गते बिहीबारको दिन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ । सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ केन्द्रीय समिति बैठकको निर्णयमा लेखिएको छ ।
बैठकको त्यही निर्णयबमोजिम आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेल र सचिव प्रकाश शर्माले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरे । दल दर्ता गर्दा सभापतिको नाम शेरबहादुर देउवा र उनकै हस्ताक्षर प्रयोग गरिएपछि पार्टीभित्र विवाद सुरु भएको छ ।

कांग्रेसमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनमा सभापतिका रूपमा देउवाको हस्ताक्षर नहुने प्रतिक्रिया दिइसकेका छन् ।
महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमा निर्वाचन अगाडि नै पार्टी महाधिवेशन गरेर नयाँ नेतृत्वसहितको कार्यसमिति निर्वाचन आयोगमा अध्यावधिक गराउने र त्यही नेतृत्वले बाँडेको टिकटका आधारमा निर्वाचन लडिने लेखेका छन् ।
‘बिहानै धेरै साथीहरूले सोधिरहनुभएको छ, पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनेँ होइन । अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरबाट पार्टी चुनाव लड्छ,’ थापाले फेसबुकमा लेखेका छन् ।
_9g5RgDiHzz.jpg)
सभापति देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट अलग हुने सन्देश दिएका थिए । त्यसको डेढ महिना नबित्दै निर्वाचन आयोगमा निर्वाचनका लागि दल दर्ता गर्दा आफ्नै नाम र हस्ताक्षर पठाएर आफू राजनीतिबाट नबाहिरिएको सन्देश दिन खोजेका छन् । यसले उनलाई नेतृत्वबाट अलग गर्यौँ भनेर रमाइरहेका महामन्त्रीद्वय पुनः सशंकित बनेका छन् ।
अर्का महामन्त्री शर्माले सोमबार नै इलामको जिल्ला पार्टी कार्यालयमा निर्वाचन आयोगमा देउवाको नाम र हस्ताक्षर पठाउने कार्यको घुमाउरो पारामा विरोध गरेका छन् । दुई विकल्प दिएर निर्वाचनअघि देउवालाई हटाउने बाटो शर्माले देखाएका छन् ।
‘पहिलो विकल्प पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने । महाधिवेशन तयारी क्रममा केही दिन समय नपुग्न सक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ शर्माले भने, ‘दोस्रो विकल्प पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर सुवर्णशमशेर पथ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।‘
त्यो भनेको २०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने’, उनले अगाडि भने, ‘त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकीय भूमिकाले उचाइ पाउनेछ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन । तब २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ ।’
उनीहरूको यो भनाइको मंगलबार बिहानै केन्द्रीय सदस्य कल्याण गुरुङले विरोध गरेका छन् । वर्तमान सभापति देउवाकै हस्ताक्षरमा पार्टी निर्धक्क रूपमा निर्वाचनमा होमिने उनले बताएका छन् ।
गुरुङले लेखेका छन्, ‘पार्टीले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ । पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने सम्पूर्ण तयारीको काम सम्पन्न गर्नुपर्नेछ । पार्टी एकता कायम राख्नुछ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ । यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।’ गुरुङ तिनै नेता हुन्, जो पार्टीको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा भिडेका थिए ।
आयोगमा देउवाकै नाम पठाइएपछि त्यसअघि नियमित वा विशेष महाधिवेशन भएन भने निर्वाचनमा हस्ताक्षरबाट टिकट वितरण हुने निश्चित भएको छ । महाधिवेशन गरेर नयाँ नेतृत्व चुनियो र त्यसबारे आयोगमा अध्यावधिक भयो भने मात्रै देउवाको हस्ताक्षर परिवर्तन हुनेछ । त्यो महामन्त्री थापाले पनि स्वीकारेका छन् ।
‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ,’ थापाले लेखेका छन् ।
निर्वाचन आयोगमा सभापति देउवा र उनकै हस्ताक्षर पठाइएपछि संस्थापन पक्षले त्यसलाई गर्वका रूपमा लिएका छन् भने इतर समूह सशंकित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण