बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

बुधबार, १० मङ्सिर २०८२, १० : १३
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • रौतहटको फतुवा-विजयपुर नगरपालिकामा माइकको तार जोड्ने क्रममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।
  • २२ वर्षीय गणेश महतोलाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लगिएको थियो, तर बाटोमै उनको मृत्यु भयो।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ।

रौतहट । रौतहटको  फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा एक युवकको माइकमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मंगलवार राति करेन्ट लागेर गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब पौने १० बजेको समयमा रामबहादुर महतोका छोरा गणेश महतोले आफ्नै घरमा माइकको तार जडान गर्ने क्रममा अचानक विद्युत् प्रवाहमा परेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नेशनल हस्पिटल  विजयपुरमा उपचार गरिएपछि थप उपचारका लागि कोल्हवी बारातर्फ लगिएको थियो।

प्रहरीलाई घटना सम्बन्धी जानकारी प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी टोली स्थानीय अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए।

तर, कोल्हवी लैजाने क्रममा बाटैमा महतोको मृत्यु भएको अस्पतालले राति ११ बजेर ५५ मिनेटमा प्रहरीलाई जानकारी गराएको प्रवक्ता बस्यालले पुष्टि गरेका छन्।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप