बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न

बुधबार, १० मङ्सिर २०८२, ११ : २३
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भयो, जसमा राम र जानकीको विवाह भयो।
  • राममन्दिरका महन्थ रामगिरीले राजा दशरथ र जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णवले राजा जनकको भूमिका निर्वाह गरे।
  • स्वयंवरमा हजारौं श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो, जसमा जानकी र राम मन्दिरका डोलाहरू सहभागी थिए।

जनकपुरधाम । जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मङ्गलवार राति भगवान राम जानकीको विवाह सम्पन्न भएसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । राम जानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न भएको छ । 

वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भूमिका निर्वाह गरेका थिए । महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए । 

वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधु सन्त, जनकपुरधामका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहेको थियो । यसअघि विवाह पञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर सम्पन्न भएको थियो । राम जानकीको स्वयम्वर हेर्नका लागि श्रद्धालुहरूको जनसागर नै उर्लिएको देखियो । 

स्वयम्वरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो । 

जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राममन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए । 

दुवै मन्दिरका डोलासँग साधु सन्तहरूसँगै हजारौँ श्रद्धालुहरूको पनि पनि सहभागिता थियो । स्वयम्वरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरूले राम मन्दिरका डोलालाई विशेष पूजा गरेका छन् । पूजापछि रामको डोलालाई जानकीको डोलाले सात पटक परिक्रमा गरेको थियो । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप