जाँचबुझ आयोगले कमान्डर र दर्जागत विवरण माग्दा सेनाले नफ्रीमात्रै खुलायो
सारांश
- उच्चस्तरीय जाँचबुझ आयोगले सेनासँग जेनजी प्रदर्शनबारे विवरण माग गर्दा सैनिक मुख्यालयले नदिएको पाइएको छ।
- आयोगले भदौ २४ मा आगजनी र लुटपाट हुँदा सैनिक परिचालनको विवरण खोजेको थियो, तर सेनाले संख्या मात्रै खुलायो।
- आयोगले तत्कालीन मुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको छ र गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन भइरहेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले सेनासँग मागेको यकिन विवरण सैनिक मुख्यालयले नदिएको पाइएको छ । भदौ २४ मा आगजनी र लुटपाट हुँदा सिंहदरबार, राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्रीको निवास र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कति संख्यामा कसको कमाण्डमा सैनिक परिचालित थिए भन्नेबारे आयोगले विवरण खोजेको थियो ।
तर, जङ्गी अड्डाले त्यसदिन महत्त्वपूर्ण प्रतिष्ठानमा परिचालित सैनिकको नफ्री संख्यामात्रै खुलाएर पठाएको उच्चस्तरीय जाँचबुझ आयोगका एक जना पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार आयोगलाई सेनाले पठाएको जबाफमा त्यसदिन कति संख्यामा सेना खटिएका थिए भन्ने विवरणमात्रै छ ।
कुन–कुन ठाउँमा को कमान्डर थिए भन्ने विवरणचाहिँ सेनाले खुलाएको छैन । आयोगका एक जना पदाधिकारीले भने, ‘बयान लिनुपर्ने हुनाले हामीले कुन तहको कमान्डर कहाँ थिए भन्नेबारे खुलाउन भनेका थियौँ तर, सेनाले नफ्रीमात्रै खुलाएर पठाएको छ ।’
कमान्डर र दर्जागत विवरण नदिएकोबारे सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले आवश्यक विवरण पठाइएको र आयोगसँग पनि निरन्तर समन्वयमा रहेको जानकारी दिए ।
आयोगलाई कुनै विवरण अपुग भएमा सेनाले उपलब्ध गराउने बस्नेतको भनाइ छ । उनले भने, ‘हामी निरन्तर समन्वयमै छौँ ।’
आयोगलाई सेनाले पठाएको विवरणमा भदौ २४ मा आगजनी र लुटपाट हुँदा सिंहदरबार, राष्ट्रपति भवन र विमानस्थल लागायत महत्त्वपूर्ण प्रतिष्ठानमा सेना कति संख्यामा थिए भन्नेमात्र खुलाइएको छ । आयोगका एक जना पदाधिकारीले भने, ‘सेनाले दर्जागत विवरण दिन खोजेको जस्तो देखिएन ।’
आयोगले तत्कालीन मुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको छ । मंसिर ४ मा आयोगले अर्यालसँग सोधपुछ गरेको हो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जानेगरी गोली चलाउने काम कानुनसम्मत भए–नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ । आसोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।
आयोगले राष्ट्रिय अनुसन्धान विधागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ । सशस्त्रका डीआईजी श्रेष्ठ उपत्यका हेर्ने नम्बर नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् ।
उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएर सुदूरपश्चिम प्रदेशमा गएका डीआईजी ओम रानाको बयान दुई दिनदेखि निरन्तर भइरहेको आयोग स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण