विश्वकपमा नेपालका चार प्रतिस्पर्धी : वेस्ट इन्डिजबाट आस, सजिलो इटाली
सारांश
- सन् २०२६ को टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्, जसमा नेपालले तेस्रो पटक सहभागिता जनाउनेछ।
- नेपालले समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ खेल भारतको मुम्बईमा हुनेछन्।
- नेपालले वेस्ट इन्डिजलाई हराएर इतिहास रचेको छ र २०२६ विश्वकपमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ।
काठमाडौँ । सन् २०२६ को टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन् । यस प्रतियोगितामा कुल २० टोली सहभागी हुनेछन्, जसमा १२ टोलीले सीधै छनोट पाएका छन् भने बाँकी ८ टोली क्षेत्रीय छनोट प्रतियोगिताहरूबाट आएका हुन् ।
सन् २०१४ मा नेपालले विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यस क्रममा समूह चरणमा नेपालले हङकङलाई विशालअन्तरले जितेको थियो भने अफगानिस्तानलाई पनि हराएको थियो । यद्यपि बंगलादेशसँग भने नेपाल पराजित हुन पुगेको थियो ।
त्यही विश्वकपमा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रसँग पहिलो पटक खेलेको थियो, अर्थात् बंगलादेशसँग । नेपालले दिएको १२६ रनको लक्ष्य बंगलादेशले १५ दशमलव ३ ओभरमै ८ विकेट गुमाएर भेट्टाएको थियो ।
नेपालले अफगानिस्तानलाई भने ९ रनले हराएको थियो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ८ विकेट गुमाएर १३२ रनमा रोकिएको थियो ।

उक्त विश्वकपमा नेपालले हङकङलाई पनि हराएको थियो । त्यस्तै हङकङविरुद्ध नेपालले उक्त विश्वकपमा निकै फराकिलो जितको नतिजा निकालेको थियो । सन् २०१४ को विश्वकपमा नेपालले पहिलो खेल हङकङविरुद्ध नै खेलेको थियो । जहाँ नेपाल ८० रनले विजयी भएको थियो, शक्ति गौचनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल रनरेटका आधारमा दोस्रो चरण भने पुग्न सकेन ।
त्यसपछि नेपालले १० वर्षपछि अर्थात् २०२४ पनि टी–२० विश्वकप खेल्यो । यहाँ भने नेपालको प्रदर्शन सम्झनलायक रहेन । नेपालले समूह चरणमा कुनै पनि खेलमा जित निकाल्न सकेन ।
आफ्नो पहिलो खेलमै नेपालले चिर प्रतिद्वन्द्वी नेदल्यान्ड्ससँग हार बेहोर्यो । त्यसपछि नेपाल बलियो राष्ट्र दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भयो, जुन हारको पीडा नेपाली क्रिकेट समर्थकहरूले सायदै भुल्दैनन् । एक सय १५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो ।
त्यसपछि नेपालको भेट बंगलादेशसँग भयो । सन् २०१४ मा बेहोरेको नमीठो हारको बदला लिने अवसर नेपालसामु थियो, तर यहाँ पनि नेपालले जित निकाल्न सकेन । मात्र १०६ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा चुक्दा १९ दशमलव २ ओभरमा ८५ रनमै अलआउट भयो । त्यसपछि श्रीलंकासँग भने वर्षा बाधक बनेपछि नेपालले खेल्ने अवसर गुमायो ।

नेपालले बंगलादेश, दक्षिण अफ्रिका, भारत, आयरल्यान्ड, जिम्बाबे, वेस्ट इन्डिजजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रसँग फरक फरक फर्म्याटमा खेलिसकेको छ । नेपालले धेरै पटक आशलाग्दो प्रदर्शन पनि देखाएको छ । दक्षिण अफ्रिकासँग एक रनको पराजय र बंगलादेशजस्तो राष्ट्रलाई सन् २०२४ को टी–२० विश्वकपमा १०६ रनमा रोक्नु नेपालका लागि नै आशलाग्दो पक्ष हो ।
तर नेपालले पहिलो पटक वेस्ट इन्डिजलाई हराउँदै इतिहास भने रच्न सफल भयो । सन् २०२५ को सेप्टेम्बर अन्त्यतिर नेपालले वेस्ट इन्डिजविरुद्ध एक खेल मात्रै जितेन, ३ खेलको सिरजमा २ दुई वटा खेल आफ्नो पक्षमा पार्दै सिरिज नै उचाल्यो ।
अब नेपालले सन् २०२६ मा हुन लागेको टी–२० विश्वकप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाउँदै छ । जहाँ नेपालले समूह चरणमा चार खेल खेल्दै छ । आईसीसीले मंगलबार निकालेको तालिकाअनुसार नेपालले चार वटै खेल भारतको मुम्बईमा खेल्ने छ ।
जसअनुसार पहिलो खेल नेपालले इंग्ल्यान्डविरुद्ध खेल्नेछ भने दोस्रो खेल वेस्ट इन्डिजसँग, तेस्रो खेल युरोपेली राष्ट्र इटालीसँग हुनेछ । चौथो खेलमा भने नेपालले फेरि बंगलादेशसँग भिडन्त गर्ने भएको छ । पहिलो खेल इंग्ल्यान्डविरुद्ध माघ २५ मा खेल्नेछ । त्यस्तै फेब्रुअरी १२ मा इटालीसँग दोस्रो खेल खेल्नेछ । वेस्ट इन्डिजसँग भने फेब्रुअरी १५ मा नेपालले खेल्नेछ । र समूह चरणको अन्तिम खेल बंगलादेशसँग फेब्रअुरी १७ मा खेल्नेछ ।
नेपालले समूह चरणमा प्रतिस्पर्धा गर्न लागेका यी चारै वटा देशको क्रिकेट र उनीहरूको अवस्थाबारे यहाँ चर्चा गरौँ ।
इंग्ल्यान्ड
विश्व क्रिकेटमा इंग्ल्यान्डको प्रभाव निकै बलियो छ । सबैखाले ढाँचामा इंग्ल्यान्डले सबै राष्ट्रलाई हराइसकेको छ । खासगरी टी–२० विश्वकपमा इंग्ल्यान्डको प्रदर्शन उच्च मानिन्छ । नेपालले अहिलेसम्म कुनै पनि ढाँचामा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न पाएको छैन ।
सन् २००७ को टी ट्वान्टी विश्वकप ९दक्षिण अफ्रिका० मा उद्घाटन संस्करणमा संघर्ष गरेको इंग्ल्यान्डले सुपर ८ चरणमा सबै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको थियो । त्यस्तै सन् २००९ मा घरेलु भूमिमा भएको टी–२० विश्वकपमा पनि इंग्ल्यान्ड सेमिफाइनलसम्म पुग्न सकेन । तर सन् २०१० मा भने वेस्ट इन्डिजको भूमिमा उसले उपाधि उचाल्यो । इंग्ल्यान्डले पहिलो पटक आईसीसीको यो उपाधि जित्यो । फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

तर सन् २०१२ मा श्रीलंकमा भएको यही ढाँचामा भने इंग्ल्यान्ड सुपर ८ को यात्रासम्म गर्न सफल भयो । त्यस्तै २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा अन्तिम १० बाटै बाहिरियो, जहाँ इंग्ल्यान्डले ५ मध्ये केवल १ खेल जित निकाल्न सकेको थियो । सन् २०१६ मा भारतमा सम्पन्न विश्वकपमा भने टोली फाइनलसम्म पुग्यो तर वेस्ट इन्डिजसँग पराजित भयो । सन् २०२१ यूएई र ओमानमा भएको विश्वकपमा समूह चरणमा राम्रो प्रदर्शन गरे पनि सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भयो ।
लगत्तै सन् २०२२ मा अष्ट्रेलियामा भएको टी२० विश्वकपमा जोस बटलरको कप्तानीमा इंग्ल्यान्डले पाकिस्तानलाई फाइनलमा ५ विकेटले हराउँदै दोस्रो पटक यो उपाधि घर लग्यो । यो जितसँगै इंग्ल्यान्ड पुरुष क्रिकेट इतिहासमा एकै समयमा टी–२० र एकदिवसीय विश्वकप दुवै जित्ने पहिलो टोली बन्यो ।
तर सन् २०२४ मा वेस्ट इन्डिजमा भएको विश्वकपमा भने इंग्ल्यान्डले सेमिफाइनलसम्म पुगेर आफ्नो यात्रा टुंग्याएको थियो ।
वेस्ट इन्डिज
नेपालले हराएको एक मात्र टेस्ट मान्यताप्राप्त राष्ट्र वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा दुई पटक टी ट्वान्टी विश्वकपको उपाधि जितिसकेको छ । गत सेप्टेम्बरको अन्त्यतिर नेपालले वेस्ट इन्डिजमाथि २० ओभरको ढाँचामा २–० ले सिरिज नै कब्जा गरेको थियो ।
२० ओभरको फर्म्याटमा बलियो मानिने वेस्ट इन्डिजले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अर्थात् इंग्ल्यान्ड र भारतसँगै वेस्ट इन्डिज पनि सर्वाधिक सफल टोलीमध्ये एक हो । विश्वकपको सहभागिता र आयोजक वेस्ट इन्डिजले प्रतियोगिताका हरेक संस्करणमा भाग लिएको छ र सन् २०१० तथा २०२४ मा प्रतियोगिताको आयोजना पनि गरिसकेको छ । सन् २००९ र २०१४ मा दुई पटक सेमिफाइनलमा पनि स्थान बनाइसकेको छ । समग्रमा टी–२० विश्वकपमा ४६ खेलमा वेस्ट इन्डिजले २४ जित र २० हारको रेकर्ड बनाएको छ ।

सन् २०१२ को फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो भने २०१६ को फाइनलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
बंगलादेश
सन् २०२६ को टी–२० विश्वकपमा नेपालको भेट समूह चरणमा बंगलादेशसँग पनि छ । तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपालले हरेक पटक बंगलादेशलाई आफ्नो प्रतिद्वन्द्वी पाएको छ । नेपालले बंगलादेशसँग सन् २०१४ मा फराकिलो र सन् २०२४ मा सामान्य हार बेहोरेको थियो । यद्यपि विश्व क्रिकेटका ठुला प्रतियोगितामा बंगलादेशको प्रभाव सामान्य मानिन्छ । टी–२० विश्वकपको हरेक संस्करणमा बंगलादेश सहभागी छ ।
सन् २००७ मा भएको उद्घाटन संस्करणमा सुपर ८ मा पुग्नु नै बंगलादेशको उत्कृष्ट प्रदर्शन हो । र २०२४ को संस्करणमा पनि बंगलादेश सातौं भएको थियो । आयोजक बंगलादेशले २०१४ को टी–२० विश्वकपको आयोजना पनि गरेको थियो । टी–२० विश्वकपका कुल ४४ खेलमा बंगलादेशले १२ खेलमा मात्र जित निकालेको छ । ३१ हार बेहोरेको छ ।
इटाली
सन् २०२६ मा भारत र श्रीलंका हुने विश्वकपको १०औं संस्करणमा युरोपेली राष्ट्र इटालीको पनि सहभागिता हुनेछ । विश्वकपमा उसको यो पहिलो पाइला हुनेछ ।
इटालीले युरोप रिजनल फाइनलमार्फत विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो, जहाँ ऊ नेदरल्यान्ड्ससँगै छनोट भयो । युरोप क्षेत्रबाट दुई टोलीले छनोट हुने मौका पाएका थिए । इटालीले नेदरल्यान्ड्ससँग आफ्नो अन्तिम खेल हारे पनि नेट रन रेटमा जर्सीलाई पछि पार्दै विश्वकपमा प्रवेश पायो ।
इटाली ग्लोबल क्वालिफायर्सबाट छनोट हुने आठ राष्ट्रमध्ये एक हो । इटालीलाई पूर्व अस्ट्रेलियाली टेस्ट ओपनर जो बर्न्सले नेतृत्व गरेका छन् जो इटालियन वंशका कारण इटालीका लागि खेल्न योग्य भएका हुन् । नेपाल र इटाली पछिल्लो पटक सन् २०१३ एकअर्काविरुद्ध आमनेसामने भएका थिए । आईसीसीको लिग डिभिजन थ्री भएको भेटमा नेपालले इटालीविरुद्ध ८ विकेटको जित निकालेको थियो । उक्त खेल ५० ओभरको ढाँचाको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण