एमाले महाधिवेशन प्रतिनिधि छनोट : संस्थापन र असन्तुष्ट पक्षबिच ‘प्यानल’ वार, पर्चा बाँडेरै गुटबन्दी
सारांश
- नेकपा एमालेको मोरङमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ।
- ओली पक्ष र विद्या भण्डारी पक्षधरबीच 'संस्थापन' को विषयमा विवाद छ, जसले गुटबन्दी बढाएको आरोप छ।
- मोरङमा ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले उम्मेदवारी दिएका छन्, र मंसिर १३ गते चुनाव हुने सम्भावना छ।
विराटनगर । नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङमा प्रतिनिधि छनोट प्रक्रिया पेचिलो बनेको छ । सहमतिको प्रयास असफल भएपछि जिल्लामा स्पष्ट रूपमा दुई पक्षबिच प्यानलगत प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिने संस्थापन पक्ष र विद्या भण्डारी पक्षधर मानिने मोरङको संस्थापन पक्षबिच ‘संस्थापन’ को हो भन्ने विषयमै होडबाजी चलेको छ ।
महाधिवेशन प्रतिनिधि छनोटमा ओली निकटसमूहले आफूहरू संस्थापन भएको भन्दै उम्मेदवारहरूको लिस्ट नै तयार गरेर वितरण गरेको अर्को पक्षको आरोप छ । पार्टीको संस्थापन पक्षले नै गुटबन्दीको सुरुवात गरेको भन्दै सो पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।
‘लाजको पसारो भयो, सत्तामा भएको पार्टीले आन्दोलन गरेजस्तो, संस्थापन पक्षले नै गुटबन्दी आरम्भ गरेर पर्चा बाँड्दै हिँडेको छ,’ संस्थापन इतर पक्षका एक नेताले भने, ‘जुन नेता गुटबन्दीको विरुद्ध जिहाद छेड्दै आयो, अन्तरपार्टी लोकतन्त्र भन्दै आयो, आज उहाँकै नाम भजाएर मोरङमा चरम गुटबन्दी भइरहेको छ ।’
ओली पक्षमा रहेका राजकुमार ओझा, रविन थापा लगायतका नेताहरूले ‘संस्थापन पक्ष’ भन्दै सामाजिक सञ्जाल र कार्यकर्तामाझ आफ्ना उम्मेदवारहरूको लिस्ट (पर्चा) वितरण गरेको उनीहरूको दाबी छ ।

यद्यपि धेरै आकाङ्क्षीहरूको नाम संस्थापनको लिस्टमा नपरेपछि ठुलो पंक्ति रुष्ट भएको भन्दै त्यसको फाइदा आफ्नो पक्षलाई हुने इतर पक्षको दाबी छ । उनले गुरु बरालको आश्रयमा रहेका मुकेश बुढाथाेकीले साथ छोडेको र सुन्दर हरैचाका मेयर केदार प्रसाद गुरागाईं पनि भड्किएर १८० डिग्रीमा परिवर्तन भएको दाबी गरे ।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले आफूहरू नै मोरङको वास्तविक संस्थापन भएको दाबी गरेका छन् । रबिन थापाहरूले आफूलाई संस्थापन भन्दै प्रचार गरे पनि मोरङको संगठन निर्माण गर्ने ‘संस्थापन’ आफूहरू नै भएको उनको तर्क छ ।
‘मोरङको संस्थापन भनेको हामी हो, त्यसैले यसका झिना मसिना कुराको पछि लाग्नु छैन,’ थापाले भने, ‘हामीले पनि प्यानल बनाएका छौँ । दलिततर्फ सर्वसम्मत हुने सम्भावना देखिए पनि अन्य क्षेत्रमा चुनाव नै हुन्छ ।’
थापाका अनुसार महिला बाहेक अन्य क्षेत्रमा चुनाव हुने निश्चित छ र आफूहरूले बनाएको प्यानलले जित्ने दाबी उनले गरे ।
ओली बा’को नाममा राजनीति
अघिल्लो अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका राजकुमार ओझाले मोरङमा देखिएको दृश्यलाई ‘संस्थापन’ र ‘विस्थापन’ को भन्दा पनि जिल्ला अधिवेशनताका देखिको पक्ष–विपक्षबिच प्रतिस्पर्धा हुने देखिएको स्वीकार गरे ।
‘अब यहाँ विनोद ढकाललाई सघाएको वा अरुलाई सघाएको भन्ने कुरा गौण भयो, अहिले ओली ‘बा’ नै चाहिने अवस्था आयो,’ ओझाले भने । एमालेभित्रका कतिपयले प्रतिस्पर्धा भूगोलमा हेर्दा व्यापक रहेको र कार्यकर्ता को–कता लाग्ने भन्ने कित्ताकाट भइरहेको बताएका छन् ।
गुटगत रस्साकस्सीका बिच मोरङमा ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार मोरङका ६ वटा निर्वाचन क्षेत्र र एक दलित क्षेत्र गरी ७ क्षेत्रमा मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । एमाले मोरङ इन्चार्ज जीवन घिमिरेका अनुसार उम्मेदवारी दर्ता सकिएको छ । चुनाव मंसिर १३ गते हुने कार्यतालिका रहेको छ । यद्यपि, गुटगत प्यानल नै बनेर प्रचारप्रसार सुरु भइसकेकाले सहमतिको सम्भावना टरेको र चुनावबाटै प्रतिनिधि छनोट हुने निश्चित प्रायः देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण