बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
गजल

सुमन स्मारिका तीन गजल

शनिबार, १३ मङ्सिर २०८२, १७ : ३०
शनिबार, १३ मङ्सिर २०८२

युवापुस्ताकी लोकप्रिय गजलकार हुन् सुमन स्मारिका । पछिल्लो समय फेसबुकका रिल्स र टिकटकमा उनका गजलहरू निकै भाइरल छन् । गजलमार्फत विद्रोहको आगो ओकल्ने सुमन स्मारिका तीन गजल यस पटक रातोपाटीमा ।

१.

घरी–घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु

तिमी छैनौ भएर यो जवानी के गर्नु

 

न खान दिन्छ न भोक मेटाउँछ पेटको

छन् त छ उसको पनि राहदानी के गर्नु

 

पोखिनदेऊ बगरले प्यास त मेट्ला थोरै

राखेर आँखामा यति धेरै पानी के गर्नु

 

गर्न त गरिन्छ नि रोज दुःखको कारोबार

हुँदैन अलिकति पनि आम्दानी के गर्नु

 

शङ्का पनि सही ठाउँमा गर्न सक्नुपर्छ ‘साहेब’

फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु

 

२.

माग्न आइपुगेको छ बास फेरि

बदनाम हुने भयो गुराँस फेरि

 

आऊ न के के भनेर दिल दुखाऊ

आँसुले खोजिरहन्छ निकास फेरि

 

गिजा देखाउँदै बा मुस्कुराउनु भो

आयो घरमा नौलो मधुमास फेरि

 

चाँदको चेहरामा ढुङ्गा हान्ने को हो

ए मान्छे तँ भइछस् घाँस फेरि

 

यो जमानाले अचेल टेर्न छाड्यो

मैले हुनुपर्ने भो बदमास फेरि

 

जसलाई भेट्यो उसैका गोडा ढोग्छ

हुन मन रहेछ र दास फेरि

 

यो दुनियाँ हार्नेहरूको लागि होइन

जारी राख्नु छ आफ्नो अभ्यास फेरि

 

जति घात गर्छ उसैलाई अझ

गरिहाल्दोरहेछु विश्वास फेरि

 

यसरी चुराहरू नबजाऊ ‘स्मारिका’

रोकिने गर्छ यहाँ मेरो सास फेरि

 

३.

ननिदाएरै कैयौँ रातहरू बिहान भएको छ

मानौँ आँखा सपनाहरूको चिहान भएको छ

 

मैले आँसुका केही फूलहरू चढाएपछि

भर्खरै एउटा ढुङ्गा भगवान् भएको छ

 

दुःख आफूलाई राखेर खुसी अरूलाई बेच्छ

म जस्तै एउटा मान्छे दोकान भएको छ

 

आफ्ना भनिएका सधैँ आफ्ना हुँदैनन्

मेरो श्रीमान् अब अरूकै श्रीमान् भएको छ

 

कैले को कैले को आएर प्रयोग गरेर जान्छ

मेरो दिल, दिल नभएर सामान भएको छ

 

कपाल फिँजाउँदै उनी छतमा उक्लिइन्

एउटा बुढो साँझ फेरि जवान भएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप