कर्णाली सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रका १४ स्कुल र स्वास्थ्य संस्था पुनर्निर्माण
सारांश
- कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट, सल्यान र रुकुम पश्चिममा १४ वटा विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माण गरेको छ।
- भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय र स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण कार्यक्रम अन्तर्गत मुख्यमन्त्री कँडेलले काम सम्पन्न भएको जानकारी दिए।
- सरकारले यस वर्ष थप योजनासहित एक सय वटा भूकम्प प्रभावित विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, सल्यान र रुकुम पश्चिममा गरी १४ वटा विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माण गरेको छ ।
भूकम्प प्रभावित जिल्लाहरूमा प्रदेश सरकारद्वारा सञ्चालित पुनर्निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा १४ वटा संरचना पुनर्निर्माण सम्पन्न भएको हो । पुनर्निर्माण भएका यी संरचना अब हस्तान्तरणको तयारीमा रहेको मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिए ।
२०८० कात्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति पु-याएका जाजरकोट, रुकुम पश्चिम र सल्यानमा प्रदेश सरकारले ‘भूकम्प प्रभावित विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
उक्त कार्यक्रम अन्तर्गत विद्यालयको हकमा अधिकतम ७५ लाख र स्वास्थ्य संस्थाको हकमा ५० लाख रुपैयाँ बराबरको लागत अनुमान गरेर पुनर्निर्माणको काम भइरहेको हो ।
प्रदेश सरकारले यसै अनुरुप ‘भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१’ बनाएर लागु गरेको छ ।
मुख्यमन्त्री कँडेलका अनुसार, यस कार्यक्रम अन्तर्गत गत वर्ष ८१ वटा आयोजनाको ठेक्का लागेको थियो, जसमध्ये १४ वटाको काम सम्पन्न भइसक्यो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार, सम्पन्न भएका संरचनामध्ये ६ वटा सल्यान र बाँकी रुकुम पश्चिमका हुन् । जाजरकोटमा भने काम सुस्त भएको छ ।
बाँकी रहेका अधिकांश संरचनाहरूको निर्माण कार्य पनि धमाधम भइरहेको मन्त्रालयले जनाएको छ । यो वर्ष २० त्यस्ता आयोजनाको ठेक्का लगाउने तयारी छ । त्यसको लागि जिल्लास्थित प्रदेश सरकारका पूर्वाधार कार्यालयहरूले सम्बन्धित स्थानीय तहसँग आयोजनाको माग गरेका छन् ।
मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षमा पुनर्निर्माणको कामलाई अझ तीव्रता दिने बताए । उनले भने, ‘यस वर्ष थप योजनाहरूसहित कम्तीमा एक सय वटा भूकम्प प्रभावित विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ ।’
पुनर्निर्माणका क्रममा केही स्थानमा कामको गति सुस्त भएको गुनासो आएपछि सरकारले कडाइ गरेको छ । मुख्यमन्त्री कँडेलले सम्बन्धित कार्यालयमार्फत निर्माण व्यवसायीहरूलाई काम छिटो सक्न ताकेता गरिएको जानकारी दिए ।
उनले विकास निर्माणका काममा जनस्तरबाटै निगरानी आवश्यक रहेको औँल्याए । उनले भने, ‘तपाईंहरूको ठाउँमा पनि भइरहेको कामबारे अनुगमन गरी खबरदारी गर्न म सबैमा आग्रह गर्दछु ।’
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गत वर्ष उक्त कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो, जसमा २५ करोड जाजरकोट, २२ करोड रुकुम पश्चिम र ३ करोड रुपैयाँ सल्यान जिल्लाका लागि छुट्ट्याइएको थियो ।
यो वर्ष थप ४२ करोड १० लाख रकम विनियोजन गरिएको छ । जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिमका ४५ वटा स्वास्थ्य संस्थाका भवनमा क्षति पु¥याएको थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुम पश्चिममा दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको तथ्याङ्क छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका थिए । जाजरकोटमा १४३ र रुकुम पश्चिममा ४९ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको संख्या २९६ र रुकुम पश्चिममा २१३ छ ।
भूकम्पबाट जाजरकोटका ७७ हजार ६५६ विद्यार्थी प्रभावित बनेका छन् । सो भूकम्पमा परी ४५ जना विद्यार्थीको मृत्यु भएको थियो भने ९७ जना घाइते भएका थिए । यस्तै, रुकुम पश्चिमका ५३ हजार ३८ विद्यार्थी प्रभावित हुँदा ३० जनाको मृत्यु र १ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण