बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति (पूर्णपाठसहित)

आइतबार, १४ मङ्सिर २०८२, १६ : ०९
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ।
  • दुई दलले 'सुसंस्कृत राजनीति' र 'सुशासन' लाई केन्द्रमा राख्दै ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे।
  • आइतबार दुई वैकल्पिक राजनीतिक शक्तिहरूले पार्टी एकताको घोषणा गरेका हुन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ को मुद्दालाई केन्द्रमा राख्दै यी दुई वैकल्पिक राजनीतिक शक्तिहरूले आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्।

सबै नेपालीको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उद्देश्यका साथ दुई पार्टीबीच एकता भएको सहमतिपत्रमा उल्लेख छ। रवि लामिछाने नेतृत्वको रास्वपाले छोटो समयमै बनाएको संसदीय हैसियत र स्व. उज्वल थापाले सुरु गरेको ‘विवेकशील अभियान’ को जगमा टेकेर यो एकीकरण सम्पन्न भएको सहमति पत्रमा उल्लेख छ।

दुई दलबीच भएको सहमति अनुसार एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार र त्यसको बीचमा निलो रङको घण्टीको आकृति रहने सहमति भएको छ।

विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार गरेको छ। साथै, रास्वपाले निष्ठा र मूल्य-मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा र ‘विवेकशील अभियान’ ले पुर्‍याएको योगदानलाई आफ्नो दस्तावेजमा समेट्दै संस्थागत मान्यता दिने निर्णय गरेको छ।

सांगठनिक समायोजनका सन्दर्भमा, रास्वपाको आगामी ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्मका लागि ‘संघीय नेतृत्व मञ्च’ नामक विशेष संयन्त्र निर्माण गरिने भएको छ। 

त्यसैगरी, प्रदेश र स्थानीय तहका संरचनामा पनि योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा नेता तथा कार्यकर्ताहरूको समुचित समायोजन गरिने सहमति भएको छ।

एकीकरण प्रक्रियालाई कानुनी रूप दिन निर्वाचन आयोगका प्रक्रियाहरू पूरा गर्ने र दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने निर्णय पनि दुई दलले गरेका छन्।

सहमति पत्रमार्फत दुवै दलले लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत एवं परिवर्तनकामी शक्ति, समूह र व्यक्तिहरूलाई ‘घण्टी’ चुनाव चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

उक्त सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष एवं राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

591772948_832497512908208_8619208789904199747_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप