शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

हेटौँडा सडक विस्तार: यस्तो छ वैकल्पिक रुट

मङ्गलबार, १६ मङ्सिर २०८२, १४ : १३
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • हेटौँडामा सडक विस्तारका क्रममा वैकल्पिक रुट तय गरिने भएको छ।
  • सडक डिभिजन कार्यालयले हेटौँडा बजार क्षेत्रमा सडक विस्तार गर्दै सवारी साधनका लागि वैकल्पिक मार्ग बनाउने भएको छ।
  • सडक विस्तारको विरोधका बाबजुद मंसिर २० गतेबाट काम सुरु हुनेछ, र निर्माणस्थलमा सवारी आवागमन बन्द गरिनेछ।

हेटौँडा । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रको सडक विस्तारको क्रममा यातायात सेवा सञ्चालनका लागि वैकल्पिक रुट तय गरिने भएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य सुरु भएपनि सवारी साधनहरू वैकल्पिक मार्गबाट सञ्चालन गर्नेगरी रुट तय गर्न लागेको हो । 

जसअनुसार काठमाडौँ तथा चितवन जाने सवारीलाई हेटौँडा–१ चौकीटोल (तिरतिरे धारा)बाट राप्ती पुल हुँदै रातोमाटे निकाल्ने र पूर्व तर्फबाट आएका सवारीलाई रातोमाटे निकाल्ने गरी तयारी गरिएको छ ।

कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार, सडक मर्मतको काम चरणबद्ध रूपमा अघि बढाइने छ । मुख्य बजार क्षेत्रमा काम भइरहँदा सवारी आवागमन प्रभावित नहोस् भनेर रातोमाटे, त्रिवेणीधाम हुँदै राप्ती पुल निस्कने बाटोलाई मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग गरिने उनले बताए ।

प्रमुख अधिकारीका अनुसार काठमाडौँ तथा नारायणगढबाट आएर पश्चिम (वीरगन्ज) तर्फ जाने सवारी साधनहरूलाई मुख्य बजारमा प्रवेश नदिई वैकल्पिक बाटोबाट पठाइनेछ । जसअनुसार वीरगन्ज वा कान्तिलोक पथ हुँदै पूर्व जाने सवारीलाई राप्ती पुलबाट त्रिवेणी हुँदै रातोमाटे निकाल्ने र पश्चिमतर्फ चितवन वा काठमाडौँ जाने सवारीहरूलाई पुनः रातोमाटेबाट राप्ती पुल जोड्ने गरी रुट तय गरिएको उनले बताए ।

कान्ति र मदन भण्डारी लोकमार्गका सवारीलाई कमाने हुँदै रातोमाटे पु-याउने योजना बनाइएको उनले बताए । सवारी डाइभर्ट गर्नुअघि वैकल्पिक सडकहरुको मर्मत सम्भार सुरु गरिएको प्रमुख अधिकारीको भनाइ छ ।

‘हामीले वैकल्पिक मार्गको पहिचान गरिसकेका छौँ । ती सडकहरूमा पिच गर्न सम्भव नभए पनि खाल्डाखुल्डी पुर्ने र ग्राभेल प्याक गरेर यातायात सञ्चालन योग्य बनाउने काम भइरहेको छ । यस तयारीका लागि करिब एक सातादेखि १० दिनमा मुख्य बजार क्षेत्रको सडक विस्तारको काम सक्ने अनुमान कार्यालयले गरेको छ,’ उनले भने ।

सडक मर्मत तथा निर्माणको काम भइरहेको समयमा सम्बन्धित क्षेत्रमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिने उनको भनाइ  छ । सवारी चालकहरूको सहजताका लागि निर्माणस्थल र डाइभर्सन पोइन्टहरुमा ट्राफिक संकेत बोर्ड राखिने उनले बताए । सुरक्षा संवेदनशीलताका कारण रातिको समयमा काम नहुने प्रमुख अधिकारीले स्पष्ट पारे । सुरक्षा निकायको सल्लाह र सुरक्षाको मापदण्ड अनुसार हाललाई दिउँसोको समयमा मात्रै मर्मतको काम भइरहेको छ । बुद्ध चोकदेखि पूर्व र पश्चिमका क्षेत्रहरूमा चरणबद्ध रूपमा काम गरिने र सोही अनुसार सवारी साधनहरूलाई डाइभर्ट गर्दै लगिने उनले बताए ।

‘जुन क्षेत्रमा हामी काम गर्छौँ । त्यहाँ यातायात सञ्चालन गर्दा काममा बाधा पुग्ने र सुरक्षा जोखिम हुने भएकाले बन्द गराउनै पर्ने हुन्छ,’ अधिकारीले भने । सडक विस्तारको विरोधमा स्थानीयले विरोध समेत गरेका छन् । तैपनि विरोधका बिच मङ्सिर २० गते सडक विस्तारको काम थाल्ने कार्यालयको तयारी छ । 

कार्यालयले हेटौँडा बजार क्षेत्रको २५/२५ गज सडक विस्तार गर्न लागेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप