भविष्यको विखण्डित विश्वमा पनि अमेरिका नै हाबी होला त ?
सारांश
- आगामी दिनमा विश्व अर्थतन्त्र विखण्डित हुने एक अध्ययनले देखाएको छ, जसअनुसार अमेरिका र चीन दुई मुख्य कित्तामा विभाजित हुनेछन्।
- लेखकका अनुसार अमेरिका र उसका साझेदारहरू आर्थिक रूपमा बलिया रहनेछन्, तर चीनले क्रिटिकल मिनरल र रेयर अर्थमा पकड जमाएको छ।
- लेखमा अमेरिका र चीन दुवैका नीतिहरूमाथि प्रश्न उठाइएको छ, र दुवैमध्ये कसले पहिले गल्ती सच्याउँछ भन्ने कुरा महत्त्वपूर्ण हुने बताइएको छ।
एउटा प्रश्न अचेल जताततै सोधिने गरेको छ । आगामी दिनमा विश्व अर्थतन्त्र कस्तो हुन्छ ? यसको सम्भावित जवाफ हुनसक्छ– अब बिस्तारै विश्व अर्थतन्त्र विखण्डित हुन थालेको छ । यो जवाफ ‘क्यापिटल इकोनोमिक्स’ नामको संस्थाका प्रमुख अर्थशास्त्री निल शेरिङको पनि हो । उनले भर्खरै प्रकाशित आफ्नो पुस्तक ‘द फ्र्याक्चरिङ एज’ मा यस्तै तर्क गरेका छन् ।
उनका अनुसार विश्व अर्थतन्त्रमा देखिन थालेको विखण्डन भूमण्डलीकरणबाट पछि हट्ने कदम अर्थात् ‘डिग्लोबलाइजेसन’ भन्दा फरक छ । आगामी दिनमा व्यापार तथा भूमण्डलीकरणका अन्य स्वरूपहरू धेरै नघट्न सक्छन् । सन् १९३०को दशकको आर्थिक सङ्कट जस्तो अवस्था पनि हुँदैन । तर भूराजनीतिक रूपमा प्रतिद्वन्द्वी मुलुकहरू बिचको व्यापार भने घट्नेछ । साझेदारहरू बिचको व्यापार बढ्नेछ ।
शेरिङका अनुसार संसार मूलतः अमेरिका तथा चीन केन्द्रित दुई कित्तामा विभक्त हुनेछ । केही मुलुकहरू दुवै पक्षसँग साझेदारीमा नलागेर बिचमा रहनेछन् । उनीहरू दुवैतर्फ कुनै न कुनै रूपमा जोडिएर आफ्नो सर्वोत्तम हित खोज्ने प्रयास गर्नेछन् ।
अमेरिकी राजनीतिमा प्रभाव राख्ने सम्भ्रान्तहरूको ठुलो हिस्साले चीनको उदयलाई चुनौतीका रूपमा हेर्न थालिसकेको छ । चीनलाई हेर्ने यस्तो दृष्टिकोणमा अमेरिकी राजनीतिका दुवै पक्ष मूलतः सहमत छन् । सम्भवतः उनीहरू सहमत भएको साझा विन्दु पनि यही मात्र होला ।
उता चीनका राष्ट्रपति सी जिनपिङले पनि आधुनिक समयको अमेरिकी ‘प्रभुत्व’ र ८० वर्ष पहिलेको ‘अहङ्कारी फाँसीवादी शक्ति’ लाई तुलना गरेर हेर्ने गरेका छन् । उनको यस्तो धारणा गत मे महिनामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर बैठकको पूर्वसन्ध्यामा आएको थियो ।
माथि उल्लेखित पुस्तकका लेखक शेरिङ पनि भविष्यमा विखण्डित हुँदै जाने विश्व अर्थतन्त्रमा अमेरिका नै अग्रशक्तिका रूपमा देखा पर्ने तर्क गर्छन् । यस्तो दाबीको आधारका रूपमा उनले अमेरिकी साझेदार मुलुकहरू नै चीनका साझेदारको तुलनामा आर्थिक हिसाबले बलिया रहेको उल्लेख गरेका छन् । आजको दिनमा पनि उच्च–विकसित मुलुकहरू अमेरिकी साझेदारका रूपमा रहेका छन् ।
यसबिच चीनको उल्लेख्य सहयोगीका रूपमा केवल रुस देखा परेको छ । आजको बजार मूल्यको हिसाबमा अमेरिकी कित्तामा रहेका मुलुकहरू वैश्विक कुल गार्हस्थ्य उत्पादनको ६८ प्रतिशत ओगट्छन् भने चिनियाँ कित्तामा रहेका मुलुकहरूको हिस्सा केवल २६ प्रतिशत छ । क्रयशक्ति समताका हिसाबले हेर्दा अमेरिकी कित्तामा रहेका मुलुकहरू ५० प्रतिशत हिस्सा ओगट्छन् भने चिनियाँ कित्ताले केवल ३२ प्रतिशत मात्रै समेट्छ ।
शेरिङका अनुसार आगामी दिनमा पनि केही मुलुकहरू दुवै पक्षसँग खुला रहन चाहन्छन् । तर धेरै जसो भने कुनै एउटा कित्ता रोज्न बाध्य हुनेछन् । अन्त्यमा, आर्थिक रूपमा अधिक सक्षम मुलुकहरू अमेरिका निकट हुन पुग्ने छन् । किनभने उनीहरू अमेरिकी सुरक्षा छाता, अमेरिकी बजार तथा उसको मुद्रामा निर्भर हुन बाध्य हुन्छन् । त्यसैगरी चीनप्रति उनीहरूको अविश्वास पनि अमेरिकी कित्ता छनोटको कारक बन्न पुग्छ ।
अमेरिकी कित्ता बेसी आर्थिक विविधतासहितको छ । उसले सूचना प्रविधि लगायत धेरै आधारभूत प्रविधिहरूमा नियन्त्रण कायम राखेको छ । उता चीनले आफूलाई ‘क्रिटिकल मिनिरल्स’ तथा ‘रेयर अर्थ’ मा शक्तिशाली अवस्थामा पुर्याएको देखाएको छ । तर ती क्षेत्रमा चीनको दबदबा मध्यम अवधि वा दीर्घकालमा विस्थापित हुन सक्छ । त्यसैगरी मुद्रा एवं वित्तीय बजारमा पनि अमेरिका र उसका साझेदार मुलुकहरू वैश्विक रूपमा सशक्त छन् ।
चीनले यस्तो दबदबा विस्थापन गर्न खोजेकै छैन । खुला पुँजी बजारले सिर्जना गर्ने खालको खुला बजार अर्थतन्त्रसँग चीनको त्यति धेरै रुचि नै छैन ।
विखण्डित विश्व अर्थतन्त्रमा अमेरिकाको तुलनामा चीनले धेरै गुमाउने शेरिङको तर्क छ । यसको एउटा कारण चीनको चालु खाताको संरचनागत नाफा पनि हो । चीनको चालु खाताको नाफा लगानी गर्नुपर्ने हुन्छ । त्यस्तो ठुलो मात्राको पुँजी लगानी गर्न सकिने सुरक्षित ठाउँ भनेकै अमेरिका र उसका साझेदार मुलुकहरू हुन् । त्यसको विकल्पमा चीनले विकासशील मुलुकहरूमा ठुलो मात्रामा लगानी गर्ने बाटो रोज्न सक्छ । तर ती मुलुकहरू ऋणको सावाँ ब्याज तिर्न असमर्थ हुन सक्ने जोखिम हुन्छ ।
चीनको आर्थिक वृद्धि यसअघि नै सुस्त हुन थालेको छ । आगामी दिनमा अझै सुस्त हुने देखिन्छ । शेरिङ त चीनको आर्थिक वृद्धिदर अमेरिका जस्तै २ प्रतिशतमा झर्ने दाबी गर्छन् । यस्तो हुनुमा हाल विश्व अर्थतन्त्रमा चलिरहेको विखण्डन पनि आंशिक रूपमा जिम्मेवार छ ।
संसारका कुनै पनि ठुला बजारले भविष्यमा चीनको निर्यातलाई बेरोकटोक प्रवेश गर्न दिने छैनन् । यसले गर्दा चीनका औद्योगिक नीतिहरू अप्ठेरोमा पर्नेछन् । यस्तो हुन थाल्यो भने चीनको अर्थतन्त्र कहिल्यै अमेरिका भन्दा ठुलो हुनेछैन । अमेरिकी कित्ताको हाराहारी पुग्ने त कुरै भएन ।
मेरो विचारमा विश्व तथा वैश्विक अर्थतन्त्र विखण्डनको प्रक्रियामा छ भन्ने तर्कमा पक्कै पनि सत्यता छ । पुरानो बहुपक्षीयता मर्दै छ भन्ने शेरिङको तर्क पनि सत्य हो । तर अमेरिकी कित्ताको बढाइचढाइ र चिनियाँ आर्थिक सम्भावनाबारेको न्युन आङ्कलन चाहिँ पूर्णरुपमा सत्य नहुन सक्छ ।
अमेरिकाबारे उनको अनुमान गलत हुन सक्ने केही कारण छन् । पहिलो कारण हो अमेरिकाले आफ्ना महत्त्वपूर्ण सम्पदाहरूमा थालेको आत्मघाती हमला । जसमा साझेदारका रूपमा आवश्यक विश्वसनीयता माथि नै अमेरिका आफैले धावा बोल्दैछ । कुनै प्रकारको साझेदारका रूपमा पनि अमेरिका अविश्वसनीय बन्ने बाटोमा छ ।
डोनाल्ड ट्रम्पले ब्राजिल, क्यानडा, भारत तथा युक्रेन जस्ता मुलुकहरूको सम्बन्धमा आफ्नो विश्वसनीयता ध्वस्त पारेका छन् । यी चार वटा मुलुकहरू त केवल उदाहरण मात्रै हुन । त्यसैगरी कानुनी शासन, विज्ञान एवं आफ्ना महान् विश्व विद्यालयहरू माथिको सहयोग र समर्थन तथा आप्रवासीप्रतिको खुलापन जस्ता स्थापित अमेरिकी मूल्यहरू पनि आक्रमणको सिकार हुँदै छन् ।
यस्ता समस्याका बाबजुद केही मुलुकहरू भने अमेरिकामै निर्भर रहनेछन् । तर संसारसँग व्यवहार गर्ने ट्रम्पको जथाभाबी शैली हटेन भने ‘अमेरिकी कित्ता’ बिस्तारै हराउँदै जानेछ । भारत त्यसको ज्वलन्त उदाहरण हो । कुनै समय ‘अमेरिकातिर ढल्केको’ भारत ट्रम्पकै कारण अहिले ‘साझेदारी’ मा रहेको छैन ।
त्यसैगरी चीन केही पनि होइन भन्नु पनि अर्को गल्ती हुन जान्छ । क्रयशक्ति समताको आधारमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकाको तुलनामा लगभग ३० प्रतिशत भएको चिनिया अर्थतन्त्रमा केवल दुई प्रतिशतको मात्रै आर्थिक वृद्धि असम्भव छ ।
असाधारण मानव पुँजी भएको चीनमा त्यसरी एकाएक आर्थिक वृद्धि २ प्रतिशतमा सीमित हुन तत्काल सम्भव छैन । हालको चिनिया सरकारले गलत नीतिहरू अपनाउँदै छ भन्नेमा त म पनि सहमत छु । तर, यस अघि नै देङ सियाओपिङले देखाइसकेका छन्, चिनियाँहरु आफूलाई काम नलाग्ने वा विनाशकारी ठानिएका नीतिहरू पनि परिवर्तन गर्न सक्छन् ।
मेरो अनुमानमा उनीहरू आफूलाई पक्कै पनि सुधार्ने छन् । चीनले आफ्नो कमजोर आर्थिक प्रदर्शनको अवस्थालाई अनिश्चितकालसम्म स्वीकारै गर्दैन ।
अहिले दुवै महाशक्तिहरू मूर्खतापूर्ण नीति लिँदैछन् । यस्तो अवस्थामा महत्त्वपूर्ण प्रश्न उठ्छ, यी दुई प्रभुत्वशाली शक्तिमध्ये कुनले पहिले आफ्ना गलत नीतिहरू सुधार्छन् होला ?
यहाँ प्रस्तुत कुनै प्रतिवादले पनि शेरिङले अनुमान गरेको वैश्विक आर्थिक खण्डीकरणलाई बदल्दैनन् । कसले बेसी गुमाउन सक्छ भन्ने चाहिँ फेर्न सक्छन् । विखण्डित विश्व असाध्यै खतरापूर्ण हुन्छ भन्ने तथ्य पनि फेर्न सकिँदैन । ग्राहम एलिसन र जेम्स विन्नेफेल्डले प्रसिद्ध अखबार ‘फरेन अफेयर्स’ मा भर्खरै लेखेका छन्, ‘गत आठ दशकको अवधि रोमन साम्राज्यपछि ठूला शक्तिहरूबिच युद्ध नभएको यो नै सबैभन्दा लामो समय हो ।’
यहीनेर प्रश्न उठ्छ, तर के अमेरिका र चीनले संसारलाई ‘जिरो सम गेम’ वा एउटाले हार्दा मात्रै अर्कोले जित्न सक्ने खेलका रूपमा हेर्न थाले भने के यो शान्ति जारी रहन सक्छ ?
त्यस्ता विपत्तिहरू सामना गर्नु नपरेको अवस्थामा पनि विखण्डित संसारको व्यवस्थापन सबैका लागि अप्ठेरो हुनेछ । जलवायु सम्बन्धी हालै चलेका वार्ताहरूमा अमेरिकाको अनुपस्थिति त्यस्तै एउटा ज्वलन्त उदाहरण हो । यस्तो विश्वमा हामी चीन वा अमेरिका मध्ये कसले तुलनात्मक रूपमा राम्रो गर्छ भनेर बहस गर्न त सक्छौँ । तर सम्भावना चाहिँ सबैले खराब गर्ने नै देखिन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण