बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सोडारीविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

बुधबार, १७ मङ्सिर २०८२, ११ : ३१
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुने भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो।
  • सोडारीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ, जसमा श्रीमती र छोराको नाममा रहेको सम्पत्ति पनि समावेश छ।

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सो मुद्दा  विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । 

सोडारीले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  आयाेगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो हैसियत दुरुपयोग गरी गैरकानुनी रूपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । 

सोडारीकाे आम्दानीका स्रोत पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदिबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र रहेको पाइएको छ । तर सो अवधिमा सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका थिए ।

कुल आय र व्ययको तुलना गर्दा सोडारीको स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा रहेको आयोगको दाबी छ । आयोगले सोडारीका श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, बैंक मौज्दातसमेत जफत गर्न माग गरेको थियो ।

विशेष अदालत काठमाडौँमा दायर गरिएको आरोपपत्रमा सोडारीलाई भ्रष्टाचार गरेको ठहर गरी बिगोअनुसार कैद र जरिवाना गराउन माग गरिएको छ। 

साथै, सोडारीले सम्पत्ति विवरणमा वास्तविक विवरण उल्लेख नगरी झूटा विवरण पेस गरेको पाइएकाले थप कारबाहीको माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप