‘संकट निम्त्याएकै केपी ओलीले हो’
सारांश
- नेकपा एमाले कोशी प्रदेशले ताप्लेजुङका नेता बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुलाई पार्टीबाट निलम्बन गरेको छ।
- निलम्बित नेता साम्सोहाङले यो कारबाहीलाई 'ओली बा' प्रवृत्तिको विरोधको परिणाम भनेका छन्, नेतृत्वमाथि गुटबन्दी र विधि मिचेको आरोप लगाए।
- साम्सोहाङले पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै केपी ओलीले ससम्मान पार्टी नेतृत्वबाट हट्नुपर्ने बताए, र एमालेमै संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङका नेता तथा पूर्व प्रदेशमन्त्री बलबहादुर साम्सोहाङ र नेता मणिशंकर पोमुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । महाधिवेशन प्रतिनिधि छनोटका क्रममा निर्वाचन अधिकृतमाथि हातपात गरेको आरोप लगाउँदै उनीहरूलाई कारबाहीको पत्र थमाइएको छ । तर, निलम्बित नेता बलबहादुर साम्सोहाङ भने यो कारबाहीलाई ‘ओली बा’ प्रवृत्तिको विरोध गर्दाको नतिजा भएको टिप्पणी गरे । नेतृत्वले ‘गुटबन्दी गरेको र विधि मिचेको’ विषयमा आवाज उठाउँदा आफूहरूमाथि प्रतिशोध साँधिएको उनको दाबी छ । प्रस्तुत छ, उनीमाथिको कारबाही र एमालेको आन्तरिक राजनीतिबारे साम्सोहाङसँग गरिएको कुराकानीको सम्पादित अंश-
- तपाईंलाई पार्टीले यसअघि पनि कारबाही गरेको थियो, किन बारम्बार कारबाही भइरहेको छ ?
– मलाई कारबाही भएको यो दोस्रो पटक हो । यसको मुख्य कारण एमालेभित्रको आन्तरिक अन्तर्विरोध नै हो । ताप्लेजुङमा अहिलेको जिल्ला नेतृत्वले आफूलाई केन्द्रको नजिक ठान्ने र हामीलाई चाहिँ एमाले नै होइन जस्तो व्यवहार गर्ने काम गर्यो । हामी एमाले त एमाले नै हौँ नि । तर, उनीहरूले हामीलाई बाइपास गर्न खोजे ।
- खास विवादको सुरुवात कहाँबाट भएको थियो ?
– विवादको जड विद्यार्थीहरूको जनसंगठन (अनेरास्ववियु) को अधिवेशनबाट सुरु भयो । उनीहरूले एकलौटी ढङ्गले कमिटी गठन गरे । बन्दसत्र नै नगरी एउटा होटलमा बसेर राति ९–१० बजेतिर कमिटी तयार गरेर फेसबुकमा सार्वजनिक गरे । हामीले किन यस्तो गरेको भनेर प्रश्न उठायौँ तर सुनुवाइ भएन । त्यसपछि राष्ट्रिय युवा संघको अधिवेशनमा पनि त्यस्तै पारा दोहो¥याउन खोजियो । त्यहाँ पनि एकलौटी घोषणा गर्न खोजेपछि विवाद भयो । हामीले पार्टी एकढिक्का बनाएर लानुपर्छ भनेपछि पनि विवाद सिर्जना भयो । राष्ट्रिय युवा संघको पदाधिकारी ६ जनाको हुनुपर्नेमा १२ जनाको उम्मेदवारी पर्यो । त्यसपछि छलफलबाट सहमतिमा ल्याउनुपर्नेमा उनीहरूले एकलौटी घोषणा गरे । त्यस विषयमा विवाद भयो । त्यहाँ प्रतिवाद भयो । त्यही विषयलाई लिएर मलाई र मणिशंकर पोमुजीलाई जिल्लाले तोडफोडको आरोप लगाएर कारबाही प्रदेशलाई सिफारिस गर्यो । त्यसपछि प्रदेशले मलाई ६ महिना तथा मणिजीलाई ८ महिना निलम्बन गरेको अरे । त्यसपछि म पार्टीको राष्ट्रिय विधान महाधिवेशनमा पनि गएँ ।
- अहिले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा भएको घटना चाहिँ के हो ?
– कारबाही फुकुवा भएपछि म राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाउँछु भनेर उम्मेदवारी दिएँ । मणिजीले पनि दिनुभयो । तर उनीहरूले हामीमाथि उजुरबाजुर लगाए । ‘राष्ट्रिय महाधिवेशनमा जान पाउँदैनस्’ भनेर उजुर हाले । निर्वाचन कार्यालयमा हामी दुवैजना बसेको बेला उजुरी आयो । हाम्रै महाधिवेशनमा जान नदिने गरी उजुरी आएपछि स्वाभाविक रूपमा हामीले प्रतिवाद गर्यौँ । ‘किन उजुरी दिनुहुन्छ, हामी मिलेर जानुपर्छ’ भनेर अनुरोध गर्दागर्दै त्यहाँ असहज परिस्थिति सिर्जना भयो ।
- निर्वाचन संयोजकमाथि कुटपिट नै भएको हो ?
– त्यहाँ असहज परिस्थिति बन्यो, वादविवाद भयो । पत्रहरू खोसाखोस भए । त्यही क्रममा मणिजीलाई निर्वाचन संयोजकले आँखामा हिर्काइदिनुभयो । अहिले पनि उहाँको आँखामा नीलडाम कायमै छ । त्यसपछि निर्वाचन प्रमुखलाई पनि केही युवाहरूले तानातान गरेपछि बाहिर निस्कनुभयो । यही विषयलाई लिएर पुनः हामीलाई राष्ट्रिय महाधिवेशनमा जान पनि दिएनन् । अहिले जिल्लाको बैठकले हामीलाई कारबाही गर्ने भनेर सिफारिस गरेको रहेछ र प्रदेशले पत्र लेखेको छ ।
- तपाईं लामो समयदेखि एमालेमा हुनुहुन्छ । अहिले पार्टी अध्यक्ष केपी ओली र नेतृत्वप्रति तपाईंको धारणा के हो ?
– हाम्रो पार्टीको अध्यक्ष केपी ओली नै हो । महासचिव शंकर पोखरेल नै हो । हामी उहाँहरुले नेतृत्व गरेको पार्टीमै छौं । हामीले विपक्षमा योजना बनाउने, गतिविधि गर्ने गरेको छैन । त्यस्तो भएको भए साथीहरूले देखाए भयो त ? तर, नेतृत्वसँग नजिक भएको भनेरै यस्तो गतिविधि गर्नु हुन्छ र ? हामी एमालेका कार्यकर्ता हौँ । अहिले माधव नेपालको पार्टी वा अर्को पार्टीमा गएका त छैनौँ । तर, अहिलेको सन्दर्भमा पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने मेरो पक्ष हो । एमाले देशमा धेरै आलोचित भयो । त्यो नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा भएको हो । त्यसको जिम्मा नेतृत्वले लिनुपर्छ । देशमा अहिले एमालेको सबैभन्दा बढी नोक्सान भएको छ । पार्टी कार्यालयहरू, नेता कार्यकर्ताका घरहरू आगलागी भएका छन् । आफू सरकारमा भएको बेला यस्तो घटना घट्नुको जबाफदेही एमाले पनि हुनुपर्छ ।
- भनेपछि तपाईं नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ?
– हो । सत्तामा पटक–पटक बस्ने तर पार्टीलाई नोक्सान पु¥याउने काम भयो । अहिले नेतृत्व हस्तान्तरण र परिवर्तनको कुरा उठिरहेको छ । नेकपा एमालेमा पनि यो आवश्यक छ । ७० वर्षको उमेर हद आफैँ राख्ने, आफैँ हटाउने ? २ कार्यकाल आफैँ राख्ने अनि आफैँ हटाउने ? एउटा कम्युनिस्ट पार्टीमा यस्तो लोकतान्त्रिक विधि हुन्छ ? त्यसकारण केपी ओलीले अब छोड्नुपर्छ । उहाँ ससम्मान ढंगले बस्नुपर्छ ।
- यो संकटको बेलामा झनै एकताबद्ध भएर जानुपर्नेमा किन विरोध गरेको भन्ने उहाँहरूको भनाइ छ नि ?
– आफू सरकारमा बस्दा भएको घटनाको जिम्मा लिनुपर्छ । हिजो सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा खुकुछिन्ताङमा मान्छे मारियो भनेर एमालेले भाषण गर्दै हिँड्यो । केपी ओलीले पनि त्यसबेला भाषण गर्नुभयो । त्यसबेला सूर्यबहादुरले मान्छे मार्यो भनेको होइन ? उनले गएर त मारेका थिएनन् तर, हामीले किन भाषण गर्यौँ भन्दा त्यो सरकारको जबाफदेहिताको कुरा थियो । अहिले आफू प्रधानमन्त्री भएको बेला जेनजी आन्दोलनमा मान्छे मारेको जबाफदेही एमाले हुनुपर्छ कि पर्दैन ? त्यसकारण अब केपी ओलीले नेतृत्व छोड्नुपर्छ । संकट निम्त्याएकै केपी ओलीले हो । आफूले संकट ल्याएपछि त्यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?
- अबको एमाले कता जाला ? केपी ओलीकै नेतृत्वमा पार्टी बलियो हुन्छ त ?
– नेपालमा दुइटा वामपन्थी शक्तिहरू ठुलो हुन सक्दैनन् भन्ने एउटा इतिहास छ । अब एमाले सुध्रिएर, राम्रो ढंगले अगाडि बढ्यो भने त ठिक हुन्छ । तर, एमाले अब सुध्रिएन र केपी ओलीको त्यही खालको तरिका र शैलीबाट पार्टी अगाडि बढ्यो भने एमालेले कुनै पनि बेला ठुलो नोक्सान बेहोर्नुपर्छ । धेरै पुस्ता पछाडि फेरि एमाले ठुलो हुन सक्ला, तर अहिलेकै शैलीले चाहिँ एमालेलाई क्षति नै गर्छ । यसरी कारबाही गर्दै बाहिर पठाउँदै गरेपछि पार्टी ठुलो हुन्छ ? समाजवाद आउँछ ? आफैँ बिगार्ने अनि आफैँ रुवाबासी गरेर हुन्छ ? त्यसरी पार्टी चल्दैन नि ।
- अब तपाईंहरूको यात्रा के हुन्छ ? पार्टी छोड्नुहुन्छ कि एमालेमै रहनुहुन्छ ?
– हामीले त्यति धेरै परसम्म सोचेका छैनौँ । तर यही पार्टीमा लामो समय जीवन बिताइयो । ३० औँ वर्ष पार्टीमा लगानी गरिएको छ । यो एक–दुई वटा कारबाही र निर्णयले हाम्रो राजनीति समाप्त हुन्छ भन्ने मलाई लाग्दैन । हामी एमाले छोड्दैनौँ, यसैमा डटेर बस्ने हो । जो मान्छेले हामीलाई कारबाही गर्छ, त्यो मान्छे भोलि इतिहासमा गलत साबित हुन्छ । हामी जनता र कार्यकर्तासँग छौँ, संगठन निर्माण गर्दै एमालेमै संघर्ष गर्छौँ । महाधिवेशन कसरी जान्छ त्यो पनि हामी हेर्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण