बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पार्टी घोषणा

उज्यालो नेपाल पार्टीमा ५ तहको संरचना बन्ने

बुधबार, १७ मङ्सिर २०८२, १६ : ४५
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीले पाँच तहको पार्टी संरचना बनाउने घोषणा गरेको छ।
  • पार्टीले संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहमा आधारित संरचना बनाउने जनाएको छ।
  • पार्टीले चुनावमा सहभागी हुनुअघि राष्ट्रिय सम्मेलन वा महाधिवेशन गर्ने बताएको छ।

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले पाँच तहको पार्टी संरचना बनाउने भएको छ । बुधवार औपचारिक रूपमा घोषणा गरिएको उक्त पार्टीको घोषणापत्रमा संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहमा आधारित संरचना बनाउने उल्लेख छ ।

घोषणापत्रमा ‘सङ्गठन संरचना र कार्यप्रणाली’ उपशीर्षकमा  सैद्धान्तिक स्पष्टता, नेपालको उज्यालो भविष्य निश्चित गर्ने राजनीतिक कार्यक्रम एवं नयाँ सङ्गठन संरचना र कार्य प्रणालीसहित नेपाली विशेषताको सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माणको नेतृत्व गर्ने अवसर प्राप्त भएको उल्लेख छ । ‘समाजको चेतनास्तर र चिन्तन प्रणालीलाई मध्यनजर गर्दै आगामी रणनीतिहरू तयार गर्नु र सोही अनुसारको सङ्गठन संरचना र कार्यप्रणाली कार्यान्वयन गर्नु नै हाम्रो साङ्गठनिक प्रस्थानविन्दु हो’,घोषणापत्रमा भनिएको छ ।

त्यस्तै पार्टीले संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडातहमा आधारित संरचना बनाउने तथा संघ र प्रदेशको संरचनामा भौगोलिक, गैर–भौगोलिक र समावेशी समूह विभाजन गर्न सकिने जनाएको छ ।

पार्टी दल दर्ता गर्ने क्रममा निर्वाचन आयोगमा बुझाएको विधान र घोषणापत्र लगायत सबै विवरणहरू अन्तरिम प्रयोजनको लागि तयार गरिएको भन्दै आम निर्वाचनमा सहभागी हुनुपूर्व वा पछाडिको उपयुक्त समयमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन मार्फत पार्टीका सम्पूर्ण दस्ताबेजहरू, सङ्गठन संरचना र कार्य प्रणालीलाई अद्यावधिक गर्ने उल्लेख छ ।

‘जनसंघर्ष र बलिदानको गर्वपूर्ण इतिहास भएका एवं महत्त्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरेका दलहरू सत्ता सञ्चालनमा असफल भएको आधार र कारणहरूको पहिचान गरी उज्यालो नेपाल पार्टीले उपयुक्त तथा परिणाममुखी सङ्गठन संरचना र कार्यप्रणाली अपनाउनेछ’, घोषणापत्रमा भनिएको छ, ‘पार्टी संरचना र पार्टीका सदस्यले पार्टी स्थापनाको घोषणापत्र एवं पार्टीले चुनावमा तयार गर्ने प्रतिवद्धतापत्रहरुको कार्यान्वयन गर्ने साधनको रूपमा कार्य गर्नेछन् ।’

पार्टीको आन्तरिक समस्याहरूलाई हल गर्न सक्ने सङ्गठन संरचना र कार्यप्रणाली अपनाएर लक्ष्य अनुरूप काम गर्नसक्ने बनाउने बताएको सो पार्टीले यसका लागि शक्तिशाली स्थानीय संरचना बनाउने र जनसम्बन्ध बढाउन कार्य गरिने जनाएको छ ।

‘प्रतिस्पर्धीबाट रचनात्मक सहयोग हुने संरचनात्मक व्यवस्था गर्दै पारदर्शिता र आर्थिक अनुशासन निश्चित गरिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘मत सर्वेक्षण गर्ने, पार्टी सदस्यता नभएका सक्षम, योग्य नागरिकहरू समेतलाई राष्ट्रको लागि योगदान गर्ने अवसर दिइनेछ ।’

निर्वाचनमा उम्मेदवारी छनौटको लागि पारदर्शी मापदण्ड र दोहोरो कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था गरिने पनि सो पार्टील जनाएको छ । ‘पार्टीका संरचनाहरूमा विषय विज्ञतालाई प्रोत्साहन गर्ने प्रणाली बनाइनेछ । पार्टीलाई जीवन्त बनाउन नेतृत्व विकासको नियन्त्रित र स्वचालित प्रक्रिया अपनाएर पार्टी संरचनामा सक्षम, योग्य र प्रतिस्पर्धी युवालाई अवसर दिने, अग्रजहरूको भूमिका कायम राख्ने निश्चितता गरिनेछ ।’

यसको साथसाथै सङ्गठन निर्माण र विस्तारको क्रममा प्रतिनिधित्वको विषयगत क्षेत्र निर्धारण गरिने घोषणापत्रमा उल्लेख छ ।

पार्टीले समाजका आधारभूत कर्ताहरूको यथार्थ विश्लेषण गर्ने पनि जनाएको छ । ‘उत्पादक उद्यमी (वस्तु), व्यापार उद्यमी (वस्तु तथा सेवा), निर्माण व्यवसायी, सामाजिक समूहहरू तथा संस्थाहरू, अवकाशप्राप्त खेलाडीहरू/खेल प्रशिक्षकहरू,उद्यमीहरू, मजदुर र निजी क्षेत्रको रोजगारी, स्नातक/स्नातकोत्तर/विद्यावारिधि समूहका विद्यार्थीहरू, विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थामा आबद्ध अध्यापकहरू, अवकाश प्राप्त राष्ट्रसेवक/योद्धा/सहिद परिवार, पूर्वजनप्रतिनिधि/पार्टी संरचनाका पूर्वपदाधिकारीहरू, विषयगत क्षेत्रको विज्ञ, विदेशमा कार्यरत नेपालीहरू लगायत अन्य कर्ताहरूको पहिचान गरी पार्टीको आधारभूत संरचना (वडा तह) ले आफ्नो अभिलेख व्यवस्थापन गर्नेछ’, सार्वजनिक घोषणापत्रमा भनिएको छ ।

त्यस्ता व्यक्तिलाई वडा तहमा आधारभूत रूपले प्रतिनिधित्व गराउने उज्यालो नेपाल पार्टीको घोषणा छ ।

उमेर र सामुदायिक जनघनत्वको विविधताको आधारमा आफ्नो संरचनामा आरक्षणको व्यवस्था गर्ने जनाएको सो पार्टीले ठुला र धेरै संरचना बनाएर नेता कार्यकर्तालाई बाँध्ने प्रयत्न गर्नुको साटो छरितो, चुस्त र तत्कालै सूचनाको सञ्चार भई चलायमान हुने प्रकारको संरचनाहरू बनाउने दाबी गरेको छ ।

‘यसको लागि विभिन्न तहको अधिवेशन प्रक्रिया, निर्वाचक मण्डल र प्रतिनिधि छनौटको लागि सिर्जनात्मक व्यवस्था गरिनेछ’, घोषणापत्रमा भनिएको छ ।  

पार्टीले समसामयिक राष्ट्रिय मुद्दा, वर्गीय एवं सामाजिक उत्पीडन र जनसरोकारको विषयहरूमा सक्रियता निश्चित गर्नेगरी चेतनामूलक, प्रचारमूलक र परिणाममुखी गतिविधिहरू गर्नेमा जोड दिएको छ ।

‘नेपाली जनजीवनको आधारभूत सामाजिक मुद्दाहरूमा जनताहरूको आवाज बोल्ने र र परिणाम दिने भरोसायोग्य राजनीतिक सङ्गठन निर्माण गरिनेछ’, घोषणापत्रमा प्रविधिको अधिकतम प्रयोग गर्ने प्रयत्न गर्दै आफ्नो सङ्गठन संरचनालाई पनि सोही अनुरूप चलायमान बनाउने उल्लेख छ ।

पार्टीले तय गरेको भौगोलिक, गैर–भौगोलिक र समावेशी समूहभित्र वैचारिक, साङ्गठनिक र राजनीतिक एवं जनपरिचालनको क्षेत्र तोकेर उपसमूह पनि बनाउनेछ । ‘यो ३ वटा उपसमूह बनाउने क्रममा वैचारिक कार्यभार सम्पादन गर्न, साङ्गठनिक जिम्मेवारी सम्पादन गर्न र राजनीतिक एवं जनपरिचालनको कार्यभार सम्पादन गर्ने प्रयोजनको लागि योग्यताको न्यूनतम आधारभूत सर्त बाहेकमा मापदण्ड तय गर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप