शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इजरायली हवाई हमलामा खान युनिस नजिक टेन्टमा बसेका ५ जनाको मृत्यु

बिहीबार, १८ मङ्सिर २०८२, ०४ : ३४
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • इजरायली हवाई हमलामा परी अल-मवासी क्षेत्रमा दुई बालक सहित पाँच जनाको मृत्यु भएको छ।
  • विस्थापित नागरिक बसेको टेन्टमा भएको आक्रमणमा ३२ जना घाइते भएका छन्।
  • हमासले इजरायलको कार्यलाई युद्धविरामको उल्लङ्घन भन्दै प्रतिक्रिया जनाएको छ।

काठमाडौँ। खान युनिस पश्चिम तर्फको अल-मवासी क्षेत्रमा इजरायली हवाई हमलामा परेर पाँच जनाको मृत्यु भएको छ । मारिएका मध्ये दुई बालक समेत रहेको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार घटना भएका टेन्टहरू विस्थापित नागरिक बसेको क्षेत्र हो। मृतकमध्ये ४६ र ३० वर्षका दुई महिला, ३६ वर्षीय एक पुरुष, र ८ तथा १० वर्षका दुई बालक रहेका छन्। घाइते ३२ जनाको अस्पतालमा उपचार गरिएको छ।

राहतकर्मीहरूका अनुसार अल–नजात क्याम्पबाट शवहरू बाहिर निकालिएको हो, जहाँ पछिल्ला महिनाहरूमा सयौँ विस्थापित बस्दै आएका छन्।

इजरायली सेनाले यसअघि आफ्ना पाँच सैनिक घाइते भएपछि ‘एक हमास मिलिटेन्टलाई लक्षित प्रहार गरिएको’ दाबी गरेको छ। सेनाको भनाइअनुसार हमासले राफाह क्षेत्रमा तैनाथ इजरायली सैनिकमाथि हमला गरी युद्ध विराम सम्झौताको उल्लङ्घन गरेको थियो।

घटनाका प्रत्यक्षदर्शीहरूले पहिलो विस्फोट अल–मवासीका टेन्ट क्षेत्रमा भएको र त्यसपछि कुवेत अस्पताल नजिकै पनि धमाका सुनेको बताए, जसले आश्रय लिएका परिवारहरूमा त्रास फैलिएको थियो।

हमासले इजरायलको कार्यलाई ‘बर्बर र अन्धाधुन्ध” भन्दै १० अक्टोबरदेखि लागू भएको युद्ध विरामको स्पष्ट उल्लङ्घन बताएको छ।

७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान थालेको थियो। त्यतिबेला १,२०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणपछि गाजामा ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप