‘केन्द्रका इन्चार्जहरूले माथि–माथि खेलेर पुनः निर्वाचनको पत्र पठाए’
सारांश
- नेकपा एमाले ओखलढुंगाको प्रतिनिधि छनौटमा विवाद उत्पन्न भएको छ, केन्द्रले निर्वाचन बदर गर्दै पुनः निर्वाचनको निर्देशन दिएको छ।
- जिल्ला कमिटीले सदरमुकाममा गरेको निर्वाचनलाई लिएर असन्तुष्ट पक्षले केन्द्रमा उजुरी गरेपछि यो निर्णय आएको हो।
- अम्बिरबाबु गुरुङको प्यानलले एकलौटी जितेपछि विवाद बढेको र ईश्वर पोखरेल र केपी ओली पक्षबीचको गुटबन्दीको चर्चा चलेको छ।
विराटनगर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगा जिल्लाबाट प्रतिनिधि छनौट प्रक्रिया विवादमा तानिएको छ । जिल्ला कमिटीले सदरमुकाममा सम्पन्न गरेको निर्वाचनलाई ‘अस्वीकार्य’ भन्दै केन्द्रीय कार्यालयले बदर गरेको छ ।
केन्द्रले असन्तुष्ट पक्षको उजुरीपछि ५ दिनभित्र पालिकास्तरमै पुनः निर्वाचन गर्न निर्देशन दिएको छ । ओखलढुंगामा एमालेभित्रको संस्थापन (केपी ओली) र ईश्वर पोखरेल पक्षबिचको टकराबका रूपमा यस घटनालाई हेरिएको छ ।
जिल्लाबाट अम्बिरबाबु गुरुङको प्यानलले एकलौटी जितेपछि अर्को पक्षले विधि मिचिएको भन्दै केन्द्रमा उजुरी गरेको थियो । केन्द्रले निर्वाचन बदर गरेपछि अबको कदम के हुन्छ भन्ने विषयमा एमाले ओखलढुंगाका एमाले नेता अम्बिरबाबु गुरुङसँग गरिएको विस्तृत कुराकानी :
- केन्द्रले ओखलढुंगाको प्रतिनिधि छनौटलाई मान्यता दिएन, पुनः निर्वाचन गर्नु भनेर पत्र पठायो । तपाईँहरू के गर्दै हुनुहुन्छ ?
– हामी अहिले केन्द्र (काठमाडौँ) मै आएका छौँ । केन्द्रले १३ गतेसम्म चुनाव गराउनु भनेर जुन परिपत्र जारी गरेको थियो, त्यसै बमोजिम हामीले जिल्लाको पदाधिकारी टोलीले निर्वाचन कमिटी बनाएर सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाएका थियौँ ।
हामीले दुई दिनसम्म सहमतिको प्रयास गर्यौँ । सहमति नजुटेपछि लोकतान्त्रिक विधि अपनाएर चुनावी प्रक्रियामा गयौँ । त्यहाँ ४१ जनाले आवेदन दिनुभएको थियो । उहाँहरू कसैले पनि उम्मेदवारी फिर्ता लिनुभएन । उहाँहरू सबैले २ सय, ३ सय, ११ सय, १५ सय कति दस्तुर थियो, त्यो विधिगत रूपमा तिरेर सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न भएको छ । निर्वाचन आयोगले नतिजा पनि घोषणा गरिसकेको छ । हामीले आफ्नो मतको अधिकार प्रयोग गरेर विजय हासिल गरेका हौँ । प्रमाणपत्र दिने काम पनि भइसकेको छ ।
तर, सबै काम सकिएपछि संगठन विभागले ५ दिनभित्र पुनः चुनाव गराउनु भनेर पत्र पठाएको छ । हामीले कुनै अवैधानिक काम गरेका छैनौँ । कानुनसम्मत रूपमा गरेका हौँ । अहिले २१ गतेसम्मको समय छ, केन्द्रले तोकेका नेताहरूसँग संवाद भइरहेको छ । हामी ‘पर्ख र हेर’ को अवस्थामा छौँ ।
- ८ वटा मध्ये ६ वटा पालिका कमिटीले पालिकास्तरमै चुनाव हुनुपर्छ भनेर माग गरेका थिए । तर तपाईँहरूले सदरमुकाममा बोलाएर किन पेलेर चुनाव गर्नुभयो ? किन विवाद आयो ?
– यसमा तपाईंले एउटा कुरा के मानिदिनुस् भने, जिल्लाका पदाधिकारीज्यूहरूले एउटा नगरपालिका र सातवटा गाउँपालिकामा संवाद गरिरहनुभएको थियो । तर, केन्द्रीय संगठन विभागले यदि ६ वटा पालिकाले निवेदन दिएकै आधारमा त्यस्तो गर्नुपर्ने भए ‘यथाशीघ्र तिम्रो कुरा अनुमोदन गरिनँ, १३ गतेभित्र चुनाव गराउनु’ भनेर निर्देशन दिनुपर्थ्यो । तर, एकैपटक मनोनयन पछि मौनअवधिमा आएर ६ वटा पालिका र एउटा नगरपालिकामा एकै दिन चुनाव गर्ने कुरा असम्भव देखियो । हाम्रो निर्वाचनको सूचना प्रकाशित भइसकेको अवस्थामा यो सम्भव थिएन ।
अर्को कुरा, ओखलढुंगा जिल्लाको केन्द्रीय कमिटी सदस्य तथा इन्चार्जहरू किशोर अधिकारी र यज्ञराज सुनुवार हुनुहुन्छ । उहाँहरूले तलका पालिका र पदाधिकारीसँग समन्वय नगरी माथि केन्द्रमा नै धाउने काम गर्नुभयो । समन्वयकारी भूमिका खेल्नुभएन । निर्वाचन आयोगले सदरमुकाममा बोलाएपछि ४१ जनाले नै भाग लिनुभयो । उहाँहरूले भाग लिने, पैसा (दस्तुर) तिर्ने, प्रक्रियामा सामेल हुने अनि अहिले आएर असहमति भन्न मिल्छ ? ४१ जनाले नै विधिगत रूपमा भाग लिएपछि, २–३ सय भोट उहाँहरूलाई खसेपछि, नतिजा आएपछि विरोध गर्नुको अर्थ छैन । सदरमुकाममा चुनाव गराउनु हाम्रो बाध्यता र व्यवहारिक पक्ष थियो, त्यो पनि त पालिका नै हो ।
- केन्द्रले पठाएको पत्रमा त निर्वाचन स्वीकार गर्न सकिएन भनिएको छ । यसरी एउटा पक्षले एकलौटी गर्यो, पेलेर गयो भन्ने देखियो नि ?
– केन्द्रले पत्र पठाएको कुरामा मान्ने वा नमान्ने भन्ने छैन । तर, हाम्रो प्रश्न के हो भने– आन्तरिक पार्टी जीवनभित्र यत्रो विधि पुर्याएर गरिएको कुरालाई फेरि जनताको तल्लो लेभलको क्याडरलाई दुःख दिने काम किन गरियो ? १५ सय १८ सय जनतालाई फेरि दुःख दिने काम ठिक हो र ? अब नयाँ ढंगबाट जाने कुरामा केन्द्रले लेखेको कुरामा सबै कुरा हुनुपर्छ भन्नेमा उहाँहरूले विचार गर्नुहोला । हाम्रो चारजना नेताहरू (शेरधन राई, विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारी) लाई तोकिएको छ । उहाँहरूले के निष्कर्ष निकाल्नुहुन्छ, त्यसपछि हामी अगाडि बढ्छौँ ।
- तपाईंहरूको यो विवादमा ईश्वर पोखरेल र केपी ओली पक्षको गुटबन्दी देखियो । तपाईंहरू ईश्वर पोखरेलको गुटबाट एकलौटी जितेर आउनुभयो, त्यसैले अर्को पक्षले प्रक्रिया नै बदर गर्यो भन्ने पनि चर्चा छ नि ?
– हामीले कुनै पनि नेताको झोला बोकेका छैनौँ । तपाईंले आफैँ बुझ्नुभएको छ, म धेरै कुरा नबोलूँ । हामी पार्टीका सार्वभौम कार्यकर्ता हौँ र जिल्लाबाट सर्वसम्मत रूपमा वा लोकतान्त्रिक विधिबाट निर्वाचित भएर आएका प्रतिनिधि हौँ । हामीले यो नेता वा त्यो नेता भनेर चिनेका छैनौँ । हामी स्वतन्त्र रूपमा आफ्नो अधिकार प्रयोग गरेर आएका हौँ । ‘हामी केपी ओलीको गुटबाट जित्यौँ’ वा ‘ईश्वर पोखरेलको गुटबाट जित्यौँ’ भन्नु हाम्रो लागि नै लज्जाको विषय हो । ईश्वर पोखरेल हाम्रो ओखलढुंगा जिल्लाको एउटा वरिष्ठ नेता हुनुहुन्छ, उहाँ वरिष्ठ उपाध्यक्ष भइसकेको मान्छेलाई हाम्रो सानो बुद्धिको लडाइँमा विवादमा तान्नु, उहाँको नाम जोड्नु राम्रो होइन । यो हाम्रो पार्टीको संस्कार पनि होइन । मिडियामा आएजस्तो र साथीभाइले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ मा जोडेजस्तो गुटबन्दीको कुरा सत्य होइन । हामीले यहाँ आएर यो नेतालाई जिताऊ, ऊ नेतालाई जिताऊ भनेर लबिङ गरेका छैनौँ । हामी निर्वाचित प्रतिनिधि हौँ, हाम्रो विवेक प्रयोग गर्छौँ ।
- भनेपछि अब तपाईंहरू पुनः निर्वाचनमा जानुहुन्छ ?
– स्वच्छ छविबाट निर्वाचन गरिसकेपछि जनताले अनुमोदन गर्ने कुरा हो, पार्टी क्याडरले अनुमोदन गर्ने कुरा हो । अब कति मात्रामा उठाउने, कसरी जाने भन्ने कुरा छलफलकै विषय छ । चुनावमा गएपछि कसले जित्छ, कसले हार्छ भन्ने कुरा गौण हो । तर, मेरो विश्वास के छ भने हाम्रो पार्टी अध्यक्ष, राष्ट्रिय अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अन्य नेताहरूले संवाद गरिरहनुभएको छ । अहिले कोशी प्रदेशको इन्चार्ज शेरधन राई हुनुहुन्छ । उहाँको टोलीले एउटा कुरा निर्धारण गर्ला । उहाँहरूले जे निष्कर्ष निकाल्नुहुन्छ, त्यसैबमोजिम हामी अगाडि बढ्छौँ । हामीले चुनावमा जाँदैनौँ भनेका छैनौँ, तर पार्टी क्याडरले दुःख नपाउन् र विधि मिचिनु भएन भन्ने हाम्रो अडान हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण