कांग्रेसमा सभापतिका लागि कस्सिएका पाँच उम्मेदवार
काठमाडौँ । गत सोमबार केन्द्रीय कार्यसमितिले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
वर्तमान सभापति शेरबहादुर देउवा पार्टी विधानमा भएको दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाइने व्यवस्थाले महाधिवेशनबाट नयाँ नेता सभापति बन्ने निश्चित छ । देउवा १३ औँ र १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
नयाँ सभापति बन्न २०७८ सालमा भएको १४औँ महाधिवेशनमा देउवासँग भिडेका र नयाँले आकाङ्क्षा देखाएर आफ्नो पक्षमा लबिङ र प्रचार सुरु गरेका छन् ।
अहिलेसम्म सभापतिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, इतर समूहका नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङ र संस्थापननिकट सात पूर्वपदाधिकारीमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने निश्चितजस्तै देखिएको छ ।

१५औँ महाधिवेशनका लागि सबैभन्दा पहिला सभापतिको उम्मेदवारी घोषणा गर्ने नेता डा. कोइराला हुन् । उनले एक वर्ष अगाडि नै सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यक्रममा आफू १५औँ महाधिवेशनमा सभापतिको स्वाभाविक उम्मेदवार भएको बताएका थिए ।
त्यसपछि उनले आफू उम्मेदवार बन्ने बताउँदै आएका छन् । उनी १४औँ महाधिवेशनमा देउवासँग दुई चरणमा प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणबाट सभापतिमा निर्वाचित देउवाले २ हजार ७३३ मत पाएका थिए भने डा. कोइरालाले १ हजार ८५५ मत पाएका थिए । डा. कोइरालानिकट केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले उनी निर्विकल्प उम्मेदवार भएको बताए । ‘१४ औँ महाधिवेशनको टिमको उहाँ निर्विकल्प उम्मेदवार हो,’ प्रा. डा. पोखरेलले रातोपाटीसँग भने ।
१४औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कल्याण गुरुङले पनि आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । ‘म प्यानलसहित सभापतिमा उम्मेदवारी दिने गृहकार्य गरिरहेको छु,’ गुरुङले रातोपाटीसँग भने, ‘साथीहरूसँग छलफल गरिरहेको छुँ ।’

१४ औँ महाधिवेशनमा गुरुङले जम्मा २२ मत पाएका थिए । पहिलो चरणमा देउवासँग भिडेका गुरुङले दोस्रो चरणमा देउवालाई सघाएका थिए ।
१५औँ महाधिवेशनको चर्चा परिचर्चा सुरु भएपछि संस्थापननिकट सात पूर्वपदाधिकारीले पनि आफूहरूमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने भन्दै पटक–पटक छलफल गरेका छन् । तथापि अहिलेसम्म सभापति उम्मेदवारमा साझा व्यक्ति चयन गर्न सकिरहेका छैनन् ।
पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा.शशांक कोइराला, तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले पटक–पटक सभापतिको साझा उम्मेदवार तय गर्न छलफल गरेका छन् ।

यीमध्ये सिटौला १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बने पनि १४औँमा केन्द्रीय सदस्य मात्रै बनेका थिए । निधि र सिंह १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा भिडेर पहिलो चरणबाटै बाहिरिएका थिए । दुवैले दोस्रो चरणमा भने देउवालाई नै सहयोग गरेका थिए । गच्छदार र महत भने अहिलेसम्म सभापतिको उम्मेदवार बनेका छैनन् । अहिले पनि उनीहरूले सभापति बन्ने आकाङ्क्षा सार्वजनिक गरिसकेका छैनन् ।
निधि, सिंह, सिटौला र डा. शशांकले आकाङ्क्षा राखिरहेका छन् । श्रेष्ठले पार्टीमा अहिले देउवापछिको सिनियर नेता आफू भएकाले ‘साथीहरूले अगाडि बढ् भने पछि नहट्ने’ केही समयअघि पत्रकार सम्मेलन गरेर भनेका थिए ।
सात पूर्वपदाधिकारीमध्ये एक, निधिले आफूहरूमध्ये एक जनालाई सभापतिको उम्मेदवारका रूपमा अघि सार्न छलफल भइरहेको बताएका छन् । ‘हाम्रो छलफल जारी छ । सात जनामध्ये एक जनालाई सहमतिमा सभापतिको उम्मेदवारमा अघि सार्ने प्रयास गरिरहेका छौँ,’ निधिले रातोपाटीसँग भने, ‘सात भाइ मात्रै होइन, संस्थापन समूहबाटै सहमतिमा एक जनालाई उम्मेदवार बनाउनुपर्छ भन्नेबारे पनि हामी छलफलमै छौँ ।’
उम्मेदवार घोषणाका लागि अझै समय बाँकी रहेकोले आफूहरू मिलाउने प्रयासमै रहेको निधि बताउँछन् ।
_gkmOVy6bOx.jpg)
गत असोज २८ गते सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए । र पुसमा महाधिवेशन गर्ने मिति केन्द्रीय समिति बैठकबाट खड्काले सर्वसम्मत निर्णय गराए, उनै खड्का सभापतिका स्वाभाविक दाबेदार हुन् । तर उनले सार्वजनिक रूपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
नेताहरूका अनुसार खड्का देउवाको आशीर्वाद पर्खिरहेका छन् । आफू निकटका नेताहरूलाई संस्थापनबाट सबैभन्दा उपयुक्त पात्र आफू भएको उनले दबाब दिन लगाइरहेका छन् । देउवानिकट स्रोत भन्छ, ‘कार्यवाहक दिइसकेपछि सभापतिमा पनि मेरो उम्मेदवार हो भन्ने बनाउन उहाँले नेताहरूमार्फत दबाब बढाइरहनु भएको छ ।’
केन्द्रीय सदस्य रामहरि खतिवडाले खड्काले सभापतिमा उम्मेदवारी दिने आफूसँग भनेको बताएका छन् । खड्कानिकट खतिवडाले भने, ‘उहाँको स्वाभाविक दाबेदारी हो । नेताहरूसँग सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ । केही दिनमा औपचारिक घोषणा होला ।’
_QF1eN9LVbC.jpg)
महामन्त्री थापा पनि सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । यसबारे उनले सार्वजनिक रूपमै बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण