बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङमा फरार प्रतिवादी पक्राउ तीव्र: छ दिनमा १२ जना नियन्त्रणमा

शुक्रबार, १९ मङ्सिर २०८२, २० : २८
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • दाङ प्रहरीले अदालतबाट फरार १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ, जसलाई कैद र जरिवाना सुनाइएको थियो।
  • प्रहरीले मंसिर १४ देखि १९ गतेसम्म उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ, जसबाट ११ वर्ष १० महिना १० दिन कैद सजाय बाँकी छ।
  • प्रहरीले अवैध नदीजन्य वस्तु उत्खनन गर्ने १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई जरिवाना समेत गरेको छ।

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ। पछिल्लो छ दिनको अवधिमा प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले दिएको जानकारीअनुसार, यही मंसिर १४ गतेदेखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट कुल ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको छ। यसैगरी उनीहरूबाट २३ हजार ५२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेछ। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न खोला तथा नदीहरूबाट अवैध रूपमा नदीजन्य वस्तु उत्खनन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने र जरिवाना तिराउने कार्यक्रमलाई पनि तीव्रता दिएको छ। प्रवक्ता शाहका अनुसार मंसिर १ गतेदेखि १९ गतेसम्मको अवधिमा अवैध रूपमा ढुङ्गा र बालुवा उत्खनन गर्ने १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

कारबाहीमा परेका सवारीसाधनहरूबाट निम्न जरिवाना सङ्कलन गरिएको छ:

  • १३ वटा ट्र्याक्टर: रु दुई लाख २० हजार
  • तीनवटा टिपर: रु एक लाख २७ हजार ५४०
  • दुईवटा जेसिबी: रु ९० हजार

कारबाहीमा परेका १८ वटा सवारीसाधनका धनीबाट जरिवाना लिएपश्चात् सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप