बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा
सारांश
- बाँकेमा तेलहन बालीको उत्पादन घट्दै गएको छ, किनभने किसानले खेती कम गर्दैछन्।
- कृषि ज्ञान केन्द्रका अनुसार, तोरीखेतीको उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ।
- किसानलाई उन्नत बीउ, सिँचाइ र अन्य तेलहन बालीको बारेमा सचेत गराउनु आवश्यक छ।
बाँके । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ ।
तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १४ दशमलव ४१ प्रतिशत कमी हो ।
बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ । तोरीबाहेक सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ । किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए । उनले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताए ।
नेपालगन्ज–२२ का अगुवा किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउनु, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउनु र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउनु आवश्यक रहेको बताए ।
तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण