भूगोलमात्रै होइन, सामर्थ्यका हिसाबले पनि एमाले पदाधिकारीमा कर्णालीले ‘डिजर्भ’ गर्छ : कँडेल
सारांश
- नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा कर्णालीबाट प्रतिनिधित्वको लागि नेताहरूले जोड दिइरहेका छन्।
- कर्णालीका नेताहरूले पार्टीको आगामी महाधिवेशनमा पदाधिकारी पाउनुपर्ने माग गर्दै दबाब दिइरहेका छन्।
- कर्णालीका नेता यामलाल कँडेलले यसपटक पदाधिकारीका लागि दाबी गर्ने बताएका छन्।
सुर्खेत । नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा कर्णालीबाहेकका ६ वटै प्रदेशले स्थान पाइसकेका छन् । पटक–पटक कर्णालीका नेताहरूले केन्द्रीय पदाधिकारीमा आफ्नो दाबी गरे पनि सफल हुन सकेका छैनन् । १०औँ महाधिवेशनमा कर्णालीबाट सचिव पदमा दाबी भए पनि सार्थक हुन सकेन । त्यसवेला यामलाल कँडेलले सचिवमा दाबी गरेका थिए ।
यही मंसिर २७–२९ गतेसम्म एमालेको ११औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा जसरी भए पनि कर्णालीले एउटा पदाधिकारी पाउनुपर्ने भन्दै नेताहरूले दबाब दिइरहेका छन् ।
विगतका महाधिवेशनमा भूगोल र सामर्थ्यका हिसाबले कर्णाली नेतृत्वमा पछि परेको र उपेक्षित भएको महसुस यहाँका नेता–कार्यकर्ताले गरेका छन् । यस पटक महाधिवेशन प्रतिनिधि छनोटकै क्रममा अधिकांश प्रतिनिधिले जसरी भए पनि पार्टी केन्द्रमा कर्णालीबाट एउटा पदाधिकारी हुनुपर्ने माग गरेका छन् । कर्णालीबाट पदाधिकारीमा दाबी गर्न सक्ने नेता स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटी हुन् ।
उनीहरू दुवैले पदाधिकारीमा जाने आकाङ्क्षा देखाएका छन्, तर अहिले पनि पदाधिकारी पाउने सम्भावना निकै कम देखिन्छ । किनकि केन्द्रमै ठुला नेताहरूको व्यवस्थापनमा संस्थापन पक्ष (केपी ओली) लाई सकस छ । अर्कातर्फ, कर्णालीका सबैजसो नेता अहिलेसम्म संस्थापन पक्ष (ओली)तर्फ नै छन् । नेतृत्वका लागि अग्रसर ईश्वर पोखरेल पक्षबाट कर्णालीमा खासै प्रतिनिधि छैनन् ।
११औँ महाधिवेशनमा कर्णालीको ‘बटमलाइन’ के हो ? कुन पदमा दाबी रहन्छ ? यिनै सन्दर्भमा कर्णालीका मुख्यमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलसँग रातोपाटीले कुराकानी गरेको छ ।
प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
- कर्णालीमा एमालेका महाधिवेशन प्रतिनिधि छनोटको काम सकियो, तर यस प्रक्रियामा तपाईं पक्षधर नेताहरूको एकलौटी चल्यो र प्रदेश अधिवेशनमा तपाईंको समूहसँग प्रतिस्पर्धा गरेको समूहलाई पूरै पाखा लगाउने काम गरियो भन्ने आरोप छ नि ?
हाम्रो पार्टीले ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट सम्बन्धी मापदण्ड र अन्तरपार्टी निर्देशिका जारी गरेको छ । सकेसम्म सहमतिमा र नभए स्वस्थ एवं लोकतान्त्रिक प्रक्रियाद्वारा प्रतिनिधि छनोट गर्ने व्यवस्था स्पष्ट तरिकाले गरेको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित भूगोलमा सहजीकरण गर्न जिल्लास्थित नेताहरूले पनि जिम्मेवारी लिनुभएको अवस्था थियो । धेरै ठाउँमा मेहनतका साथ काम गरेको देखिन्छ ।
यद्यपि, केही स्थानमा प्रतिनिधि छनोटका सन्दर्भमा सार्वजनिक टिप्पणी भएको मैले पनि सुनेको छु । मेरो तर्फबाट हस्तक्षेप हुने गरी कसैलाई प्रतिनिधि ल्याउनु र नल्याउनु भनेर मैले भनेको वा दबाब दिएको अवस्था छैन । अहिले कुनै गुट–उपगुटभन्दा पनि पछिल्लो परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने भन्ने विषय प्रमुख हो । विशाल पार्टीमा आकाङ्क्षी हुनु स्वाभाविकै हो । आकाङ्क्षाअनुसार प्रतिनिधि सबैलाई पुग्दैन, जसले गर्दा केही असन्तुष्टि हुन सक्छ । यदि केही समस्या छन् भने पार्टीका निकाय छन्, तिनले यसको निरूपण गर्छन् ।
- १०औँ महाधिवेशनमा कर्णालीले पदाधिकारी पाउनुपर्छ भन्ने अडानसहित तपाईंहरू चितवन जानुभएको थियो, तर अन्तिममा रित्तो हात फर्कनुपर्यो । ११औँ महाधिवेशनमा कर्णालीको तयारी के रहन्छ ?
राजनीतिक क्षेत्रमा मात्र होइन, प्रतिनिधित्वको हिसाबले कर्णाली सबै क्षेत्रमा कमजोर छ । पार्टीको आन्तरिक, संसदीयदेखि हरेक क्षेत्रमा कर्णाली कमजोर छ नै । अघिल्ला महाधिवेशनहरूमा पनि हामीले यो विषयलाई जोडदार रूपमा उठाएका हौँ, तर पनि भूगोलको हिसाबमा पदाधिकारीमा कर्णाली उपेक्षित भयो । भूगोलको मात्र होइन, यहाँ सामर्थ्यका हिसाबले पनि पार्टीको पदाधिकारी हाँक्न सक्ने नेताको कमी छैन । प्रदेशका पार्टी नेता तथा कार्यकर्ताहरूको अहिले एउटै आवाज छ– कर्णालीले एमाले पदाधिकारीमा मजाले ‘डिजर्भ’ गर्न सक्छ ।
हामीले नेतृत्वलाई पनि यो कुरा पटक–पटक महसुस गराएकै हो । भूगोलको ‘सेन्टिमेन्ट’ सहित सामर्थ्यका हिसाबले पनि यसपटक कर्णालीले पदाधिकारी दाबी गर्छ र, नेतृत्वले त्यसलाई स्वाभाविक ठानेर उपयुक्त वातावरण बनाउँछ भन्ने मलाई विश्वास छ ।
- उसो भए यो पटक तपाईंको (कर्णालीको) ‘बटमलाइन’ कुन पदमा हो ?
लामो समय पार्टीका विभिन्न तहमा काम गरेको र हाल स्थायी कमिटीमा रहेको हुनाले माथिल्लो कमिटीमा काम गर्न खोज्नु स्वाभाविकै हो । यस विषयमा साथीहरूसँग सल्लाह गर्दैछु । यो मेरो आफ्नो एकल निर्णयभन्दा पनि कर्णाली र समग्रमा सबैको प्रतिनिधित्व हुने गरी पदाधिकारी हुने हो । म पार्टीको पोलिटब्युरो र स्थायी कमिटी सदस्य भइसकेँ । मेरा कतिपय समकालीनहरू पदाधिकारीमा २–३ कार्यकाल बिताइसक्नुभयो । प्रदेशको हिसाबमा पनि कमिटीभित्र सिनियर भएको नाताले पदाधिकारीमा स्वतः दाबी रहन्छ नै । पदको विषयमा नेतृत्वसँग सरसल्लाह हुन्छ । जिम्मेवारीको हिसाबले पनि काम गर्न सक्छु भन्ने मलाई आत्मविश्वास छ ।
- हामीले पाएको सूचनाअनुसार, १०औँ महाधिवेशनमा तपाईंले सचिवमा तयारी गर्दैगर्दा कर्णालीकै अर्को पक्षले ‘कर्णालीलाई पदाधिकारी चाहिँदैन’ भनेर ‘ब्रिफिङ’ गरेको सुनिन्थ्यो । अहिले पनि कर्णालीमा तपाईंहरू (यामलाल—गोरख) दुई जनाबिचको आन्तरिक प्रतिस्पर्धाले त समस्या पार्दैन ?
मलाई लाग्छ, कर्णालीमा पदाधिकारी नचाहिने विषयमा कसैले लबिङ गरेजस्तो लाग्दैन । त्यस्तो गर्नु पनि हुँदैन । यहाँका नेता तथा कार्यकर्ताको त्यस्तो चाहना पनि होइन । विगतदेखि पार्टी नेतृत्वसहित सबैलाई महसुस भएको विषय पनि भूगोलको प्रतिनिधित्व नै हो । नेतृत्वको सन्दर्भमा, हामी सबै छलफल र परामर्शकै क्रममा छौँ ।
- विगतमा अध्यक्ष केपी ओलीसँगको ‘ट्युनिङ’ नमिलेकै कारण तपाईं पदाधिकारीमा पर्नुभएन र कर्णाली सरकारको नेतृत्व पाउन पनि सकस भयो भन्ने चर्चा थियो । के पछिल्लो समय ओलीसँग तपाईंको सम्बन्ध र विश्वासको वातावरणमा सुधार भएको हो ?
म आफ्ना कुरा स्पष्टसँग राख्छु । कतिलाई मन पर्न पनि सक्छ, मन नपर्न पनि सक्छ । राजनीतिमा सबै अनुकूलमात्र हुन्छ भन्ने केही छैन, प्रतिकूल पनि हुन सक्छ, तर बाहिर प्रचार भएजस्तो हाम्रो पार्टी अध्यक्षसँग मेरो त्यस्तो असमझदारी कहिल्यै भएन । केही स्वार्थी र व्यक्ति केन्द्रितहरूले गलत प्रचार गरेका हुन् । उहाँकै नेतृत्वमा समझदारीका साथ मैले अहिले काम गरिरहेको छु ।
- अन्य राजनीतिक दलमा हेर्दा कर्णालीका नेताहरू पार्टीको प्रमुख पद र सरकारको निर्णायक तहमा देखिन्छन्, तर एमालेले कर्णालीमा आफूलाई पहिलो शक्ति दाबी गरे पनि पार्टीको आन्तरिक राजनीति र संसदीय फाँटमा निकै पछि छ । यो संयोगमात्र हो कि एमालेभित्र कर्णालीलाई योजनाबद्ध रूपमै पछाडि पारिएको हो ? यसमा तपाईंको विश्लेषण के छ ?
तपाईंले ठिक कुरा उठाउनुभयो । जबसम्म नेतृत्व र नीतिगत निर्णय हुने ठाउँमा प्रतिनिधित्व हुँदैन, तबसम्म त्यहाँका समस्याबारे नेतृत्वले कतिपय अवस्थामा सुझबुझपूर्ण निर्णय गर्न सक्दैन । अरू पार्टीको तुलनामा एमालेबाट पदाधिकारी तहसम्म अहिलेसम्म कर्णालीबाट प्रतिनिधित्व हुन सकेको छैन । नेतृत्व भनेको विकासको चरण पनि हो । मैले अघि नै भनिसकेँ— भूगोलमात्र होइन, क्षमताका हिसाबले पनि पदाधिकारीमा ‘डिजर्भ’ गर्न सक्ने सामर्थ्य कर्णालीका एमालेका नेताहरूसँग छ । हिजोका दिनमा जे भयो, त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने हुन्छ । यो विषयमा हामीले केन्द्रमा कुरा राखिराखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण