नगर प्रमुखको व्यंग्यः गाईभैंसी ब्याउन र धान फल्न रोकिएको छैन, दिनदिनै प्रशासकीय अधिकृत पठाए पनि हुन्छ
सारांश
- पाख्रीबासका मेयरले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवाप्रति व्यंग्यात्मक पत्र लेखेका छन्।
- मेयरले हाकिम फेरिए पनि प्राकृतिक र कृषि चक्रमा असर नपर्ने भन्दै मन्त्रालयको कार्यशैलीको आलोचना गरेका छन्।
- पत्रमा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार नरोकिने उल्लेख गर्दै मन्त्रालयलाई थप प्रशासकीय अधिकृत पठाउन आग्रह गरिएको छ।
विराटनगर । पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक व्यंग्यात्मक पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृतको अस्थिरताप्रति कडा आक्रोश पोखेका छन् ।
मन्त्रालयले पठाएको पत्रको जवाफ दिने क्रममा नगर प्रमुख गुरुङले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार हुने सरुवाप्रति असन्तुष्टि जनाउँदै ‘दिनदिनै हाकिम फेरिए पनि’ यहाँको प्राकृतिक र कृषि चक्रमा कुनै असर नपर्ने भन्दै तीखो व्यंग्य गरेका हुन् ।
नगरपालिकाबाट मिति २०८२/०८/२२ मा चलानी नम्बर ९६३ मार्फत मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखालाई लेखिएको पत्रमा मन्त्रालयले हालै (मिति २०८२/०८/१७ मा) पठाएको पत्रको सन्दर्भ उल्लेख गरिएको छ।
के छ पत्रमा ?
नगर प्रमुख गुरुङले पत्रमा लेखेका छन्, 'मन्त्रालयको पत्र बोधार्थको रुपमा प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैंसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल लगाउन फुल्न, फल्न र सो को निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेकोले त्यहाँ मन्त्रालयबाट प्रत्येक महिनारमहिनामा वा सम्भव भए दिनदिनै छुट्टा छुट्टै एकरएक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकि पठाउदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ।'
बारम्बारको सरुवाप्रति आक्रोश
सामान्यतया स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लामो समय नटिक्ने र छोटो समयमै सरुवा हुने प्रवृत्तिले विकास निर्माण र प्रशासनिक काममा बाधा पुग्ने गरेको गुनासो जनप्रतिनिधिहरूले गर्दै आएका छन् । तर, पाख्रीबासका मेयरले भने प्रशासनिक काम ठप्प भए पनि किसानको काम र प्रकृतिको चक्र नरोकिएको भन्दै मन्त्रालयको कार्यशैलीमाथि लाक्षणिक प्रहार गरेका हुन् ।
मन्त्रालयले सम्भव भए 'दिनदिनै नयाँ हाकिम पठाए पनि फरक नपर्ने भन्ने वाक्य प्रयोग गरेर उनले मन्त्रालयको सरुवा आतंकप्रति आक्रोश व्यक्त गरेका हुन् । उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पाख्रीबास नगर कार्यपालिकाको कार्यालयलाई समेत दिइएको छ ।
यो पत्र अहिले सामाजिक सञ्जाल र प्रशासनिक वृत्तमा चर्चाको विषय बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण